कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

२ करोडको पीसीआर मेसिन थन्कियो

अतुल मिश्र

काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ करोडभन्दा बढी मूल्य पर्ने ‘रियल टाइम पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिन’ १६ महिनादेखि थन्किएको छ । विदेशी दाताले टेकु अस्पताललाई दिएको यो मेसिनको वैज्ञानिक अनुसन्धानसँगै मेडिकल डायग्नोसिसमा विशेष भूमिका हुन्छ ।

२ करोडको पीसीआर मेसिन थन्कियो

‘यो मेसिन सरुवा रोग अस्पतालमा हुनैपर्ने हो, धेरै समयको कुराइ, प्रयासपछि ग्लोबल फन्डअन्तर्गत मेसिन आए पनि थन्किएको छ,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘शतप्रतिशत रोग किटान र निदान गर्न पीसीआरले धेरै सघाउँछ ।’

डेग, जिका, चिकनगुनियालगायत रोग पहिचान गर्ने किटमा धेरैपटक ‘फल्स पोजेटिभ’ देखाउँदा पीसीआरको सहायताले किटान गर्ने गरिन्छ । प्रयोगशाला भवनमा थन्किएर रहेको यो मेसिनलाई प्रयोगमा ल्याउन सम्बद्ध निकायलाई आग्रह गरिए पनि बेवास्ता भएको अस्पतालका चिकित्सकले बताए । ‘अत्यधिक विश्वसनीयतासहित रोग पहिचान गर्न विदेशी दाताले पीसीआर दिएका हुन् तर यसको फाइदा उठाउन सकेका छैनौं,’ एक कर्मचारीले भने, ‘मेसिन सञ्चालन नगर्ने प्रक्रियामा मन्त्रालय बढी दोषी छ ।’

यो मेसिनबाट परीक्षण संसारमै सबैभन्दा उच्च प्रविधि हो । ‘र्‍यापिड, एलाइजा किटहरूमा कहिले–कहिले फल्स पोजिटिभ आउन सक्छ,’ टेकु अस्पतालका एक अर्का चिकित्सकले भने, ‘पीसीआरले भाइरसको लोड पनि हेर्न सक्छ । इन्फ्लुएन्जा पत्ता लगाएर रिपोर्ट दिन्छ । शतप्रतिशत निश्चित हुन यसको उपयोग गर्ने हो ।’

टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले पीसीआरका लागि प्रयोगशालामा चाहिने फ्रिजर, टेबल, कुर्सी, रिएजेन्टहरू नभएको बताए । ‘ग्लोबल फन्डले सपोर्ट गरे पनि हामीले अझै यसको महत्त्व बुझेका छैनौं,’ उनले भने । पीसीआर सञ्चालनका लागि केही कर्मचारी आवश्यक रहेको र यसबारे स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको उनले दाबी गरे ।

विशेषज्ञहरूका अनुसार पीसीआर डीएनए प्रवर्द्धन प्रविधि हो । यसको माध्यमले कुनै जिनको डीएनएको लाखौं प्रति केही समयमै संश्लेषित गरिन्छ ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?