२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एचआईभी/एड्स : संक्रमित/प्रभावितहरूले अब आत्तिनुपर्दैन 

अतुल मिश्र

काठमाडौँ — केही वर्षअघिसम्म एचआईभी/एड्स हुनुलाई जीवनको अन्त्य मानिन्थ्यो । खुसीको कुरा, अचेल यस्तो पूर्णत: गलत रहेको पुष्टि भइसकेको छ ।

एचआईभी/एड्स : संक्रमित/प्रभावितहरूले अब आत्तिनुपर्दैन 

नियमित रूपमा चिकित्सकको सल्लाह, औषधि लगायतका प्रक्रियाद्वारा एचआईभी/एड्स नियन्त्रित गरेर सामान्य जीवन बाँच्न सकिन्छ अचेल ।


राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार, एचआईभी/एड्स भएर हाम्रो मुलुक सामान्य जीवन बाँचिरहेकाहरूको संख्या करिब १६ हजार छ । आफ्नै खर्चमा औषधिमुलो गर्न सक्ने केही सीमित व्यक्तिबाहेक सबैजसोले मुलुकका १ सय ७५ ठाउँबाट नि:शुल्क एन्ट्रिरेट्रोभाइरल थेरापीको सेवा लिइरहेका छन् ।


३३ अस्पतालमा सीडी फोर काउन्ट हुने गरेको छ । यो यस्तो परीक्षण हो, जसले रोगसँग लड्न सक्ने व्यक्तिविशेषको क्षमता देखाउँछ । हाम्रो मुलुकमा नियमित औषधि सेवन गरेर सामान्य जीवन बाँचिरहेका एचआईभी/एड्स भएकाहरूमा एचआईभीका कारण खासै दुर्बलता पाइएको छैन ।


‘गत वर्षका सूचकहरूलाइ विश्लेषण गर्दा पाँचसात एचआईभी/एड्सको उपचारमा धेरै सुधार भएको छ,’ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेल भन्छन्, ‘एड्स भएकाहरू नियमित औषधि सेवन गरेर उच्च रक्तचाप, मधुमेह, दुव्र्यसन आदिका दीर्घरोगीजस्तै सहज जीवनयापन गरिरहेका छन् ।’


सन् २००४ तिर सामान्य जनसंख्यामा प्रतिहजार ५ जना एचआईभी प्रभावित थिए । अहिले यो संख्या प्रतिहजार २ जनामा झरेको छ ।


एचआईभी/एड्स भए पनि नियमित औषधि सेवन गरिरहेपछि लम्बिने आयुबारे हाम्रो मुलुकमा पनि अध्ययन चलिरहेको छ । केन्द्रका सूचना अधिकारी वीरबहादुर रावलका अनुसार, सन् २००४ यताको तथ्यांकलाई विश्लेषण गरेर उक्त अध्ययन गरिराखिएको छ । हाम्रो मुलुकमा २००४ देखि नै एचआईभीको नि:शुल्क औषधि उपलब्ध हुन थालेको हो ।


‘यो अध्ययनको प्रारम्भिक परिणामअनुसार धेरैजसो औषधि सेवनकर्ता १० वर्षभन्दा बढी बाँचेका देखिन्छन्,’ रावलले भने ।


मुलुकमा अनुमानित ३१ हजार २० जना एचआईभी/एड्सका बिरामी छन् । यीमध्ये २१ हजार १ सय ४८ जनाको पहिचान भइसकेको छ । १० हजारजतिको स्थिति अझै स्पष्ट छैन । पहिचान भएका एचआईभी संक्रमित महिला १० हजार २ सय २१ छन् भने पुरुषको संख्या १० हजार ८ सय २७ छ । एचआईभी भएका तेस्रोलिंगीहरू १ सय ६ जना रहेको तथ्यांक छ ।


अझै मुलुकमा असुरक्षित यौनसम्पर्क नै एचआईभी/एडसको मुख्य कारक रहेको छ । मुलुकमा एचआईभी/एडस भएकाहरूमध्ये करिब ३३ प्रतिशत यौनकर्मीका ग्राहक छन् । यौनकर्मीबाट १० हजार ७ सय ८३ ग्राहकलाई एचआईभी सरेको तथ्यांकहरूमा उल्लेख छ ।


हाम्रो मुलुकमा बहुसंख्यक एचआईभी/एड्स संक्रमितहरू उत्पादनशील उमेरकै छन् । समग्रमध्ये ७२.३ प्रतिशत एचआईभी/एड्स संक्रमित २५–४९ वर्ष उमेर समूहका छन् ।


अचेल मुलुकभरि रहेका १ सय ७५ वटा एचआईभी परामर्श तथा परीक्षण केन्द्रले संक्रमित/प्रभावितहरूले नि:शुल्क सेवा दिने गरेका छन् । यति मात्र नभई, आमाबाट बालबालिकामा एचआईभीको संक्रमण रोक्ने कार्यक्रम (पीएमटीसीटी) समेत ७७ जिल्लामा सञ्चालित छ । यो कार्यक्रमका कारण एचआईभी संक्रमित महिलाको गर्भमा रहेको शिशुलाई त्यस्तो संक्रमणबाट बचाउन मद्दत मिलेको छ । रावलका अनुसार, हाल यस्ता केन्द्रवाट मुलुकभरि १ सय ९२ जनाले पीएमटीसीटी सेवा लिइरहेका छन् ।


डा. पोखरेलका अनुसार, एचआईभी/एड्स भएकाहरूले नियमित औषधि सेवन गरेर, पोषणयुक्त खानपान गरेर, व्यायाम गरेर, मदिरा/तमाखु लगायतबाट टाढै बसेर, बानीव्यहोरामा परिवर्तन गर्दै सकारात्मक जीवनशैली अपनाएर सामान्य जीवनयापन गर्न सक्छन् ।


के हो एचआईभी/एड्स ?

एक्वायर्ड इम्युनो डिफिसिएन्सी सिन्ड्रोम अर्थात् एड्स यस्तो रोग हो, जुन हयुमेन इम्युनोडिफिसिएन्सी भाइरस (एचआईभी) ले गर्दा फैलिन्छ । जुन व्यक्तिमा यो भाइरस हुन्छ, तिनलाई एचआईभी पोजेटिभ भन्ने गरिएको हो ।


एचआईभी पोजेटिभ हुनुलाई धेरैजसोले एड्स भएको ठान्ने गर्छन्, जुन सही होइन ।


यो भाइरसले कुनै पनि माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरेपछि हामीलाई रोग प्रतिरोधक क्षमता दिने रगतमा रहेको सेतो रक्त कणिकामा आक्रमण गर्न थाल्छ । विस्तारै यी कोषिकाहरू नष्ट भएपछि रोग प्रतिरोधक क्षमता कम हुन थाल्छ । परिणामस्वरूप थुप्रै संक्रमण हुन थाल्छ । एचआईभीको अन्तिम अवस्थालाई एड्स भनिन्छ ।


जसको शरीरमा कुनै पनि कारणले एचआईभी हुन्छ, त्यस्ता व्यक्तिलाई एचआईभी संक्रमित बिरामी भनिन्छ । एड्स बिरामीको त्यो स्थिति हो जहा व्यक्तिविशेषको रोगप्रतिरोधी प्रणाली पूर्ण रूपले बेकामे हुन्छ । अहिलेसम्म यो रोगबाट बच्ने एउटै मात्र उपाय भनेको सावधानी र सचेतता नै हो ।


मुखमैथुन गर्दा पनि एचआईभी

संक्रमित व्यक्तिसँग मुखमैथुन गर्दा पनि एचआईभी सर्न सक्छ । तर मुखमैथुन गर्दा एचआईभी सर्ने सम्भावना योनीमैथुन वा गुद्वारमैथुन गर्दाभन्दा कम हुन्छ ।


यसको अर्थ मुखमैथुन सुरक्षित हुन्छ भन्नेचाहिँ होइन । मुखमैथुन गर्दा व्यक्तिविशेष एचआईभीको सम्पर्कमा पर्ने सम्भावना त्यति साह्रो हुँदैन । मुखमा कुनै किसिमको घाउ भएको एचआईभी संक्रमित व्यक्तिले मुखमैथुन गर्दा भने अर्कोलाई सर्न सक्छ ।


एचआईभी हाम्रो शरीरमा त्यति खेर मात्र प्रवेश गर्छ जब कुनै न कुनै तरिकाले यो हाम्रो रगतमा मिसिन्छ । अर्थात् योनि वा लिंगको माध्यमले एचआईभी रगत वा र्‍यालमा मिल्दा रोग सर्ने जोखिम हुन्छ ।


एचआईभीका प्रकार

एचआईभीका दुई प्रकार हुन्छन्– १ र २ । एचआईभी १ विश्वभरि पाइन्छ र नेपालमा अधिकांश यसकै बिरामी छन् । तर एचआईभी २ मुख्य रूपमा अफ्रिकामा पाइन्छ । नेपालमा समेत केही व्यक्तिमा यसको संक्रमण देखिएको छ । केही व्यक्तिलाई दुवै भाइरसका कारणले संक्रमण हुन्छ । हुन त एचआईभी २ संक्रमण भएका व्यक्ति एचआईभी १ भएकाहरूको दाँजोमा बढी बाँच्ने गर्छन् । एचआईभी २ आमाबाट बालबालिकामा सर्ने सम्भावना खासै हुँदैन ।


अपवाद

हुन त र्‍याल, पिसाब र आँसुमा पनि, निकै कम, एचआईभी पाइएको छ तर यी द्रव्यले एचआईभी फैलाएको प्रमाण अहिलेसम्म पाइएको छैन ।


उपचार

यसको कुनै खास उपचार छैन तर पनि नियमित औषधि सेवन गरेर, एचआईभी पोजेटिभ हुँदादेखि एडस हुनेसम्मको बीचको अवधिलाई लम्ब्याउन सकिन्छ । प्रभावित व्यक्तिहरूलाई लामो समयसम्म एन्टिरेट्रोभाइरल औषधि दिएर दीर्घजीवन दिने प्रयास गरिन्छ ।

[email protected]


कसरी फैलिन्छ ?

  • संक्रमित सुई साझा गर्नाले
  • संक्रमित रगत र रगत उत्पादन उपयोग गर्नाले
  • संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गर्नाले
  • एचआईभी संक्रमित सुत्केरीबाट स्तनपान गराउनाले
  • संक्रमित व्यक्तिको रगत वा शरीरको द्रव्य अर्का व्यक्तिको शरीरमा प्रवेश गर्नाले
  • सैलुनमा संक्रमित व्यक्तिमा उपयोग गरिएको ब्लेडलगायतको धारिला औजारले पुन: अन्य व्यक्तिमा प्रयोग गर्नाले


यसरी फैलिँदैन एचआईभी/एड्स

  • हात मिलाउनाले
  • अँगालो मार्नाले
  • सँगै खानाले
  • सँगै उठबस गर्नाले
  • लामखुट्टेले टोक्नाले
  • एउटै शौचालय उपयोग गर्नाले
  • एउटै गिलासमा पानी खानाले


औषधि खाँदाका फाइदा

  • शरीरमा भाइरसको मात्रा कम हुन्छ
  • विभिन्न संक्रमणबाट जोगिइन्छ
  • अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन
  • उमेर बढ्दै जान्छ
  • कमजोरी अनुभव हुन पाउँदैन
  • आत्मविश्वासमा वृद्धि हुँदै जान्छ

यस्तो लक्षण देखिए एचआईभी परीक्षण गराउनुस्

  • एक महिनाभन्दा बढी ज्वरो आइरहे
  • निरन्तर सुक्खा खोकी लागिरहे
  • कुनै कारणबिना निरन्तर पखाला लागिरहे
  • मुखमा सेतो दाग देखिए
  • शारीरिक तौल चाँचाँडो कम हुँदै गए
  • बिनाकारण खाली थकाइ मात्रै लागिरहे

प्रकाशित : मंसिर १५, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?