छाला समस्याले मिलिया

अतुल मिश्र

काठमाडौँ — के तपाईँको आँखा, नाक, गाला वरपर भागमा पिप नभएको सेतो, पहेंलो बिमिराजस्तै कडा दाना आएका छन् ? खासै दुःख नदिए पनि यसले तपाईंको सौन्दर्यमा असर गरेको अनुभूति हुन्छ ? यस्ता बिमिरालाई अंग्रेजीमा ‘मिलिया’ भनिन्छ ।

यसको कुनै खास नेपाली नाम छैन । यो छालाको समस्याका कारण आउने गर्छ । यसलाई मिल्क स्पट र आयल सिडसमेत भनिन्छ । यो धेरैजसो आखाँको तल, नाक, गाला, निधार र छातीमा आउने गर्छ ।

‘मिलिया खतरनाक स्थिति होइन, यो स्वास्थ्य समस्या नभई सौन्दर्य समस्या हो,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, यो आउँदैमा आत्तिनु पर्दैन । न त यसको कुनै उपचार नै आवश्यक हुन्छ । तर सौन्दर्य प्रभावित हुन लाग्दा केही चिकित्सकीय प्रक्रिया अपनाउन सकिन्छ । मिलियाले तैलीय छाला भएकाको दाँजोमा सुक्खा छाला भएकालाई बढी प्रभावित गर्छ ।

यो करिब १ देखि २ मिलिमिटरको सेतो छालाको दाना हो । यो सेतो दाना (बिमिरा) जस्तै छालामा देखिन्छ । यो केराटिनको कारणले हुन्छ । अर्थात् यो केराटिनले भरिएको सिस्ट हो । जो छालाको सतहभन्दा मुनि फस्छ । यो हाम्रो स्वास्थ्यका लागि घातक हुँदैन ।

केराटिन मानव शरीरमा पाइने यस्तो प्रोटिन समूह हो, जसले रौं, छाला र नङको निर्माण हुन्छ । सामान्य भाषामा भन्ने हो भने, जब छालाको मृत कोषिका छालामाथि आउँछ तब यसैले मिलियाको रूप लिन्छ ।

‘मिलिया अनुहारमा देखिने हाइट हेड हैन । यो हाइट हेडभन्दा फरक हुन्छ । हाइट हेडमा पिप हुन्छ तर यो पिपले भरिएको हुँदैन,’ डा.कर्ण भन्छन्, ‘यो डन्डीफोर वा छालाको संक्रमणजस्तो समेत हैन, यो सामान्य छालामा देखिने सेतो, पहेंलो दाना हो ।’
दानाजस्तै हुने यो बिमिरा कुनै पनि उमेरमा हुन सक्छ । तर यो समस्या सबैभन्दा बढी बच्चा र त्यसपछि युवामा देखिन्छ ।

हेर्दा अनुहार भद्दा लाग्ने, यो समस्या उपचारबिना समेत समाप्त हुन्छ । तर यदि तपाईं मिलियालाई आफ्नो अनुहारको लागि समस्या नै भएको ठान्नुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिने सल्लाह डा.कर्ण दिन्छन् । उनी मिलियालाई बिमिरा, डन्डीफोर, दाना आदिको श्रेणीमा राख्न नसकिने बताउँछन् । यो मृत कोषिकाले गर्दा हुने भएकाले आफैं केही सातामा निको हुन सक्छ ।

केही साताको उपचार प्रक्रियाबाट समेत मिलिया निको नहुँदा डर्मेटोलजिस्टले एक विशेष चिकित्सकीय प्रक्रियाअन्तर्गत यसलाई सुईको माध्यमले छालाबाट बाहिर निकाल्ने गरेका छन् । यति मात्र नभई मिलियालाई हटाउन क्रायो थेरापी (उपचार प्रक्रियाअन्तर्गत अत्यन्त चिसो उपयोग गर्नु) समेत गरिन्छ । यसलाई चिथोर्ने वा आफैंले निकाल्ने प्रयास गर्नु हुँदैन । चिथोर्दा यसले समस्या दिन सक्छ । चिथोर्दा, कोट्याउँदा यसले छाला पोल्नुको साथै चिलाउने समस्या वा संक्रमणसमेत हुन सक्छ । यति मात्र नभई यसले गर्दा छालामा दागसमेत बस्न सक्छ ।

करिब आधा जति नवजात शिशुको अनुहारमा मिलिया विकसित हुन्छ तर यो जन्मको केही सातापछि आफैं निको हुने औंल्याउँदै डा.कर्ण भन्छन्, ‘वयस्कमा छालाको कुनै पनि प्रकारको चोटको परिणमस्वरूप मिलिया हुन सक्छ । यो छालालाई निको पार्न विकसित भएको हुन सक्छ ।’

मुख्यरूपमा युवामा मिलियालाई त्यसैछोड्दा समेत आफैं निको भएर जान्छ । धेरैजसो व्यक्तिमा मिलिया हुने कुनै चिकित्सकीय कारण हुँदैन । यसको उपचारका लागि मिलिया हुने कारण खुट्याउनुपर्छ । छाला रोग विशेषज्ञले तपाईंको शरीरमा मिलिया हुने कारण पत्ता लगाएर यसबाट उन्मुक्ति दिन सघाउने छ ।

डा.कर्णका अनुसार सबैभन्दा सामान्य प्रक्रिया निर्मलीकरण गरिएको सुईको माध्यमले यसलाई झिक्नु हो । तर यो इलेक्ट्रोकोटरी (विद्युत्को माध्यमले डढाउनु) को माध्यमले समेत हटाउन सकिन्छ । ट्रपिकल रेटिनोइडस यसको उपचारमा उपयोगी मानिएको छ । तर यसको अतिरिक्त अन्य कुनै छाला स्याहार गर्ने अवयव (इनग्रिडियेन्ट) वा फर्मुलेसन मिलियामा प्रभावकारी हुने कुनै प्रमाण छैन । हालसम्म मिलियाबाट बचाउको कुनै प्रभावकारी उपाय पत्ता नलागेको समेतडा.कर्ण बताउँछन् ।

प्रत्यक्ष घामबाट अनुहार जोगाऔं
खासै बढी वैज्ञानिक प्रमाण नभए पनि सूर्यको हानिकारक किरणले मिलियाको समस्यालाई झन् बढाउने स्थिति देखिएको छ । मिलिया प्रभावितले अनुहारलाई सूर्यको हानिकारक किरणबाट जोगाउने फायदाजनक हुन सक्छ ।

मेकअप बढी नगरौं
मिलियाग्रस्त महिलाले यसलाई लुकाउन अनुहारमा बढी कस्मेटिकको उपयोग गर्ने गरेको देखिन्छ । कस्मेटिक उत्पादनले अनुहारको छालाको रोम छिद्रलाई बन्द गर्छ । यसले छाला बढी प्रभावित हुनुको साथै मिलियामा समेत वृद्घि देखिनुको साथै छालाको अन्य समस्यासमेत देखिन सक्छ ।

अनुहारलाई न्यानो तौलियाले सेकौं
तातो पानीमा तौलियालाई भिजाएर यसलाई निचोरेर अनुहार छोप्दा फाइदा पुग्छ । यो अनुहारमा बाफ लिनु जत्तिकै फायदाकारी हुन सक्छ । यसले गर्दा अनुहारको छालाको बन्द भएकोरोमछिद्र खुला हुन्छ र अनुहारको छालाको मृत तहसमेत निस्किन्छ ।

छाला सफा राखौं
मिलिया तैलीय छालाको दाँजोमा सुक्खा छालालाई बढी प्रभावित गर्ने पाइएको छ । सुक्खा छालाको कोषिका सहजै छालाको माथिल्लो तहसम्म आउँछ । यसैले दिनहुँ अनुहारलाई पानीले सफा राख्नुपर्छ । यसले छाला ‘हाइड्रेटेड’, रहनुको साथै सफासमेत हुन्छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

रोगसँग लड्न लिची

मुटुको समस्या, मधुमेह, मृगौला र क्यान्सरलगायतका रोगविरुद्ध प्रभावकारी
कान्तिपुर संवाददाता

काठमाडौँ — मीठो स्वादसँगै उच्च पोषक तत्त्वयुक्त लिची फूर्तिदायक हुन्छ । यो मूलतः चीनबाट आएको फल हो । यो फललाई २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो । चीन हुँदै यो फल भारत, नेपाल, थाइल्यान्ड, भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, अस्ट्रेलिया, मरिसस, अमेरिका, इजरायल, र मेडागासकर मुलुकमा पनि पुगिसकेको छ । 

भारत, विहारस्थित भारतीय कृषि अनुसन्धान परिषद्, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ । लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत र्‍याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ । यसमा भिटामिन सी, पोटेसियम र प्राकृतिक चिनी पाइन्छ । लिचीमा चिनी १०–२२ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, बोसो ०.३ प्रतिशतलगायत धेरैजसो भिटामिन जस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ ।

केन्द्रको तथ्यपत्रअनुसार लिचीमा थुप्रै रोगको प्रतिरक्षात्मक क्षमता देखिएको छ । यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ । जसले लिचीको फल मुटु रोग, मधुमेह, मृगौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधीक्षमता दिन्छ । लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध उत्पन्न गर्छ ।

पाचनतन्त्र र रक्तसञ्चारलाई राम्रो पार्ने लिचीको १०० ग्राम गुदीमा करिबव ७० मिलिग्राम भिटामिन सी हुन्छ । जो हाम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ । लिचीमा पाइने भिटामिन सीले हाम्रो दैनिक आवश्यकताको करिब ७० प्रतिशत पूरा गर्छ । यसमा बोसो र सोडियम नाम मात्रको हुन्छ । यसले एनिमिया रोगको लक्षणमा समेत सुधार ल्याउँछ । लिचीको उपयोग पारम्परिक चिनियाँ र भारतीय चिकित्सा प्रणालीमा थुप्रै रोगसँग लड्नमा गरिन्छ ।

लिचीमा कार्बोहाइड्रेट, भिटामिन ए र बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, फस्फोरसजस्ता खनिज लवण पाइन्छ । यसमा बिटा क्यारोटिन, राइबोफलेबिन, नियासिन, फोलेट आदि धेरै बढी मात्रामा पाइन्छ । यसको भिटामिनले रातो रक्तकणिकाको निर्माण गर्छ ।

यसले बिटा क्यारोटिनलाई कलेजो र अन्य अंगमा संग्रहित गर्न सघाउँछ । यसमा भएको बिटा क्यारोटिन र ओलिगोनोलले मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ । यसमा बढी मात्रामा भएको पोटासियम र सोडियमले गर्दा नशामा रगतको सञ्चार सही रहन्छ र रक्तचाप नियन्त्रित हुन्छ ।

फोलेटले शरीरमा कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित राख्छ । यसले हाम्रो स्नायु प्रणाली स्वस्थ रहन्छ । यो कपालको स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । यसमा कपर हुन्छ । यसले हेयर फलिकल्सलाई उत्तेजित पार्छ र कपाल बढ्नमा सघाउँछ । यसमा भएको भिटामिन सी र प्रोटिनले कपालमा चमक ल्याउँछ ।

यो एउटा राम्रो एन्टिअक्सिडेन्टसमेत हो । यसमा भएको भिटामिन सी शरीरमा रक्तकोषिकाको निर्माण र फलामको अवशोषणमा समेत सघाउँछ । यो प्रतिरोधी प्रणालीलाई कायम राख्न आवश्यक मानिन्छ । यसको सेवनले पाचनप्रक्रियामा सहयोग पुग्छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्