कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जथाभावी एन्टिबायोटिक

‘पहिले औषधि नपाएर ज्यान गुमाउँथे, अहिले जथाभावी औषधिले अकालमा मरिरहेका छन्’
फातिमा बानु

काठमाडौँ — एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग र बिक्री दिनप्रतिदिन बढ्दै गएको छ । एन्टिबायोटिक नियन्त्रणका लागि सरकारले ठोस नीति निर्माण गर्न सकेको छैन । 

जथाभावी एन्टिबायोटिक

एन्टिबायोटिक ‘ख’ वर्गको औषधिमा पर्छ । यस वर्गको औषधि चिकित्सकको सल्लाहबिना बेच्नै नहुने नियम भए पनि खुला बिक्री भइरहेको छ । चिकित्सकको पुर्जीबिनै औषधि बेच्ने र किन्ने अभ्यासले एन्टिबायोटिकको जथाभावी प्रयोग बढिरहेको छ ।


नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा चिकित्सकको स्पष्ट प्रेस्क्रिप्सनबिना विक्रेताले कुनै पनि औषधि बिक्रीवितरण गर्न नहुने उल्लेख छ । व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । अनुगमन र निरीक्षण हुन नसक्दा जथाभावी औषधि बेच्ने क्रम रोकिएको छैन ।


पशु, तरकारी र फलफूलमा समेत एन्टिबायोटिकको अत्यधिक प्रयोग बढेकाले अप्रत्यक्ष रूपमा उपभोक्तासमेत यसको मारमा छन् । मानव स्वास्थ्य, पशु, रूखबिरुवा र वातावरण सबैको एन्टिबायोटिकसँग प्रत्यक्ष सम्बन्ध छ । सबैमा यसको असर परिरहेको छ ।


शरीरमा विभिन्न किसिमका हानिकारक कीटाणु (ब्याक्टेरिया) का कारण हुने संक्रमण रोक्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ । सामान्य घाउ र रुघाखोकी जस्ता समस्यामा यसको प्रयोग गर्ने गलत प्रवृत्ति बढिरहेको छ । शरीरमा एन्टिबायोटिक मात्रा बढेमा यसले काम गर्न छाडिदिन्छ, औषधि प्रभावहीन भएपछि बिरामी मृत्युको मुखसम्म पनि पुग्न सक्ने चिकित्सक बताउँछन् ।


शल्यक्रिया गरेका बिरामीलाई हुने संक्रमण रोक्न पनि एन्टिबायोटिकको प्रयोग हुन्छ । एन्टिबायोटिकले काम गर्न छोडेमा हरेक शल्यक्रिया गर्दा मृत्युदर बढ्ने चिकित्सक बताउँछन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फर्माकोलोजी विभागका सहप्राध्यापक डा.सतिश देव भन्छन्, ‘एन्टिबायोटिक धेरै प्रयोग गर्दा केही समयपछि यसले शरीरमा सकारात्मक असर गर्न छोड्छ, नकारात्मक असर मात्रै गर्छ, जसले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको ह्रास गरिदिन्छ ।’


एन्टिबायोटिक असरबारे विद्यालयदेखिकै पाठ्यक्रममा समावेश गर्नुपर्ने उनी बताउँछन् । एन्टिबायोटिकको दुरुपयोगबारे जनचेतना नहुँदा औषधि सेवनमा लापरबाही बढ्दै गएको उनले बताए । उनले थपे, ‘मौसमी रुघाखोकीको औषधि डाक्टरको सल्लाहबिना आफैं किनेर खाने चलन छ, भाइरसको आक्रमणका कारण हुने मौसमी रुघाखोकी एन्टिबायोटिक प्रयोग नगरे पनि हुन्छ, आफैं निको भएर जान्छ ।’ दीर्घरोगी, बालबालिका, गर्भवती र वृद्धवृद्धाबाहेक अन्यले भाइरस संक्रमणको समयमा औषधि खानै नपर्ने उनले बताए ।


एन्टिबायोटिकको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा भयावह स्थिति ल्याइरहेको नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीका अध्यक्ष डा.ढुन्डीराज पौडेल बताउँछन् । उनी भन्छन्, ‘पहिले औषधि नपाएर मान्छेले ज्यान गुमाउँथे, अहिले जथाभावी औषधि सेवनका कारण मान्छे अकालमा मरिरहेका छन् ।’


जथाभावी औषधि बेचबिखनमा राज्यले अनुगमन गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको उनले बताए । उनले थपे, ‘केही जोखिम वर्गबाहेक भाइरसको आक्रमण हुँदैमा औषधि खाइहाल्नुपर्दैन, निजी अस्पतालमा डाक्टरले नै जथाभावी एन्टिबायोटिक चलाउँछन् ।’ कुपोषण, एचआईभी संक्रमित र दीर्घरोगी जस्तो जटिल अवस्थामा मात्रै यस्ता औषधि खानुपर्ने उनले बताए ।


एन्टिबायोटिकको दुरुपयोग अहिले विश्वव्यापी समस्या बन्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार एन्टिबायोटिक औषधिको गलत प्रयोग गरेकै कारण विश्वमा हरेक ४५ सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेका छन् । तथ्यांकअनुसार सन् २००० देखि २०१० सम्ममा विश्वव्यापी रूपमै एन्टिबायोटिकको प्रयोग ३० प्रतिशतले बढेको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?