डा. हेनिमेन अर्थात् होमियोप्याथी

सन्दर्भ : विश्व होमियोप्याथिक दिवस
डा. ललितकुमार मिश्र

काठमाडौँ — जीवनको उत्पति सँगसँगै  रोगहरुको पनि जन्म भयो । यी दुवै सँगै हुर्के र सँगै खेले, मौका छोपी एकले अर्कालाई पछार्ने कार्य  गर्दै आए र गर्दैछन् । तर मानिस प्रकृतिको सर्वश्रेष्ठ बौद्धिक प्राणी भएकोले लामो समयसम्म यस सांसारिक यात्रामा स्वस्थ्य भई संलग्न रहने उद्देश्यले रोगोपचारका विधिहरुको खोजीमा लाग्यो ।


जसको फलस्वरुप अहिले विश्वमा रोगोपचारका विभिन्न पद्धतिहरुको विकास र प्रयोग भइरहेको छ। इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो- होमियोप्याथी। होमियोप्याथी विश्वमा स्थापित चिकित्सा पद्धतिहरुमा दोस्रो स्थानमा रहेको छ। लोकप्रिय एवं जनमानसमा स्वीकार गरी अपनाएको चिकित्सा पद्धति हो। जुन लगभग २०० वर्षभन्दा बढी समयदेखि जनस्वास्थको विषय बनेको छ।

सन् १७५५ अप्रिल १० तारिखमा जर्मनीको माइसेन सहरमा होमियोप्याथीका जन्मदाता क्रिश्चियन फेड्रिकसेमुअल हेनिमेनको जन्म भएको थियो। यिनका पिता बहुतै गरिब थिए। चिनियाँ माटो (सेरामिक) को भाँडामा बुट्टा हाल्ने ( चित्रकारी) काम गरेर आफ्नो परिवारको पालनपोषण गर्दथे। गरिबीको कारणले गर्दा हेनिमेनको बाल्यावस्था बडो संघर्षमा बित्यो। अध्ययनको लागि साह्रै नै दु:ख गर्नुपर्‍यो तर हुने बिरुवाको चिल्लोपात भनेझैं कुशाग्रबुद्धि र तीव्र प्रतिभाका धनी हेनिमेनले २४ वर्षको उमेरमा एलोप्याथिमा (एम.डी.) को उपाधि हासिल गरे र ड्रेसडेनको अस्पतालमा सिविलसर्जनको पदमा रही कार्य गर्न थाले। दस वर्षसम्म यिनले अस्पतालमा सेवा कार्य गरे।

डा.हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियाबाट नै सहमत थिएनन्। तितो कष्टकारी एवं विपरीत प्रतिक्रिया उत्पन्न गर्ने औषधिहरुबाट एउटा रोगको उपचार हुनुका साथै शरीरमा कैयौं नयाँ-नयाँ रोगहरु उत्पन्न भइरहेका थिए। यसैबीच उनको छोरी बिरामी भइन्, राम्रोभन्दा राम्रो उपचार गरियो। तर छोरीलाई बचाउन सकेनन्। यस घटनाले गर्दा उनको तत्कालीन चिकित्सा पद्धतिबाट नै मोहभंग हुन गयो। यी सबै कुराहरुबाट दिकदार भएर हेनिमेनले (एलोप्याथी) चिकित्सा कार्य गर्न छोडिदिए। हेनिमेन जीविकोपार्जनको लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरुको विभिन्न भाषामा अनुवाद गर्न थाले। उनलाई ग्रिक, लेटिन, अंग्रेजी, ईटालीयन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसहित दस भाषाको ज्ञान थियो। सन् १७९० मा डा. कुलेनद्वारा लिखित मेटेरियामेडिका (औषधीय गुणसंग्रह) पुस्तकको अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले “सिनकोना” भन्ने औषधिको बारेमा विशेष जानकारी पाए।

एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नाले-मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न भइहाल्छ, जबकि सिनकोना मलेरिया ज्वरोको महत्वपूर्णऔषधि भन्ने कुरा यिनलाई थाह भयो। आफ्नै शरीरमा सिनकोनाको अर्कैको प्रयोगले डा.हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधीय गुणयुक्त पदार्थ (औषधि) एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नाले जुन किसिमको रोग लक्षणहरु उत्पन्न हुन्छन्, उही औषधि त्यस्तै लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रुपमा सुक्ष्म मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्दछ। यही कुराको चिन्तन-मनन् गर्दागर्दै उनको मनमा विचार आयो कि सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन र विनास शक्ति विद्यमान रहेछ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नो शरीरमाथि नाना-प्रकारका औषधिहरुको परीक्षण गरे। यसै परीक्षणले हेनिमेनलाई “सम: समं शमयति:” अर्थात् जसले रोग उत्पन्न गर्दछ, उसैले रोग निको पार्छ भन्ने जानकारी भयो र उनले “सदृशरोगको सदृश चिकित्सा” भन्ने नयाँ सिद्धान्तको प्रतिपादन गरे। उनले समानताले समानताको उपचारको पद्धतिलाई आफैंमाथि प्रयोग गरी व्यवहारिक एवं स्वाभाविक बनाए। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात् रोगको स्थायी चिकित्सा विधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे। होमियोप्याथी अर्थात् रोगको सदृशचिकित्सा विज्ञान। १८ औं शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगतको उपलब्धि हो। यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ चिकित्सा दर्शन दिएको छ, जसको कुनै विकल्प छैन। होमियोप्याथीले विश्व स्वास्थ्य मिसनलाई पूरा गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। जसको परिणाम आज हाम्रोसामु छ।

होमियोप्याथी आज विश्वको नब्बेभन्दा बढी मुलुकहरुमा मुख्य रुपले दक्षिण र उत्तरी अमेरिका, भेनेजुएला, अर्जेनटिना, जर्मनी, युक्रेन, रुस, क्यानाडा, यूके, यूएसए, फ्रान्स, जापान आदिमा प्रचलित छ। उल्लेखनीय कुरो के छ भने, भारत, श्रीलंका, पाकिस्तान, ब्रिटेन, नेपाल आदि देशका स्वास्थ्य सेवामा होमियोप्याथीलाई पनि समावेश गरिएको छ। एक रिपोर्टअनुसार विश्वमा लगभग १५% प्रतिशतभन्दा बढी मानिसहरु होमियोप्याथी चिकित्सा पद्धतिद्वारा आफ्नो रोगको उपचार गराउनमा विश्वास राख्दछन्।

होमियोप्याथीको लोकप्रियताको अनुमान यस तथ्यबाट पनि लगाउन सकिन्छ कि आफ्नो जन्मको लगभग २२५ वर्षभित्र नै समुद्रको गहिराईलाई पार गर्दै विश्वको महत्वपूर्ण देशहरुमा फैलिएर जनस्वास्थको विकल्प बन्नेतर्फ अग्रसर छ। ध्यानदिनु पर्ने कुरो के छ भने विश्वको अन्य कुनै पनि चिकित्सा पद्धति यस्तो छैन जसको औषधि या उपचार विधि सरल, सौम्य, सुरक्षित, पीडामुक्त एवं दुष्प्रभावरहित होस्। यसको साथै संसारमा प्रचलित अन्य चिकित्सा पद्धतिहरुमध्ये कसैको दर्शन लिखित या निश्चित छैन। होमियोप्याथी नै एकमात्र चिकित्सा पद्धति हो जसको दर्शन एवं सिद्धान्त निश्चित छ। यसमा रोगीको आचार, विचार, व्यवहार, शारीरिक बनावटदेखि उसको मनोभावना एवं व्यक्तित्व समेतलाई मध्येनजर राख्दै रोगोपचार गर्ने हेतुले औषधि छनोट गरिन्छ। सिमलिमम (समान) औषधिको सेवनलै नै बिरामीलाई पूर्ण रुपले स्वस्थ बनाउँछ। होमियोप्याथीको खास विशेषता के हो भने रोगीको उपचार आरम्भ गर्नको लागि तामझाम तथा धेरै जाँचपड्तालको आवश्यकता पर्दैन। आज पुरै विश्वमा जहाँ एलोप्याथिक उपचार गरिबको पहुँचबाट टाढा हुँदै गइरहेको छ। त्यही अपेक्षाकृत कम खर्चिलो हुने भएको कारण होमियोप्याथिक उपचार आममानिसको पहुँचमा छ। केवल होमियोप्याथी औषधि नै यस्तो छ, जसले आममानिसलाई अत्यधिक महँगो औषधिहरुको जालबाट निकाल्न सक्छ।

विश्वमा होमियोप्याथिक चिकित्साबिना सम्पूर्ण स्वास्थ्यको कल्पना पनि गर्न संभव छैन। होमियोप्याथी आफ्नो आविष्कारको लगभग २२५ वर्षको अन्तरालमा रोगमुक्त समाजको स्थापनाको लक्ष्यलाई प्राप्त गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। तर पनि होमियोप्याथीको सेवाहरुमा विस्तारको असीमित संभावनाहरु विद्यमान छ। विशेषगरी विकासशील मुलुकहरुमा स्रोत-साधनहरुको पूर्णतया अभाव छ, सर्वसाधारणको आर्थिक अवस्था निम्न छ। त्यहाँ होमियोप्याथिक चिकित्साको महत्व अझ बढ्न जान्छ। नेपालको स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्साले २००७ सालदेखि नै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ। होमियोप्याथिक चिकित्साको क्षेत्रमा डा.हेनिमेनद्वारा प्रतिपादित सार्वभौम दर्शन एवं सिद्धान्तप्रति आमजनमानसमा सचेतना जागृत गर्ने बेला आइसकेको छ। किनभने डा.हेनिमेनले विश्वलाई एउटा यस्तो चिकित्सा पद्धति दिएर गएका छन्, जसको हालसम्म कुनै विकल्प छैन। प्रेरणादायी व्यक्तित्वहरुका उपलब्धिहरु राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समस्याहरुको समाधान, विशिष्ट विचार एवं दर्शन तथा सिद्धान्तहरुप्रति जनचेतना विकसित गर्नको लागि अनेक प्रकारका विश्व दिवसको आयोजना बेला-बेलामा विभिन्न एनजिओ, आईएनजीओको माध्यमले गरिँदैछ। होमियोप्याथिका जन्मदाता डा. हेनिमेनको २६४ औं जन्मजयन्ती तथा विश्व होमियोप्याथिक दिवसको विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर मनाइँदैछ।

नेपालमा पनि यो दिवस मनाउन थालेको धैरै वर्ष भइसकेको छ। जीवनको अन्तिम क्षणमा पनि मानवसेवामा समर्पित डा.हेनिमेनको सन् १८४३ जुलाई २ मा ८९ वर्षको उमेरमा पेरिसमा निधन भयो। उनी बितेको धेरै वर्ष भइसक्यो तर उनले विकास गरेको उपचार पद्धति संसारभर पुगेको छ। यस आधारमा भविष्यमा डा.हेनिमेनले विकास गरेको होमियोप्याथी संसारकै सबैभन्दा प्रभावकारी उपचार पद्धतिका रुपमा स्थापित हुनेछ।
mishradr.lk@gmail.com

प्रकाशित : चैत्र २७, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्

हामी बिरामी किन हुन्छौँ?

डा. ललितकुमार मिश्र

काठमाडौँ — केही दिन अगाडिको कुरो हो, एउटा स्कुलको स्वास्थ्य कार्यक्रम सम्बन्धी गोष्ठी मा सहभागी हुन पुगेको थिएँ । स्वास्थ्य सम्बन्धी वक्तव्य दिने क्रममा एक जना कक्षा १० मा पढ्ने बालिकाले प्रश्न गरिन्,  डाक्टर साहब, हामी बिरामी किन हुन्छौ ?

कुरो त ठिकै हो, हवाई डू वी फल सिक ? राम्रै प्रश्न गरेकी थिइन ती बालिकाले । आज यही विषयवस्तुलाई लिएर कलम चलाउने प्रयास गर्दै छु । हामी सबै बेला बखत बाहिर जान्छौ र बाहिर खाना खान्छौ । साथी भाइहरूसँग भेटघाट गर्न जान्छौँ, भिन्न भनिनै ठाउँहरूमा सँगै घुम्न जान्छौँ । त्यहाँ पाइने विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरूको स्वाद लिन्छौँ । यसै क्रममा कसैलाई बाहिर खाना खाएपछि पेट खराब भइहाल्छ भने कसैलाई नयाँ ठाउँमा जाँदा त्यहाँको वातावरण मिल्दैन र बिरामी पर्छ ।

यहाँ प्रश्न यो आउँछ, किन यस्तो हुन्छ? हामी बिरामी हुनलाई दुई वटा आधारले काम गर्दछ । एउटा आफै भित्र छ र अर्को बाहिरी वातावरणमा आधारित छ । हामी भित्रकै कारण र बाहिरको कारण । यी दुवै कारणलाई गहिरिएर बिचार गर्‍यौ भने थाहा पाउने छौँ, यी दुई बिचको अन्तर सम्बन्ध । हामी किन बिरामी हुन्छौ ? हामी सबै बाहिर जान्छौ र बाहिर कुनै होटेल या रेस्टुरेन्टमा खाना खान्छौ । मलाई त मज्जा लाग्छ, फरक फरक चिजहरू ट्राई गर्नमा । मलाई लाग्छ, पक्कै पनि हरूलाई पनि राम्रो लाग्छ होला । बर्खाको याममा पानीमा रुझ्न पनि राम्रो लाग्छ । हामी सबै पानी परेको बेला कुनै न कुने रूपमा थोर बहुत भिजेकै हुन्छौँ । कोही त निथ्रुक्क पानीले भिजेका पनि हुन्छन्, त्यसमा पनि आफ्नै आनन्द छ ।

यसै गरी जाडोको याममा पनि हिउँ परेको हेर्न र हिउँमा खेल्न जान्छौँ, खेल्छौँ । राती ढिलोसँग पार्टीमा जाने पनि चलन हुन्छ । बिहे भोजमा जान्छौ, अन्य सामाजिक कार्यक्रमहरूमा पनि सहभागी हुन्छौँ । यस प्रकारले हामी भिन्न-भिन्न कार्यक्रमहरू पुग्छौँ, धेरै मानिसहरूसँग भेटघाट गर्‍छौं । हामी मध्ये केही यस्ता व्यक्तिहरू पनि छन् । जो अफिसको समय बाहेक पनि अफिसमा काम गरिरहन्छौँ । बिहान, दिउँसो र रातिको सिफ्टमा पनि काम गरिरहेका हुन्छौँ । हामी सबैको वरिपरि जीव – जन्तुहरूको पनि बास छ । हामी काठमाडौँमा बस्छौँ, यहाँको हावा यति स्वच्छ र सफा छ कि जीव-जन्तुहरूमा कुनै कम्पिटिसन नै छैन । प्रत्येकले भरपुर स्कोप भेट्छन्, जीव–जन्तुहरूसँग सम्पर्कमा पुग्नको लागि ।

हामी सबै यही वातावरणमा बस्छौँ, यही हावामा श्वास लिन्छौँ । त्यहीका पानी पिउँछौँ । हरेक चिज हामी सबैले गर्छौँ । तर त्यसै मध्ये कसैको पेट खराब भइहाल्छ । कसैलाई आँखा पाक्ने रोग लाग्छ । अर्कोलाई अरू नै केही थोकको गडबडी हुन्छ । यसरी नै बर्खामा पानीमा भिजेकाहरू, हिउँमा खेलकाहरु मध्ये कसै कसैलाई पोस्ट सिजनल बायरल ईन्फेक्सन हुन्छ । सबैलाई हुँदैन । यस्तो किन हुन्छ? हामी मध्ये कसैलाई हुन्छ कसैलाई हुँदैन । यो प्रश्न हाम्रो दिमागमा लगातार घुमिरहन्छ । अरूलाई केही भएन, मेरै पेट किन खराब भयो? मलाई नै किन भाईरल फिवर आयो ? यी सबै बाहिरका कारण हुन्, बाहिरको कारणले सबैलाई ईफेक्ट गरिरहेको छैन । हामी मध्ये केही सीमित व्यक्तिलाई मात्र प्रभावित बनाइरहेको छ ।

यस प्रश्नको उत्तरका लागि हामीले आफैभित्र हेर्नु पर्ने हुन्छ । के कारणले यो समस्या आइरहेको छ । ममा के कमी कमजोरी छ? जसले गर्दा मलाई मात्र समस्या भइरहेको छ । बाहिरको अवस्थालाई राम्रो बनाउनको लागी धेरै प्रयास गरिएको छ । अचेल होटेल तथा रेस्टुरेन्टहरू हाईजिनको स्तर बढाइएको छ । पानी पुरी बेच्नेले पनि हातमा ग्लोव लगाएर काम गर्छ । मेडिकल फेसिलिटी पनि राम्रो छ । रोगबाट बच्न भेक्सिनेसन गराउँछौ । भिन्न भिन्न प्रकारका खोपले रोगबाट बचाउन मद्दत गर्दछ । सुविधा सम्पन्न अस्पताल / नर्सिङ होमहरूमा राम्रो उपचार सेवा पाइन्छ । यस प्रकार अरू धेरै विकल्पहरू पनि छन् । यति हुँदाहुँदै पनि हामी किन बिरामी हुन्छौ? हामी कहाँ बिरामीको कमी त छैन । बिरामी आई नै रहेका छन् ।

कुन प्रकारका र कस्ता बिरामीहरू आइरहेका छन्? अचेल विशिष्ट प्रकारका बिरामीहरू बढिहरेका छन् । जस्तै, कसैलाई पोलन एलर्जी, कसलाई सन एलर्जी, गुलुटोन (गहुँ) को एलर्जी, डस्टएलर्जी, स्किन एलर्जी भइरहेको छ । सबैलाई त हुँदैन । मानौँ एलर्जी हुनु अचेल फेशन नै भइसकेको छ । धरै जसो केटाकेटीहरू या वयस्कहरूमा एलर्जी देखिइरहेको छ । यसको साथै धेरै मानिसहरूमा अटोईमिनो कम्पलेन बढिरहेको छ । अटोईम्युनोको मतलब तपाईँको शरीरले स्वयंमा समस्या उत्पन्न गराउनु हो । जस्तै, मलटिपल न्युरोसिस, रियुमेटाईड, ग्याष्ट्रि कम्पलेन, अर्थराईटिस, मेन्सुयल डिसर्डर, थाईरायड, पोलिस्टिकऔँभरी डिजिज्, डायबिटिज्, हार्टडिजिज्, मेन्टल डिसअर्डर आदि ।

यस्ता रोगहरू धेरै बढेका छन् । एलर्जन या एलर्जी भनिएपनि यो एक किसिमको रोग हो । यो केही सीमित मानिसहरूलाई मात्र हुन्छ । सबैलाई त हुँदैन, किन यस्तो हुन्छ? यसको लागि हामीले आफैलाई नियालेर भित्र हेर्नु पर्छ । यदि हामी हाम्रो शरीरलाई विभाजन गर्ने हो भने, यसमा दुई भाग पाउँछौँ । शरीरको एक भाग देखिन्छ भने अर्को हिस्सा देखिँदैन । जो देखिन्छ त्यो ( स्थूल) बढी र जो देखिँदैन, त्यो हो दिमाग वा मन हो । यसले नै आफ्नो ऊर्जा, आफू भित्रको क्षमता, इच्छा, भावनालाई उत्पादन गर्दछ र यसको प्रतिक्रिया स्थूल शरीरमा देखिन्छ । बह्माण्डलाई नै हेर्दा पनि त्यही हो । एउटा पदार्थ र अर्को ऊर्जा छ । पदार्थ छ, त्यसमा हामी सबै छौँ, घर छ, जमिन छ । अर्कोतिर ऊर्जा छ, जो हाम्रो वरिपरि घुमिरहेको छ । जसले हामीलाई शक्ति प्रदान गर्दछ । त्यसैले यो स्थूल शरीरलाई सञ्चालन/बचाइरहेको छ । यी दुवै पदार्थ र ऊर्जा एकआपसमा सम्बन्धित छन् । आपसी तालमेल राख्छन् र सन्तुलनमा बस्छन् । शक्ति र भौतिक पदार्थको आपसी सन्तुलनमा रहनु नै स्वास्थ्य रहनु हो । यी दुबैबीचको असुन्तलन नै अस्वस्थ को कारण हो । हामी मानसिक रूपले होस् या शारीरिकले बिरामी हुन्छौँ ।
अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : पुस २५, २०७५ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्