१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

के हो भिरिंगी ?

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्रेपोनेमा पालिडम नामक किटाणुका कारण लाग्ने यौन रोग भिरिंगी हो । यसलाई अंग्रेजीमा सिफिलिस भनिन्छ ।

के हो भिरिंगी ?

के कारणले यो रोग लाग्ने गर्छ ? यो सरुवा रोग हो ?

यौन सम्पर्कमा सक्रियलाई यो रोग लाग्ने गर्छ । असुरक्षित यौन सम्पर्कका कारणले यो रोग लाग्ने गर्छ । यो एकबाट अर्कामा सर्छ । गर्भवती महिलालाई भिरिंगी भएको छ भने पेटमा भएको बच्चालाई पनि सर्न सक्छ । यसैगरी ब्लड ट्रान्सफ्युजनबाट पनि यो सर्न सक्छ । साथै भिरिंगीको घाउ छोएमा पनि सर्न सक्छ ।


यसका लक्षण के-कस्ता हुन्छन् ?

भिरिंगीलाई सामान्यतयाः तीन भागमा विभाजन गरिएको छ । लक्षण पनि सोही अनुसारको देखिन्छ । पहिलो अवस्थाको भिरिंगीमा यौनांग नदुख्ने नचिलाउने सर्टको बटन जस्तो कडा खालको घाऊ आउँछ । यो सामान्यतया एउटा मात्र आउँछ । यस्तो घाउ असुरक्षित सम्पर्कको ९ देखि ९० दिनसम्म आउन सक्छ । घाउ उपचार नगरेपनि ३ देखि ६ हप्तामा आफैं निको हुन्छ । यस्तो घाउ आएको करिब ३ हप्तापछि रगत जाँच गर्दा किटाणु देखिन्छ ।

दोस्रो अवस्थाको भिरिंगीमा पहिलो अवस्थाको घाउ देखेको करिब ६ हप्तापछि आउँछ । यो अवस्थामा हातखुट्टा, जिउमा नदुख्ने नचिलाउने खटिराहरु देखिन्छन् । त्यसैगरी ज्वरो आउने घाँटी दुख्ने, जोर्नी दुख्ने जस्ता समस्याहरु पनि देखिन्छन् । तेस्रो अवस्थामा भने यो रोगले आँखा, नशा, मुटु तथा जोर्नीमा असर गर्छ । कुनै मानिसलाई पहिलो अवस्थाको रोग नदेखिकन दोस्रो वा तेस्रो अवस्थाको रोग देखिन पनि सक्छ ।


यसको उपचार संभव छ ? महिला या पुरुष कसमा बढी देखिन्छ ?

पहिलो तथा दोस्रो अवस्था भिरिंगी भने सहजै उपचार गर्न सकिन्छ । सामान्य औषधिको प्रयोगले यो निको हुन्छ । तेस्रो अवस्थाको उपचार भने केही जटिल छ । अरु विधाका चिकित्सक मिलेर उपचार गर्नुपर्ने हुन्छ । उपचारमा आएका बिरामीमध्ये महिलाभन्दा पुरुषमा बढी यो देखिएको छ । २० देखि ३५ वर्षका पुरुषमा बढी भिरिंगी भएको पाइन्छ ।


वैदशिक रोजगारीमा जान समस्या हुन्छ ?

भिरिंगी उपचारको प्रक्रियामा दुइओटा रगत जाँचको विशेष महत्व हुन्छ । एउटा 'टिपिएच ए' र 'भिडीआरएल' । उपचार गरेपछि 'भिडी आर एल'को मात्रा बिस्तारै घट्दै जान्छ भने 'टिपिएचए' भन्ने परीक्षण एकपटक पोजटिभ भएपछि फेरि नेगेटिभ हुँदैन । त्यसैले उपचारपछि रोग निको भएपनि 'टिपिएचए' भन्ने टेस्ट नेगेटिभ नहुने हुनाले वैदेशिक रोजगारीमा जानका लागि समस्या हुनसक्छ ।

छाला तथा यौन रोग विशेषज्ञ डा. कमलराज धितालसँगको कुराकानीमा आधारित

प्रकाशित : श्रावण २०, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?