कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर : घटनाले पछिसम्म तर्साउँछ

अतुल मिश्र

काठमाडौँ — चैत १७ मा भीषण हावाहुरीको प्रत्यदर्शी बने बारा र पर्साका बासिन्दा । दुई साता भईसक्दा पनि तिनीहरू अझै डरलाग्दो अनुभवबाट गुज्रिरहेका छन् । केही समयपछि पनि त्यो क्रम जारी रहने छ । उक्त घटनाको सम्झनाले केहीलाई नराम्ररी धेरै पछि सम्म सताउन सक्छ ।

पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर : घटनाले पछिसम्म तर्साउँछ

अझ पहिलेदेखि नै एग्जाइटी वा डिप्रेसनको समस्या भएका त सामान्य व्यक्तिको तुलनामा बढी जोखिममा हुनेछन् । ०७२ को महाभूकम्पपछि केही व्यक्तिमा आत्तिने, सुत्न नसक्ने, एक्कासि निद्राबाट ब्युँझिने, पुनः त्यही दुःखद् घटना सिनेमाको ‘फ्ल्यास ब्याक’ जस्तो दोहोरिरहने देखिएको थियो ।


पहिले नै गुज्रिसकेको दुर्घटना पुनः आँखा अगाडि आएर अत्याउने समस्या प्राकृतिक विपदमा मात्र नभई, गम्भीर दुर्घटना, शारीरिक र यौन हमला, चोटपटक लगायतका कुनै दर्दनाक र अप्रिय घटनाको केही समयपछि हुन सक्छ ।


चिकित्सकीय भाषामा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी)’ भनिने यो मानसिक स्वास्थ्यको सिधा सम्बन्ध व्यक्तिको कुनै भयानक घटनासँग हुने गर्छ । दुःखद घटनालाई या त ती व्यक्तिले भोगेको हुन्छन्् वा प्रत्यक्ष रूपमा देखेको हुन्छ ।


‘भयानक प्राकृतिक विपत् देखेभोगेका मध्ये ३० देखि ४० प्रतिशतलाई ‘पीटीएसडी’ हुन सक्छ, तर यो आफैं पनि निको भएर जान सक्छ,’ त्रिवि शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राडा. सरोजप्रसाद ओझा भन्छन्, ‘हाम्रो संस्कृति, समस्या परेकालाई सान्त्वना दिने कार्य, एकआपसमा घुलमिल हुने बानी, अर्काको दुःखमा साथ दिनेजस्ता कार्यले काउन्सेलिङको काम गर्छ ।’


अमेरिकास्थित ‘नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ’का अनुसार कुनै पनि व्यक्तिलाई जुनसुकै उमेरमा ‘पीटीएसडी’ हुन सक्छ । यसअन्तर्गत युद्घमा बाँचेका जवान, शारीरिक र यौनहिंसा, दुर्व्यवहार, यातायात दुर्घटना, विपद, आतंकित पार्ने आक्रमण र अन्य गम्भीर घटनालगायतका पर्छन । सबै ‘पीटिएसडी’ भएकाहरू खतरनाक घटनाबाट प्रभावित भने हुँदैनन् । कुनै व्यक्तिमा भने गरिबी, प्रिय व्यक्तिको अप्रत्याशित मृत्युका कारण पनि यो समस्या देखिन सक्छ । त्यस्ता व्यक्तिहरू यसबाट प्रभावित हुन सक्छन् ।


‘नेसनल सेन्टर फर पीटीएसडी’ का अनुसार प्रत्येक सय जनामा ७ देखि ८ जनाले जीवनको कुनै कालखण्डमा ‘पीटीएसडी’ को अनुभव गर्छन् । पुरुषको दाँजोमा महिलालाई ‘पीटीएसडी’ हुने सम्भावना बढी हुन्छ । सामान्यतः दुःखद् घटनाको करिब ३ महिना भित्र लक्षण देखिन थाले पनि कहिले काही यो पछि पनि सुरु हुन सक्छ । यस्तो लक्षण करिब एक महिनासम्म देखिनुको साथै लक्षणले दैनिक कार्यव्यवहार वा अन्य व्यक्तिसँगको सम्बन्ध प्रभावित बनाउन थाल्दा यसलाई ‘पीटीएसडी’ भनिने गरिएको छ ।


संयुक्त परिवार, नेपाली संस्कृति, एकअर्काको दुःखमा साथ दिने लगायतका बानीका कारण ठूलै दुर्घटनामा परेका नेपालीमा भविष्यमा ‘पीटीएसडी’ हुने सम्भावना भने न्युन हुन्छ । त्यसका कारण महाभूकम्पपछि विशेषज्ञले ‘पीटीएसडी’ हुने सम्भावना गरेका व्यक्तिमध्ये एक चौथाइ पनि नदेखिएको वरिष्ठ मनोचिकित्सक प्राडा. विद्यादेव शर्मा बताउँछन् ।


बारम्बार घटनाबारे मनमा बिचार खेल्नु, उक्त घटनाबारे सम्झिरहनुले व्यक्तिको दैनिकी तथा कार्यमा बाधा उत्पन्न गर्न थालेपछि ‘पीटीएसडी’ हुन सक्ने उनको ठम्याई छ । भूकम्पपछि परिवारसँगै बस्ने, सामाजिक रूपले एकअर्कासँग नजिक हुने, सान्त्वना दिनेजस्ता कार्यले केहीमा मात्र ‘पीटीएसडी’ देखिएको मनोचिकित्सक डा.रितेश थापा औंल्याउँछन् ।


उपचार

‘पीटीएसडी’ को लक्षण लामो समयसम्म कायम रहे मनोचिकित्सकको सहयोग लिनुपर्छ । यो समस्या आउन नदिन चोट, आघात प्रभावितलाई घटनालगत्तै मनोसामाजिक परामर्श आवश्यक पर्छ । यस्ता परामर्शकर्ताले २/३ सातापछि पुनः घटनास्थलमा गएर त्यहाँ भएका समुदाय वा घटना प्रभावित एक्लो व्यक्तिको मूल्यांकन गर्नुपर्ने डा. रितेश थापा औंल्याउँछन् ।


दुर्घटना पीडितको मनोवैज्ञानिक प्राथमिक उपचार गर्दा ‘पीटीएसडी’ हुने सम्भावना कम हुने औंल्याउँदै उनले प्रभावित व्यक्ति आफ्नो नियमित दैनिकीमा जति छिटो फर्कन्छन् त्यति नै चाँडो स्वस्थ हुने बताउँछन् ।


आवश्यकताअनुसार औषधि प्रयोगले व्यक्तिमा आत्तिने लक्षण कम हुनुका साथै ‘फ्ल्यास ब्याक’ कम तथा डिप्रेसन कम हुने डा.शर्मा बताउँछन् । योगासनसमेत यसमा प्रभावकारी देखिएको छ । यस्तै, प्रभावितलाई एक्लै बस्न नदिने, डर लुकाउन नदिने, आफ्नो भावना

साझा गर्न प्रोत्साहित गर्ने, अप्ठ्यारो परेको भए केही समय दैनिक दायित्वबाट छुटाउनु उचित हुन्छ । ‘प्रभावितलाई यो अवस्थावाट भाग्न दिनुहुँदैन,’ डा. शर्मा भन्छन् ।


२० प्रतिशत क्यान्सर रोगीमा पीटीएसडी

एक अध्ययनअनुसार हरेक ५ मध्ये एक क्यान्सर रोगी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर पीडित हुन्छन् । ‘नेसनल युनिभर्सिटी अफ मलेसिया’ का अनुसन्धानकर्ताले क्यान्सर रोगीमा ‘पीटीएसडी’को लक्षण पहिचान गरी त्यसको उपचार गर्नु आवश्यक पर्ने बताएका छन् ।


सामान्यतः कुनै प्राकृतिक विपत् वा दुःखद् घटनाको सामना गर्ने व्यक्ति नै ‘पीटीएसडी’ को सिकार हुन्छन् । अध्ययनकर्ताका अनुसार क्यान्सरका बिरामी उपचारको समय आफूलाई बलियो देखाउने प्रयासमा कसैको पनि सहयोग लिनबाट बाँच्ने प्रयास गर्छन् । यसबाहेक उनीहरूलाई पुनः क्यान्सरले पीडित हुने डरसमेत रहिरहन्छ ।

मदिरा घातक

‘नेचर न्युरोसाइन्स’ मा प्रकाशित एक रिपोर्टअनुसार आघात, चोट कम गर्न मदिरा उपयोग गर्दा ‘पीएसटीडी’को खतरा झन् बढ्छ । शरीरमा मदिराको मात्रा बढी भएको खण्डमा मस्तिष्कको भावना केन्द्रलाई नियन्त्रण गर्ने संज्ञानात्मक क्षमता(कग्नेटिभ क्यापेसिटी) प्रभावित हुन सक्छ । मनोचिकित्सक डा. रितेश थापाका अनुसार प्राकृतिक विपत् वा दुर्घटना प्रभावितले मदिराको उपयोग बढी गर्ने गरेको देखिन्छ । उनी भन्छन्, ‘यस्तो अवस्थामा मदिराको बानी पर्ने समस्यासमेत देखिएको छ ।’


लक्षण

  • घटनाको दृश्य बारम्बार सम्झनु
  • पटकपटक घटनाबारे कुरा गर्नु
  • निद्राबाट एक्कासि ब्युँझिनु
  • भोक, प्यास, निद्रामा कमी
  • गम्भीर चिन्ता, डिप्रेसन
  • नराम्रो सपना देख्नु वा सपनामा रुनु
  • झोक्किने वा झनक्क रिसाउने
  • दैनिक काममा चासो नलिनु
  • सुरक्षित स्थानमा खतरा महसुस गर्नु
  • ध्यान केन्द्रित गर्न नसक्नु


आघातबाट बच्ने उपाय

  • समूहमा बस्ने
  • आफ्ना कुरा साटासाट गर्ने
  • ध्यान, योग गर्ने
  • पर्याप्त सुत्ने
  • स्वस्थकर खाना खाने
  • पानी पर्याप्त पिउने
  • स्वस्थ्यकर दैनिकीमा

ध्यान दिने

  • धूमपान, मध्यपान नगर्ने
  • मनोचिकित्सकको परामर्श लिने

प्रकाशित : चैत्र ३०, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?