कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२९ प्रतिशत मधुमेह रोगीलाई डिप्रेसन

कान्तिपुर संवाददाता

ललितपुर — जिल्लाका विभिन्न अस्पतालले बुधबार विश्व मधुमेह दिवसको अवसरमा मधुमेहसम्बन्धी जनचेतनामूलक र्‍याली गरे । स्वास्थ्य जीवनयापनमा अभिप्रेरित गर्न यस वर्षको नारा ‘परिवार र मधुमेह’ छ ।

मधुमेह सरुवा रोग होइन । यसलाई पारिवारिक रोगभन्दा फरक नपर्ने चिकित्सक बताउँछन् । मधुमेह एक सदस्यलाई भएमा परिवारलाई असर गर्छ । डाक्टर अंशुमाली जोशी भन्छन्, ‘परिवारको सम्पूर्ण सदस्यको जीवनशैली, खानपिन, एकआपसको सम्बन्ध, आर्थिक तथा मानसिक पक्षदेखि लिएर यावत् कुरामा प्रत्यक्ष असर देखिन्छ ।’ समयमै सतर्कता अपनाउनुपर्ने जोशीको भनाइ छ ।


उनका अनुसार परिवारका एकजनालाई मधुमेह भएमा अन्य सदस्यलाई सर्ने सम्भावना ५० प्रतिशत रहन्छ । ‘त्यसै प्रकार मधुमेहलाई वंशाणुगत रोग मानिन्छ,’ उनले भने । मुलुकमा मधुमेहका बिरामीमध्ये २९ प्रतिशतलाई डिप्रेसन देखिएको छ । डिप्रेसनले मधुमेह हुनेलाई नकारात्मक असर पार्न सक्छ ।

यो हुन नदिन परिवारको ठूलो भूमिका हुने डाक्टरहरू बताउँछन् ।


मधुमेहका बिरामीले रातो मासु, चिनी, मैदाबाट बन्ने चिज, ग्लुकोजजन्य र चिल्लोयुक्त जस्ता क्यालोरी बढी भएका खानेकुरामा कमी ल्याउनुपर्छ । सागसब्जी, सलाद, फलफूल जस्ता रेसादार खानेकुराको मात्रा बढाउनुपर्ने डाक्टर जोशी भन्छन्, ‘मधुमेह लागेकाले नियमित व्यायाम गरेर तौललाई नियन्त्रण गर्न जरुरी छ । नियमित सुगरको जाँच र डाक्टरसँग चेकजाँच गराउनुपर्छ ।’


अहिले विश्वमा ४२ करोडभन्दा बढी मधुमेहका बिरामी छन् । आउँदो २५ वर्षमा यो संख्या बढेर ६२ करोड पुग्ने आकलन गरिएको छ । विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय डाइबेटिज फेडेरेसनलगायत स्वास्थ्यसँग सम्बन्धित क्षेत्र मधुमेहको संख्या घटाउन ध्यान केन्द्रित छ ।


मधुमेह लाग्नबाट बच्न सकिने हुनाले यो कुराको चेतना सबैतिर फैलाउन जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘मधुमेहको दीर्घकालीन उपचार महँगो छ । मधुमेह लाग्यो भन्दैमा काम नगरी घरमै बस्ने गर्नुहुँदैन । समयमै खाने र मिलाएर खाने एवं नियमित व्यायाम गर्नुपर्दछ ।’ मधुमेहका बिरामीको शरीरमा पसिना आउने, भोक लाग्ने, हात र जिउ काम्ने, ढुकढुकी बढ्ने र कहिलेकाहीं बेहोस भएर अचेत हुन पनि सक्छ ।


यी लक्षण देखापरेमा तुरुन्तै गुल्कोज पानी वा गुलियो पदार्थ दिइहाल्नुपर्ने उनको भनाइ छ । र्‍याली अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर, लाइन्स क्लब अफ काठमाडौं, अल्का डिस्ट्रिक एटु ३२५, लियो क्लब अफ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेका थिए ।

प्रकाशित : कार्तिक २९, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?