२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

धरानमा फैलिएको डेंगु ‘डेन–२’

अतुल मिश्र

काठमाडौँ — धरानमा महामारीका रूपमा फैलिएको डेंगु कडा मानिने ‘डेन–२’ भएको विज्ञहरूले जनाएका छन् । मुलुकमा डेन–१, डेन–२, डेन–३, डेन–४ गरी चारै थरी डेंगु देखिने गरेको छ ।

‘धरानमा ‘डेन–२’ डेगु संक्रमण फैलिएको पहिचान गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कान्तिपुरसित भने, ‘संक्रमणले मृत्यु नभए पनि धरानमा डेंगु अत्यधिक फैलिरहेको छ, संक्रमितको संख्या ३ सयभन्दा माथि नाघिसकेको छ ।’


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले करिब ३० वटा नमुना परीक्षण गर्दा ‘डेन–२’ देखिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लामखुट्टेजन्य भाइरल संक्रमण डेंगुको कुनै विशिष्ट उपचार छैन । तर छिटो रोग पत्ता लगाएर उचित चिकित्सकीय हेरचाह पुर्‍याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार बैंककको एक अध्ययनले डेंगुको चार प्रकारमा सबैभन्दा कडा ‘डेन–२’ लाई नै भनेको छ । तर नेपालमा यो प्रकारको डेंगुले धेरै बढी मृत्यु भएको छैन ।


सन् २००६ मा मुलुकमा चारै प्रकारका डेंगु देखिएको औंल्याउँदै डा. पाण्डेले भने, ‘तर हाल बढी मात्रामा डेन–२ देखिन थालिएको छ ।’

उनका अनुसार सन् २०१० मा चितवन, धादिङ, तनहुँ, बुटवललगायत ठाउँमा डेन–१ देखिएको थियो । सन् २०१३ मा डेन–१ र डेन–२ देखियो । सन् २०१७ मा बर्दिवास, लालबन्दीलगायतमा डेन–२ देखिएको हो ।


कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाका निर्देशक डा. अनुज भट्टचनले समेत केही महिनाअघि पोखरामा फैलिएको डेंगुमा समेत बढी डेन–२ नै रहेको बताए । डा. पाण्डे टेकु अस्पतालको रेकर्ड औंल्याउँदै मधेससहित मुलुकको करिब ४० जिल्ला डेंगु प्रभावित रहेको बताउँछन् ।


काठमाडौंसहित ठूला सहरमा डेंगु फैलिए नियन्त्रण गर्न सहज नहुने जनाउँदै उनले यसबाट जोगिन युद्घस्तरमा सबै निकायको सहयोग लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेंगु नियन्त्रणका लागि टेकु अस्पताललगायत यस क्षेत्रका विज्ञको सहयोग लिनुपर्छ,’ पाण्डेले भने, ‘मैले थाहा पाएअनुसार डेंगुविरुद्घको गतिविधि धरानमा त्यति व्यापक गर्न सकिएको छैन, अभियान फितलो भएको छ ।’


नेपालले आधिकारिक रूपमा सन् २००६ को नोभेम्बर महिनामा मुलुकमा डेंगु देखिएको जनाएको थियो । डेगु भाइरस मुख्य रूपमा पोथी एडिस एजिप्टी लामखुट्टे र केही हदसम्म एल्बोपिक्टसले फैलिन्छ । दिउँसो टोक्ने यो लामखुट्टेले नै चिकनगुनिया, यलो फिभर, जिका संक्रमणसमेत फैलाउँछ ।


संक्रमित व्यक्तिलाई टोकेपछि उसको परजीवी लामखुट्टेमा आउँछ । त्यही लामखुट्टेले पुनः स्वस्थ व्यक्तिलाई टोक्दा उसमा पनि संक्रमण फैलन्छ ।


मुलुकमा सन २००४ मा डेंगुको पहिलो प्रयोगशाला प्रमाणित बिरामी एक विदेशी भए पनि सन् २००६ मा चितवनमा यसको प्रकोप देखिएको थियो । यसपछि सन् २०१० मा सबैभन्दा बढी ९ सय १७ जनामा डेंगु भेटिएको थियो । त्यति बेला पाँच जनाले ज्यानै गुमाएका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?