‘भर्चुअल साइकोलजिस्ट’ बाट स्वास्थ्य सेवा 

नारायण खड्का

अस्ट्रेलिया — मानसिक स्वास्थ्य आफैंमा समस्या त हो नै, यसको उपचार खोज्न सबै पीडितलाई अन्य रोगको जस्तै सहज नहुन सक्छ । त्यसैले अस्ट्रेलियाका दुर्गम भेगका नागरिकलाई यसको सेवा पुर्‍याउने उद्देश्यले ‘भर्चुअल साइकोलजिस्ट’ स्वास्थ्य सेवा सुरु गरिएको छ । 

अस्ट्रेलियाको मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरूबाट सुरु गरिएको यो परामर्श स्वास्थ्य सेवा सम्पूर्ण रूपमा फोन म्यासेजमा केन्द्रित छ । चौबिसै घण्टा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूबाट परामर्श दिइने यो सुविधा दुर्गम क्षेत्रमा बस्ने जोकोहीलाई उपलब्ध गराइन थालिएको छ । आफू समस्यामा परेको खण्डमा वा सहयोगको आवश्यकता परे उपलब्ध नम्बरमा म्यासेज गरेको खण्डमा स्वास्थ्यकर्मीहरूले फोन म्यासेजबाटै आवश्यक परामर्श उपलब्ध गराउँछन् ।

‘मानिसले प्रत्यक्ष भेटेर र फोन सम्पर्कमार्फत् कुराकानी गरेर आफ्ना समस्या राख्न असहज मान्ने भएकाले हामीले नयाँ सोच अघि सारेका हौं,’ २० वर्षसम्म साइकोलजिस्टका रूपमा काम गरिसकेकी डर्भला लोघनानले भनिन् । उनी ‘भर्चुअल साइकोलजिस्ट’ परामर्श सेवाको स्थापनाकर्ताका साथै प्रमुख हुन् ।

लोघनानका अनुसार यस सेवाबाट हालसम्म १ लाख ५० हजार पटक फोन म्यासेजमार्फत् परामर्श दिइसकिएको छ । लोघनान एक्लैले सुरु गरेको सेवामा हालसम्म ८ जना योग्य साइकोलजिस्टका साथै व्यवस्थापक तथा तालिमकर्ताको सहभागिता छ । कार्यक्रमलाई अस्ट्रेलियाली सरकारले समेत आर्थिक सहयोग गरेको छ ।

‘हामीले एउटा जीवन मात्र बचाउन सफल भयौं भने पनि राम्रो हुन्छ भन्ने सोचले सुरु गरेको कार्यक्रम सफल बनिरहेको छ,’ लोघनानले भनेकी छन् । उनका अनुसार आगामी दिनमा यो सेवा फोन म्यासेजबाट नभई फेसबुक म्यासेन्जेर, टीटर, र हाट्सएपबाटसमेत उपलब्ध गराइने छ ।

अस्ट्रेलियामा साइकोलजिस्टसँग उपचार गराउनुअघि अन्य मेडिकल डाक्टरको सिफारिस आवश्यक पर्छ । त्यसका साथै साइकोलजिस्ट भेट्नसमेत समय पाउन मुस्किल छ । अर्कोतिर भेटिसकेपछि आफ्नो मनको कुरा सबै खुलस्त भन्न नसक्नेलगायत समस्याले उपचारमा कठिनाइ हुने गरेका यस क्षेत्रमा कार्यरत विज्ञहरू बताउँछन् ।

अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार हरेक ५ जनामा एक मानसिक रोग पीडित छन् । सरकारले मानसिक रोग पीडितहरूको स्वास्थ्योपचारका लागि बर्सेनि करोडौं डलर खर्चंदै आएको छ ।

आर्थिक वर्ष २०१७/१८ मा अस्ट्रेलियाका ४२ लाख जनताले मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएका थिए । मानसिक रोगको समस्यामा पछिल्लो समयमा नेपालीसमेत पर्दै गएको नेपाली मानसिक रोग विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

मानसिक सुखिपन र बुझाइको सन्तुलन

जीवन क्षेत्री

केही वर्षअगाडि अजानिया नामक एक छवर्षे बालिका आफ्ना बाबुआमासित कारमा भारतको कुनै सहरबाट अलिगढतिर जाँदै थिइन् । शुक्रबार अपराह्नको समय थियो । बाटोमा अचानक मस्जिदमा नमाज पढेर फर्कंदै गरेका सेतो टोपी पहिरेका मानिसको हूल देखियो । अजानिया तर्सेर सिटमुनि लुक्दै भनिन्— ममी, मुसलमानहरू आए, हामीतिरै आए ।

बाबुआमा सुरुमा अलमल परे अनि स्तब्ध भए । सानी छोरीलाई आफैं मुसलमान समुदायकी रहेको थाहा भइसकेको थिएन तर स्कुलको संगत र वातावरणबाट मुसलमानहरू हिंस्रक हुन्छन् भन्ने छाप परिसकेको थियो । नजिया इरमको ‘मदरिङ मुस्लिम’ शीर्षक पुस्तकमा आजको भारतीय समाजमा विकसित साम्प्रदायिक विग्रहको चित्रण गर्ने यस्ता धेरै मर्मस्पर्शी उदाहरण छन् ।

आजको भारत बुझ्नका लागि त्यहाँका आकाशचुम्बी भवनहरूले भरिएका सहरहरू र तीव्र आर्थिक वृद्धिका तथ्यांकहरू जति सान्दर्भिक छन्, आम भारतीयहरूले दैनन्दिन गर्ने अनुभव, जीविकाका लागि तिनले गर्ने संघर्ष र तिनको आत्मसम्मानको खोजी पनि उत्तिकै प्रासंगिक छन् ।

आजको नेपाली समाज, हाम्रो विकासको अवस्था र हाम्रो मानसिक ‘सुखीपन’ लाई कसरी पूर्णतामा बुझ्न सकिन्छ ? दैनिक आइरहने निराशाजनक समाचारको बाढीबीच कतै हाम्रो बुझाइको सन्तुलन बिग्रँदै गइरहेको त छैन ? कतै ०४६ सालपछिका वर्षहरूमा झैं हामीले यथार्थको बृहत्तर पाटो हेर्ने र सोबमोजिम परिपक्व विश्लेषण गर्ने क्षमता गुमाइरहेका त छैनौं ? केही समयदेखि म यी प्रश्नमा चिन्तनरत छु । त्यसै क्रममा लाग्यो : नेपाली समाजको समग्र बुझाइको एउटा महत्त्वपूर्ण तर छुटिरहेको पाटो अन्य समाजहरूसँगको तुलना हुन सक्छ । अमेरिका वा हाइटीजस्ता निकै टाढाका मुलुकहरूसित गरिने तुलना उति सान्दर्भिक नभए पनि दक्षिण एसियाका कुनै पनि मुलुकसित गरिने तुलना निःसन्देह सान्दर्भिक हुन्छ ।

आजको भारतको यथार्थलाई चित्रित गर्ने प्रतिनिधि प्रसंग कुन होला भनेर घोत्लिँदै गर्दा इरमले पुस्तकमा समेटेको उल्लिखित उदाहरण मनमा आयो । भारत रातारात धार्मिक–साम्प्रदायिक ध्रुवीकरण र घृणा प्रवाहको यस्तो त्रासद अवस्थामा पुगेको हैन । त्यसका लागि भारतको स्वतन्त्रतायताकै राजनीतिक परिदृश्यको छोटो व्याख्या सान्दर्भिक हुन्छ ।

भारत विभाजन र स्वतन्त्रताका बेला उसको भौगोलिक सीमामा धार्मिक विग्रह र वैमनस्यको विशाल घाउ बनेको थियो । त्यो घाउले आजका दिनसम्म भारत र पाकिस्तानलाई चैनको निद्रा सुत्न दिएको छैन । तीन ठूला युद्ध, पारमाणविक हतियारको होड र विकासको मूल्यमा आकाशिएको दुवै मुलुकको रक्षा खर्च त्यही नसुल्झिएको घाउका परिणाम हुन् । विभाजनका बेला भएको भयानक साम्प्रदायिक नरसंग्राम र इतिहासकै ठूलो मानव विस्थापनले भारतभित्रै वैमनस्य र अविश्वासको गहिरो घाउ छाडेको थियो ।

स्वतन्त्रताकालदेखि नै भारतमा केही हिन्दु अतिवादीहरू यस्ता थिए जसका लागि ती आन्तरिक र बाह्य घाउ वा विभाजनरेखा दुई फरक चीज नभई एकै थिए । मुसलमानहरूका लागि ‘इस्लामिक गणतन्त्र पाकिस्तान’ थियो भने हिन्दुका लागि हिन्दु राष्ट्र भारत वा हिन्दुस्तान । पाकिस्तानमा व्यवहारतः गैरमुस्लिमहरू दोस्रो दर्जाका मानिस भएजस्तै भारतमा गैरहिन्दु (बौद्ध र सिखबाहेक, किनकि उनीहरूका अनुसार ती दुवै सम्प्रदाय हिन्दु सभ्यताका अंश हुन्) हरू दोस्रो दर्जाका मानिस हुनुपर्छ ।

शिशुकालमा रहेको नयाँ मुलुक भारतसम्बन्धी गान्धी–नेहरूको कांग्रेसको अवधारणाचाहिं ठ्याक्कै उल्टो थियो : भारत ‘हिन्दु पाकिस्तान’ नभई सारा धर्म र सम्प्रदायको साझा धर्म निरपेक्ष गणतन्त्र हुनुपर्थ्यो । भारतको स्थापनाकालमै नयाँ गणतन्त्रलाई आफ्नो दर्शन र विश्वदृष्टिमा ढाल्न भीडी सावर्कर–एमएस गोल्वाल्करजस्ता हिन्दुवादीहरूको राष्ट्रिय स्वयंसेवक दल र गान्धी–नेहरूको कांग्रेसबीच होड थियो ।

तर स्वतन्त्रता संग्राममा खेलेको भूमिका, समाजमा प्रभाव र संगठनका हिसाबले दुईबीच तुलनै हुँदैनथ्यो । होडमा अघि हुने कांग्रेसले संविधान लेखनमा मात्रै आफ्नो विश्वदृष्टि स्थापित गरेन, स्वतन्त्र भारतको पहिलो चार दशकको अवधिसम्म एकछत्रजस्तै शासन गर्‍यो । त्यसमध्ये पहिलो डेढ दशक नेहरूकै नेतृत्वसहित अढाई दशक त अविच्छिन्न कांग्रेस सत्तामा रह्यो । त्यसरी कांग्रेसले अँगालेका मूल्य–मान्यताहरू एक किसिमले भारतकै मान्यताका रूपमा स्थापित भए ।

१९९० सम्म आउँदा भने धर्म निरपेक्षतावादी कांग्रेसका खुट्टा धर्मराइसकेका थिए । इन्दिरा गान्धीको असंवैधानिक र अलोकप्रिय संकटकाल (सन् १९७५–७७) र त्यस क्रममा भएका जबर्जस्ती परिवार नियोजनजस्ता अतिवादी कामहरूसँगै कांग्रेसको लोकप्रिय वैधता ओरालो लागेको थियो ।

१९८० को दशकमा सिख विद्रोहमाथि गान्धीको कठोर दमन, त्यसबाट बिच्किएका एक सिखले इन्दिराको हत्या गरेपछि कांग्रेसले चलाएको कुख्यात सिखविरोधी दंगा (१९८४) अनि इन्दिरापुत्र राजीव गान्धीमाथि ठूलो भ्रष्टाचारको आरोपसँगै १९८९ को चुनावमा कांग्रेसको पराजयले उसको ओरालो यात्रालाई निकै अघि पुर्‍यायो ।

विश्व इतिहासको उल्लेखनीय घडी मानिने १९९०–९१ मा भारतले तीव्र आर्थिक संकट झेलिरहेको थियो । डेढ दशकअगाडि पुँजीवाद र उदारीकरण अँगालेको चीनले तीव्र आर्थिक वृद्धि गरिरहँदा भारतीय अर्थतन्त्रको ‘रोल मोडल’ र साझेदार सोभियत संघ धराशायी भइरहेको थियो ।

नेहरूले स्थापित गरेको समाजवादी वा राज्यवादी (स्टेटिस्ट) अर्थतन्त्र धानिने अवस्था नरहेपछि भारतले पनि त्यही समय उदारीकरणको दिशा समात्यो । त्यसपछिको आर्थिक वृद्धिले भारत स्थापनादेखि कांग्रेसले अँगालेर कार्यान्वयन गरिआएको आर्थिक नीति गलत थियो भनेर गरिंदै आएको विश्लेषण बिस्तारै पुष्टि हुँदै गयो ।

तर, ठूलो संख्यामा निरक्षर र विपन्न मतदाता भएको समाजमा यस्ता सफल वा असफल आर्थिक नीतिहरू चुनावमा विरलै निर्णायक हुने गर्छन् । यही पृष्ठभूमिमा सन् १९९२ मा जे भयो, त्यसले आजपर्यन्तभारतीय समाज र राजनीतिलाई खास दिशा दिइरहेको छ ।
भारतको स्वतन्त्रता ताका हिन्दुवादी संगठन र पार्टीहरू धेरै अगाडि नआउनुको एउटा मुख्य कारण थियो हिन्दु धर्म र सभ्यताभित्रको विविधता । तेत्तीस कोटि देवता मान्ने हिन्दुहरूबीच क्राइस्टको वरिपरि एकत्रित इसाई वा मोहम्मदको वरिपरि एकत्रित मुसलमानहरूबीच जस्तो एकता र संगठन सम्भव थिएन । त्यसमाथि जातीय र क्षेत्रीय विभाजनहरूको निकै गहिरो उपस्थिति थियो । १९८० को दशकभर कांग्रेसको सापेक्षिक बल खस्कँदै गर्दा राष्ट्रिय स्वयंसेवक संघ नेतृत्वका हिन्दुवादीहरूले समग्र हिन्दु जनसंख्यालाई एकत्रित गर्ने सूत्र खोजिरहेका थिए । अन्ततः खोजीको परिणाम निस्क्यो— राम ।

भगवान् रामको जन्मथलो भएको दाबीसहित १९९२ मा बाबरी मस्जिद भत्काइएपछि भारतीय उपमहाद्वीपभर जुन साम्प्रदायिक दंगाहरूको लहर चल्यो, त्यसले भारतीय समाजको रूप चिन्नै नसकिने गरी बदल्यो । व्यक्तिको धार्मिकता, साम्प्रदायिक चिनारी र राजनीति नछुट्टिने गरी जोडिए । जात र क्षेत्रका अनेक विभाजनरेखाहरू फिक्का भएर धर्मको रेखा गहिरियो ।

खासगरी दंगाहरूको बेला वातानुकूलित कोठामा बसेर योजना र बन्दोबस्तीको व्यवस्था गर्ने मध्यम र उच्च वर्गका मानिसले विपन्न र दलितहरूलाईभड्काएर सहजै काटमारको रक्तपातपूर्ण काम गर्न परिचालन गर्न सक्ने भए । त्यसयता फुटकर दंगाहरू यत्रतत्र देखा परे पनि यस्तो ध्रुवीकरणको पहिलो ठूलो प्रयोगशाला २००२ मा गुजरात बन्यो ।

गोधरामा रेल–सवार हिन्दुहरू आक्रमण र आगजनीमा परेपछि त्यहींका दोषीलाई कानुनको कठघरामा उभ्याएर दण्डित गर्नुको सट्टा गुजरातभरका मुसलमानहरूमाथि हमला सुरु भयो । गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले सक्रियतापूर्वक दंगा गराएको पुष्टि नभए पनि उनको सरकारको निस्क्रियताबिना त्यत्रो काटमार र विध्वंस सम्भव थिएन ।

लगत्तै २००४ र २००९ का आम चुनावहरू जितेर दशकभर कांग्रेसले भारतमा शासन गरे पनि उसको पुरानो प्रताप र प्रभाव फर्कन सकेन । राष्ट्रिय स्वयंसेवक संघ र ऊअन्तर्गतका भाजपा र शिव सेनालगायतका दलहरूको साम्प्रदायिक ध्रुवीकरण गरेर भोट हत्याउने ‘सोसल इन्जिनियरिङ’ को क्रम चली नै रह्यो । २०११–१४ का भ्रष्टाचार काण्डहरूसमेतले कांग्रेसलाई थला पारे । दलमा गान्धी परिवारको एकछत्र राजले अवस्था झन् बिगार्‍यो । अन्ततः २०१४ मा नरेन्द्र मोदी विशाल जनमत लिएर सत्तामा पुगे ।

भारतलाई हिन्दु राष्ट्र बनाउन भुइँ तहमा हिन्दुवादीहरूले दशकौंदेखि जे गर्दै आएका थिए, त्यसले अन्ततः राज्य संस्थापनको संरक्षण पायो । धर्म निरपेक्ष भारतका खम्बाहरू भत्काइन थाले । अनि भारतमा हिन्दुवादको उदयको पहिलो चरणमा रामको उदय भएजस्तै दोस्रो चरणमा गाइको उदय भयो । गाई बचाउने नाममा मुसलमानहरू कुटिने र मारिने शृंखला सुरु भयो ।

गाईगोरु ओसारपसारदेखि कुनै पनि मासुको व्यवसाय गर्ने सिङ्गो मुसलमान र विपन्न दलित समुदाय रातारात बेरोजगार भए । यो प्रक्रियामा राज्य यसरी प्रस्तुत भयो कि २०१५ मा उत्तर प्रदेशको दादरीमा गोरुको मासु राखेको आशंकामा मोहम्मद अखलाक मारिएपछि त्यहाँ पुगेको पुलिसले आक्रमणकारी खोज्नुको सट्टा फ्रिजको मासुको फरेन्सिक जाँच गर्न पठायो । सर्वसाधारणमा साम्प्रदायिकताको विष यसरी फैलियो कि २०१८ मा जुनेद खान नामक किशोरको रेलको सिटसम्बन्धी विवादमा हिन्दुहरूको भीडले बीभत्स हत्या गर्‍यो ।

भारतीय समाज र राज्य प्रतिशोधपूर्ण र निषेधकारी पथमा कति अघि बढेको छ भने, एउटा मानक : फरक विचार राख्ने पत्रकार–अभियन्ता गौरी लंकेशको हत्यामा उत्सव मनाउनेहरूलाई प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा ‘फलो’ गरेका छन् । यस्तो परिवेशमा अबोध मुस्लिम बालिका धार्मिक पोसाकमा रहेका अरू मुस्लिमहरू देखेर तर्सनु अनौठो हैन ।

सम्भवतः भारतमा अल्पसंख्यकहरूबीच त्रास, असुरक्षा र लाचारीको मानसिकता जुन गतिमा बढ्दो छ, बहुसंख्यक हिन्दुहरूबीच यो दमन, निषेध र हिंसाको स्वीकार्यता उसरी नै बढ्दो छ । त्यसो नभई नरेन्द्र मोदीले पछिल्लो चुनावमा प्रचण्ड बहुमत ल्याउनु सम्भव थिएन ।

अब अन्तमा उल्लिखित भारतीय समाजलाई नेपाली समाजसँग तुलना गरौं । हाम्रो समाजमा विभेद, शोषण, दमन, निषेध र हिंसासमेत नभएका हैनन् । हाम्रा आफ्नै जातीय, क्षेत्रीय, भाषिक र सम्प्रदायगत विभाजनरेखाहरू छन् । विभिन्न सम्प्रदायहरूबीचको वैमनस्य बेलाबेलामा सतहमा आउने पनि गर्छ । त्योभन्दा निकै बढी विभिन्न समुदायहरूको राज्यप्रतिको रोष अहिले पनि कायम छ ।

नयाँ संविधानले व्यवस्थापन गर्न नसकेका विभिन्न समुदायका असन्तुष्टिहरूले आजसम्म निकास पाएका छैनन् । राज्यले विभिन्न समुदायहरूसँग गर्ने व्यवहारको विभेद बेलाबेला टड्कारो देखिने गर्छ । आम नागरिकमा छुवाछूत र नश्लभेद अद्यापि कायम छ । बहुसंख्यक समुदायले दैनिक जीवनमा खासगरी मधेसी समुदायलाई आफूसमान आत्मसम्मान दिएको कमै भेटिन्छ ।

तर, अहिलेको भारत घृणा, निषेध र वैमनस्यको यात्रामा जहाँ पुगेको छ, त्यससँग नेपालको तुलना हुँदैन । खासगरी सत्ता संस्थापन दूरदर्शी र फराकिलो दिलको हुने हो भने नेपाली समाजका कुनै पनि विभाजनरेखा पुर्न नसकिने गरी गहिरिइसकेका छैनन् । त्यसैगरी नेपालले ढिलो–चाँडो गरिबी र पछौटेपनको जाँतोबाट मुक्ति पाउला तर भारतीय समाजमा सञ्चार भएर मानिसहरूको पहिचानमा मिसिइसकेको साम्प्रदायिकताको विष निस्किन निकै कठिन हुनेछ ।

कारण : अहिलेको भारतमा जन्मिने बहुसंख्यक समुदायको हरेक बच्चाले अल्पसंख्यक नागरिक विदेशी अतिक्रमणकारी र आतंकवादी मानिने विषाक्त वातावरणमा सास फेरिरहेको छ । भित्र बस्नेहरूको मनमा घृणा र वैमनस्य भरिएको छ भने बाहिर चम्किने गगनचुम्बी भवनहरूले इंगित गर्ने समृद्धिको के काम ?

प्रकाशित : श्रावण १८, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT