कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलो लाग्ला

किसानलाई बढी सताउने यो समस्या फङगस (ढुसी) र ब्याक्टेरिया (जीवाणु) को संक्रमण, फोहोर पानीका कारण हुने गर्छ
अतुल मिश्र

काठमाडौँ — वर्षायाम सुरु भएसँगै कतिपय मानिस खुट्टाका औंलाका कापमा घाउ हुने समस्याबाट पीडित हुन्छन् । खासगरी खेती किसानीमा लाग्नुपर्नेलार्ई यो समस्याले बढी सताउने गर्छ । त्यसैले यसलार्ई बोलीचालीको भाषामा यसलार्ई हिलोले खानु भनिन्छ । 

हिलो लाग्ला

हिलोले खाँदा खुट्टाको औंलाको कापमा घाउ हुनुका साथै चिलाउनु, पानी/पिप बग्नु, सुन्निनु, फोका आउनु, छाला उप्किनु, गनाउनुलगायत समस्या देखिन्छन् । चिकित्सकीय भाषामा भन्ने हो भने यो समस्या फङगस अर्थात् ढुसी र ब्याक्टेरिया (जीवाणु) को संक्रमणले गर्दा हुन्छ ।

‘यो फोहोर पानीको सम्पर्कमा आउनाले, स्थान विशेषमा हुने विशेष घर्षण, खुम्चिएको छाला आदिले हुन्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार यो मौसममा सडकमा जमेको पानी वा हिलोले गर्दा संक्रमण हुने आशंका बढी हुन्छ । वर्षायाममा वातावरणमा गर्मीसँगै ओसिलोपना बढी हुने भएकाले छालामा ब्याक्टेरिया र फङगसको संक्रमण बढी हुन्छ । यो मौसममा ब्याक्टेरिया र फङगसलार्ई बाँच्न अनुकूल हुन्छ ।

धेरै समय पानी, खेतबारीमा काम गर्नेहरू, वर्षायाममा खाली खुट्टा हिँडनेहरू वा चप्पल आदि लगाउँदा औंला निरन्तर पानी, हिलो, फोहोर आदिको सम्पर्कमा रहनेहरूमा यो समस्या बढी देखिन्छ ।

कहिलेकाहीँ लामो समयसम्म निरन्तर जुत्ता लगाउनेहरूमा समेत यो समस्या देखिने गरिएको डा. कर्ण बताउँछन् । उनका अनुसार छालामा फङगसको उपचार समयमा नगरे यसले छालालार्ई फुटाउन थाल्छ । प्रायः कुर्कुच्चा चिरा पर्ने समस्या यसै कारण हुने गर्छ ।

यस्तो चिरा समयसमयमा खुल्दा निरन्तर रगत बग्छ । ‘छालामा हुने यो फङगसले सबै व्यक्तिलाई भने संक्रमित गर्दैन । रोग प्रतिरोधक क्षमता कम भएकाहरू, डिसब्याक्टेरियोसी, मधुमेह आदि भएकाहरूलाई बढी प्रभावित पार्छ,’ डा. कर्ण भन्छन् ।

यस्तै कस्सिएको जुत्ता लगाउनेहरूलाई समेत यस्तो समस्याले दुःख दिन सक्छ । जुत्ता आरामदायी हुनुको साथै हावा खेल्ने खालको हुनुपर्छ । यो मुख्य रूपले फोहोरले गर्दा हुने संक्रमण हो । बढी समयसम्म पानी, माटो, हिलोको सम्पर्कमा रहनाले छाला कमलो भएर त्यसमा फङगस र संक्रमण फैलिन थाल्छ ।

‘फङगसको उपचार धेरैजसोले आफ्नो साथीभाइ, छिमेकी आदिको सल्लाहअनुसार आफैंले गर्ने प्रयास गर्छन्,’ डा. कर्ण भन्छन्, ‘तर यदि बिरामीले समयमै छाला रोग विशेषज्ञसँग उपचार गराउँछन् भने एक महिनाको औषधिले समेत निको हुन सक्छ ।’ यसको उपचार धेरै लामो समयसम्म गर्न सक्नुपर्छ । कहिलेकाहीँ त वर्ष दिनसम्म समेत यसको उपचार चल्छ ।


यसरी जोगिनुस्

वर्षायाममा खुट्टालार्ई सफा र सुक्खा राख्नुपर्छ । खुट्टा सफा गर्दा दुई औंलाबीचको भागलार्ई राम्ररी सफा गर्नुपर्छ । दिनहुँ बिहानबेलुका खुट्टालार्ई डिटोल आदि हालेर बनाइएको कीटनाशक घोलले धुँदा निकै फाइदाजनक हुन सक्छ ।

यो समस्याबाट जोगिन कृषकले खुट्टामा पानी लाग्न नदिन र सुक्खा राख्न रबरको जुत्ताको उपयोग गर्न सक्छन् । कृषि कर्म सकाएपछि खुट्टालार्ई राम्ररी धोएर सुकाउँदासमेत यो समस्याबाट जोगिन सकिन्छ ।

भिजेमा वा ओसिलो भएपछि तुरुन्तै सुक्न सक्ने खालको जुत्ता/चप्पल उपयोग गर्नुपर्छ । वाटर प्रुफ चप्पल/जुत्ताको प्रयोग गर्नुपर्छ ।

दिनहुँ घर आएपछि साबुन पानीले खुट्टा सफा गरेर सुक्खा पार्नुपर्छ । मुख्यतः औंलाको कापलार्ई सुकाउनु धेरै आवश्यक छ । यो संक्रमणको उपचारमा एउटा महत्त्वपूर्ण कुरा भनेको तपाईंले लगाउने जुत्ता, मोजा, चप्पललार्ई किटाणु मुक्त राख्नुसमेत हो ।


उपचार

समयमै उपचार गर्नाले यो समस्या निको हुन्छ । डा. कर्णको अनुसार, यदि औंलाको कापमा पिप आइसकेको छ भने चिकित्सकले एन्टिबायोटिक औषधिसमेत सेवन गर्न प्रस्तावित गर्न सक्छ । यति मात्र नभए ब्याक्टेरिया/फङगस निरोधी औषधि संक्रमण भएको स्थानमा लगाउन समेत प्रस्तावित गर्न सक्छ ।

समस्या सामान्य भए जेनसन भ्वाइलेट औषधि लगाउनु समेत फायदाकारी हुन सक्छ । प्रभावित व्यक्तिले पानी न पस्ने रबरको जुत्ता लगाएर काम गर्नुपर्छ । यसका साथै साथै खुट्टालार्ई सफा र सुक्खा राख्नुपर्छ । यस समस्याको बेलैमा उपचार नगरे ब्याक्टेरियाको संक्रमण फैलिदै जाँदा पिप जम्ने अवस्था (एब्सेस) समेत हुनसक्छ । डा. कर्णका अनुसार एब्सेस हुँदा सामान्य शल्यक्रियाको अवस्थासमेत निम्तिन सक्छ ।


पेडिकेयर गर्नुस्

पेडिकेयर गर्न सबैभन्दा पहिले हलुका मनतातो पानी लिनुस् । यसमा आधा चम्चा हाइड्रोजन पेरोक्साइड राम्ररी मिसाउनुस् ।

उक्त पानीमा ५–७ मिनेट खुट्टालार्ई डुबाएर राख्नुस् । कम्तीमा यति मात्र गरे पनि हुन्छ तर यसपछि पेडिकेयरअन्तर्गत गरिने विभिन्न प्रक्रियासमेत गर्न सक्नुहुन्छ । तर सफा गरेपछि खुट्टालार्ई सुक्खा राख्नका लागि राम्ररी पुछ्नुपर्छ ।


घरेलु उपचार

तोरी, तेलसँगै बेसारको उपयोग प्राचीनकालदेखि नै गाउँ घरमा यस्तो समस्या हुँदा बेसारको उपयोग गर्ने गरिएको छ । बेसारमा एन्टिसेप्टिक गुणसँगै यसले घाउलाई भर्न सघाउँछ । तोरीको तेलले भने चिलाइको समस्यालाई कम गर्छ ।

तोरीको तेललार्ई तताएर त्यसमा अलिकति बेसार हालेर यो लेपलाई औंलाको बीच घाउ भएको ठाउँमा दिनहुँ तीन/चार पटक लगाउँदा राहत पुग्छ ।

लसुन

लसुनमा ब्याक्टेरियल र एन्टिबायोटिक गुण हुन्छ । यो कुनै पनि प्रकारको फङगल, ब्याक्टेरियल संक्रमणका लागि धेरै प्रभावकारी छ ।

यो समस्या धेरै कडा रूपमा नदेखिएको अवस्थामा लसुनको उपयोग गर्दासमेत फाइदा पुग्न सक्छ । नेपाली समाजमा परम्परागत रूपमै यस्तो समस्याका लागि लसुनको उपयोग हुँदै आएको औंल्याउँदै डा. कर्ण भन्छन्, ‘तर यदि समस्या धेरै कडा रूपमा देखिएको छ वा परम्परागत उपचार प्रक्रिया गर्दा झन् बढ्ने, बल्झिने आदि भए तुरुन्त छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।’

औंलोको बीचमा दुई पोटी लसुनको पेस्ट बनाएर यसलार्ई तोरीलगायत कुनै तेलमा मिसाएर औंलाको कापलगायत प्रभावित क्षेत्रमा लगाएर एक घण्टापछि मन तातो पानीले धोएर छालालार्ई विस्तारै सुक्खा पार्नु फाइदाजनक हुन सक्छ ।


औंलाको कापमा घाउ भए

लामो समय पानीमा खुट्टा नराखौं

खुट्टा पानीमा राखे वा धोएपछि तुरुन्त पुछौं

नुन हालेको मनतातो पानीले खुट्टा धोऔं

औंला बढी नकन्याऔं

प्रकाशित : श्रावण ४, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?