जाडोमा देखा पर्ने स्वास्थ्य समस्या र रोकथामका उपायहरु 

डा. ललित कुमार मिश्र

काठमाडौँ — बदलिदो मौसमले आफुसंगै धेरै रोगहरु पनि साथै लिएर आउछ । तर, धन्दा मान्नु पर्दैन । केहि साबधानी अपनाईयो भने जाडोयामकाका कारण हुने धेरै रोगबाट आफुलाई बचाउन सकिन्छ ।

ZenTravel


जाडोयाममा धेरै जसो देखिने स्वास्थ्य समस्याहरुमा यस प्रकार छन् :
रुघाखोकी र ज्वरो : यो समस्या ऋतु परिवर्तनको बेला प्रय जसोमा देखिन्छ। शरीरको प्रतिरोधक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यस्ता मौसमी रोगले भेट्छ। संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सरसफाईमा बिषेश ध्यान दिनु पर्ने हुन्छ। बराबर साबुन पानीले हातधुनु पर्छ। यो भाइरल ईनफेकस्न हो। यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टी एलर्जिक होमियोपैथिक औषधि लक्षणअनुसार दिईन्छ। यसको अलावा वाफ लिने, नुन पानीले कुल्ला गर्नले पनि लाभदायक हुन्छ। संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढि मात्रामा प्रयोग गर्नुपर्छ। चिसो पानी पिउनु हुँदैन। तुरन्त गर्मबाट चिसोमा, चिसोबाट गर्मीमा जानु हुँदैन। बाईक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ। कोल्ड ड्रिक्स, आईसक्रिम खानु हुँदैन। यस मौसममा केटा-केटी, बुढापाकाहरुको बिशेष ख्याल राख्नु पर्दछ।

टाँन्सिलाइटिस् : केटा-केटीहरुमा यो समस्या आमरुपमा देखिन्छ। यो बेक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ। यो समस्या भएमा गलामा दर्द हुनु, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ। यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नु हुँदैन।

आस्थामा : दम एक किसिमको एलर्जिक रोग हो। दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ। रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जिएटेक हुने संभावना बढि हुन्छ। अत: दमका रोगीहरुले एलर्जिक तत्व तथा चिसो हावाबाट बच्ने। धुलो, माटो, धुवाँ र बायु प्रदुषणबाट बच्न एकदमै जरुरी हुन्छ। दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु आफ्नो साथै राख्ने। चिकित्सकको सल्लाह बमोजिम लिई राख्ने। आफुखुशी औषधि बीचमा छोड्नु हुदैन।

जोर्नीको दुखाई : उमेर खाई सकेका बुढा बुढीहरुमा बदलिंदो मौसममा हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या बढि देखिन्छ। चिसो बढेको बेला ज्वाईन्ट पेन जसलाई पनि हुन सक्छ। तर बुढ बुढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढि प्रभावित गर्दछ। अर्थराईटिस्, सानो जोर्नीहरुमा दर्द, घुँडाको दर्द बडो असहनीय हुन्छ। यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने। जोर्नीहरुमा तातो सेकाईको लागि पट्टी या हट ब्यागको प्रयोग गर्ने। सामान्य हल्का किसिमको ब्यायाम नियमित रुपले गर्ने। होमियोपेथिक औषधिको साथ-साथै योग तथा फिजियोथिरापीले पनि जोर्नीको दुखाईबाट आराम मिल्दछ। साथै नियमित रुपबाट औषधिको सेवन गरिराख्ने तथा आफ्नो चिकित्सकसँग बेला बेलामा सम्पर्क गरी स्वास्थ्य परिक्षण गराई रहने।

मच्छरबाट फेलिने रोग : यस मौसममा मच्छरको टोकाईबाट हुने रोगहरु जस्तै, डेंगु, मलेरिया, चिकनगुनिया आदिका रोगीहरु पनि देखिन्छन्। यदि शुरुमै यो रोग पता लाग्यो भने बेलैमा उपचार गरेर नियन्त्रण गर्न सकिन्छ। डेंगु वा चिकिनगुनिया वाइरसबाट हुने यो रोगमा ज्वरो आउनुको साथै ज्वाइन्टस् पेन, मांशपेशिहरु दुख्ने, शरीरमा रातो–रातो डाबर देखिन सक्छ। यसको अलावा पेट खराब हुनु, कमजोरी महशुस हुनु, रिंगटा लाग्नु, वान्ता हुनु, पातलो दिशा हुनु यसका लक्षणहरु हुन्। मलेरिया ज्वरो साँझ पख या रातितिर बढ्ने हुन्छ। यस रोगमा ज्वरोको साथै काम्ने जाडो पनि हुन्छ।

यस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श गरी उपचार गराउने। रोगलाई बढ्न नदिने बेलामै उपचार गराउने, बच्नका लागि घरको वरिपरि पानी जम्न नदिने, लामखुट्टे मार्ने औषधिको प्रयोग गर्ने, पुरा बाहुला भएको लुगा लगाउने तथा मच्छरदानीको प्रयोग गर्ने गर्नु पर्दछ। यसका साथै मच्छर भगाउने क्वाइल या गुडनाईट बाल्ने, बदलिंदो मौसममा हुने रोगबाट बच्नका लागि सर-सफाइका साथै खान-पान तथा पानीमा बिषेश ध्यान दिने। झोलीय पदार्थ जस्तै, दालको सुप, ग्रिन टी, तुल्सी चिया, अदुबा हालेको चिया, लेमन टी, हट लेमेन आदि सेवन गर्नु लाभदायक हुन्छ। यि रोगहरुको अलावा जाडो याममा बातावरणको चिसोपन र चिसो हावाले छालालाई प्रत्यक्ष रुपमा असर गर्दछ र छाला सम्बन्धी पनि समस्याहरु देखिन्छन्, जस्तै, चाया पर्ने। यसको निधानका लागि बिभिन्न औषधीयुक्त स्याम्पु उपलब्ध छन्। अवस्था अनुसार औषधियुक्त स्याम्पु प्रयोग गर्न सकिन्छ। यसैगरी चिसोमा रक्त सञ्चारको प्रवाह कम हुनाले छाला खुम्चिन्छ र च्याउरी परेको सुख्खा र फुटेको जस्तो देखिन्छ। जस्तै, हात खुट्टा फुट्ने। सामान्य हात खुट्टालाई साबुन पानीले धोएपछि औषधियुक्त क्रिमहरु प्रयोग गर्नु पर्दछ। जस्तै, भ्यासेलिन, एलोबेरा आदि। सुतिको मौजा लगाउनु उपयुक्त हुन्छ। भुई वा सिमेन्टमा नाङ्गै खुट्टाले हिडनु हुदैन।

ओठ फुट्ने : जाडोमा ओठ बढि फुट्नुको कारण जिब्रोले ओठलाई ओसिलो बनाउन खोज्नले पनि हो। यसको लागि बानी नै सुधार्नु आवश्यक हुन्छ। ओठको लागि एलोभेरायुक्त मलहम तथा लिपगार्डहरुको प्रयोग गर्न सकिन्छ। जाडो महिनामा साबुनको प्रयोग गर्दा म्वाईस्चराईजिङ साबुनहरु। जस्तै, डोभ, पियर आदिको प्रयोग गर्नुपर्छ। यस्ता साबुनले छालालाई मुलायम राख्न मद्दत गर्दछ। पानी प्रशस्त खानु पर्छ। हरियो सागपात, सिजनल फलफुल, आईरन र जिकंयुक्त खाने कुराहरु जस्तै, केरा, माछा, मासुको सेवनले छालालाई स्वास्थ राखि म्वास्चर र पानी कम हुन दिंदैन र छालालाई सुख्खापनबाट बचाउँछ।

यस मौसममा देखिने स्वास्थ्य समस्याहरुमा रोगी तथा रोगको अवस्था अनुसार प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् :
१) रुघाँखोकी र ज्वरोमा लक्षण अनुसार प्रयोग हुने : एकोनाइट, रसटक्स, ब्रायोनिया, डल्कामारा, फेरम फाँस, जल्समियम आदि।
२) टान्सिलाईटिसमा प्रयोग हुने : बेलाडोना, बराईटाकार्ब, फाईटोलेक्का आदि।
३) जोर्नीको दुखाइमा प्रयोग हुने : एकोनाईट, रसटक्स, ब्रायोनिया, कस्टिकम आदि।
४) आस्थमामा प्रयोग हुने : एकोनाई, आर्सेनिक, पल्साटिला, नेट्रम सल्फ आदि।
५) कपालमा चाया पर्दा प्रयोग हुने : कल्केरिया सल्फ र थुजा।
६) ओठ तथा हातखुट्टा फुटेमा प्रयोग हुने : पेट्रोलियम, ब्रयोनिया, नेट्रम–म्युर, सल्फर आदि।

औषधिहरुहरु नजिकको चिकित्सको सल्लाहमा प्रयोग गर्नु राम्रो हुन्छ।
Mishradr.lk@gmail.com

प्रकाशित : कार्तिक १५, २०७५ १६:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दशैंको बेला फुड पोईजनिङको संभावना र बच्ने उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — दशै-तिहार नेपालीहरुको महान् चाड हो । सबैले यो पर्व आ-आफ्नो गच्छेनुसार हर्षोल्लासका साथ मनाउने गर्दछन् । दशैं-तिहारमा मिठोमसिनो स्वादिलो परिकार खाइन्छ । 

अधिकांशलाई खानपिन गर्न, रमाईलो गर्नुका साथै साथीभाई र आफ्न्तलाई भेटन भ्याइ-नभ्याइ हुन्छ। केटा-केटीहरु नयाँ लुगा लगाउने, पिङखेल्ने, चंगा उडाउँने गर्छन्।

यस चाडपर्वमा प्रायले माछा, मासु तथा मासुका विभिन्न परिकारलाई बढी प्राथमिकता दिन्छन्। दशैँमा मासु खाएन भने दशैँ आएको जस्तो लाग्दैन। दशैँको बेलामा बोका, खसी, राँगो, भैसी, कुखुरा, हाँस, परेवा, खरायो, भेडा, च्याड्ग्रा आदिको मासु खाने चलन छ।

कतिपयले दशैंका लागि ३/४ महिना अगाडिदेखि नै खसी, बोका, सुगुँर, बंगुर आदि पालेर राखेका हुन्छन्। मिठो र स्वादिलो खानेकुराले दशैँलाई रमाईलो त बनाउँछ तर खानपिनको सन्तुलन र सरसफाइमा विशेष ध्यान दिन सकिएन भने बिरामी हुने सम्भावना हुन्छ। दीर्घरोगी (ब्लडप्रेसर, डायबिटिज्, दम, युरिक एसिड) भएका व्यक्तिहरुलाई सिकिस्त बनाउने समय चाडपर्व बन्न सक्छ।

चाडपर्वका लागि भनेर ल्याईएको माछा, मासु, मिठाई, दुग्धजन्य पदार्थलगायतका परिकार बनाएर लामो समयसम्म राखिन्छ। आफन्तकोमा जाँदा वा आफन्त आउँदा कोशेलीको रुपमा मिठाई, फलफूलहरु हुन्छन्। दशैं मान्न आएका पाहुनाहरुलाई केहि दिन अघिबाट सञ्चित गरेर राखिएको माछा, मासु एवं अन्य परिकारहरु ख्वाएर स्वागत गर्ने गरिन्छ।
उचित तापक्रममा खानेकुरालाई व्यवस्थित ढंगले राख्न नसक्दा बेक्टेरियाहरु उत्पन्न हुन्छन्। बेक्टेरिया भएको यस्ता खानाकुराले फुड पोइजन हुने गर्दछ।

यसै प्रकार स्वच्छ खानेपानी भान्छा कोठाको सरसफाइको कमीका कारण पनि खानेकुरा संक्रमित भई मानिसहरु विभिन्न रोगको शिकार हुने गरेका छन्। विशेष गरी बुढा-पाका, केटाकेटीहरु तथा दीर्घरोगीहरुमा फुड पोइजन हुने सम्भावना बढी हुन्छ। उनीहरुमा रोगसँग लड्ने क्षमता एउटा स्वस्थ व्यक्तिको दाँजोमा धैरै कमजोर हुन्छन्।
फुडपोईजनबाट कतिपय उपचार नपाएर मृत्यु हुने गर्दछन् भने कसै-कसैको उपचारको क्रममा पनि मृत्यु हुन्छ।

फुड पोइजन विभिन्न कारणबाट हुने गर्छ। राम्रोसँग नपाकेको काँचो खाना, बासी खानामा पाइने ई-कोलाइ, स्टेफाइलोकोकसलगायतका बेक्टेरियाहरु हुन्छन्। जसका कारण खाना दूषित हुन्छ। सरसफाइ नगरेको भान्छा कोठा र भाडाकुँडामा बनाइएको खाना पनि फुड पोईजनिङ्को अर्को कारण बन्दछ।

यस्ता खाना खानाले मानिसहरुमा विभिन्न लक्षणाहरु देखा पर्दछ। खानेकुरा र पानीको माध्यमबाट शरीरमा बेक्टेरिया प्रवेश गर्छ। छिटो प्रजनन् हुने भएकाले शरीरमा प्रवेश गरेको ३० मिनेट देखि ४८ घन्टामा शरीरले प्रतिक्रिया देखाउन सुरु गर्दछ। यो नै रोगको पहिलो लक्षण हो। जिवाणु अनुसारको मानिसले लक्षण देखाउन थाल्दछ। जस्तो की भिव्रोकोलेरा जिवाणूका कारण पातलो दिशा र वान्ता हुने गर्दछ। सिगेलाका कारण दिशाबाट रगत जान्छ। अमिबाका कारण चिप्लो दिशा (आउँ) जाने जस्ता समस्याहरु देखा पर्दछ।

वाक-वाकी लाग्ने, वान्ता हुने, झाडापखाला लाग्ने, उधो-उभो (मुखपेट) एकैपटक चल्ने, रिगँटा लाग्ने, दिशामा रगत आउँ देखा पर्ने, ज्वरो आईरहने, टाउको दुख्ने, पेटमा ऐठन हुने, मुटुको धडकन अस्भाविक रुपले बढने, शरीर झमझमाउने, ओठ-मुख सुक्ने जस्ता लक्षणहरु विरामीमा देखा पर्छ।

खानाको सुरक्षा र सरसफाइलाई ध्यान दिन सकेमा फुड पोईजनबाट पूर्णरुपमा बच्न र बचाउन सकिन्छ। काँचो माछा, मासु, राम्ररी नपाकेको खाने कुरा पकाएर फ्रिजबाहिर लामो समयसम्म राख्ने गरिएका खानेकुराको सेवनले फुड फोईजन हुने गर्दछ। सबै ठाउँमा फ्रिज, डि-फ्रिज हुदैन, उचित तापक्रम मिलाएर राख्ने सुविधा नहुने भएकाले त्यस्ता खाने कुराले – झाडा-बान्ता, गेष्ट्राईटिसका साथै पाचनप्रणालीमा विभिन्न समस्याहरु देखापर्ने गर्दछन्। त्यसकारण चाडबाडका लागि भनेर ल्याईएका खाने कुराहरुलाई पकाएर सकेसम्म लामो समय बाहिर नराखे यसबाट बच्न सकिन्छ। यदि राख्नु पर्ने भएमा फ्रिज वा डी-फ्रिजमा राख्नु पर्छ। सरसफाईमा ध्यान दिने हो भने दूषित खानाबाट हुने फुड पोईजनबाट बच्न सकिन्छ।

उपचार
झाडा र बान्ता हुनु भनेको शरीरले विषाक्त खाद्य पदार्थलाई बाहिर फ्यालेको हो। शरीरले आफ्नो डिफेन्सका लागि गर्ने एक स्वभाविक प्रक्रिया हो। जुन शरीरका लागि हितकर नै हुन्छ। सबै खाद्य पदार्थमा फुड पोईजनको असर एकनासको हुँदैन।

त्यसै गरी फुड पोईजनको असर पनि सबै बिरामीमा एकनास देखिदैन। खाद्य-विषाक्त रोगबाट पीडित व्यक्ति पिच्छे लक्षण पनि फरक–फरक हुन्छ। सबै मानिसको पाचन शक्ति एक नासको हुँदैन। राम्रो पाचन शक्ति भएकाले पचाउन सक्छ भने नहुने बिरामी हुन्छन्। त्यही भएर फूड पोईजनका सबै बिरामी सिकिस्त हुँदैनन्। सामान्यतया जीवन जलजस्ता झोलीय पदार्थको सेवन गरी घरमै आराम गरी बसेमा तीन दिन मै निको हुन्छ।

गम्भीर प्रकृतिको बिरामी छन् भने तुरन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।

फुड पोईजनका लागि रोगीको शारिरिक एवं मानसिक लक्षणहरुको साथै रोगीले सेवन गरेको खाद्य पदार्थको आधारमा प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्नप्रकार छन्:

(१) आर्सेनिक एल्ब ३ – सडे-गलेको माछा, मासु वा दूषित पानी खाएर फुड पोईजन भएको हो भने यसको प्रयोग लाभदायक हुन्छ।

(२) लाइकोपोडियम२०० – समुन्द्री माछा सेलफिस खास गरि ओएस्टरको मासु खाएर फुड पोईजनको लक्षण देखिएको हो भने उक्त खाद्य पदार्थको नकारात्मक प्रभावलाई यो औषधिले हटाउँछ।

(३) पल्साटीला३० – खासगरी आईसक्रिम, केक, तथा चिल्लोका साथै सडेको माछा, मासू खानाले पेट गडबड भएको हो भने यस औषधिको प्रयोग हितकार हुन्छ। यसका अलावा पनि लक्षण अनुसार नक्सवोमिका, एलिएमसिपा, चाईना, कार्बो भेज, नेट्रम फोस, मेगफास, नेटर्मसल्फ, कालिसल्फ आदि औषधिहरु फुडपोईजनमा दिन सकिन्छ।

उपरोक्त औषधिहरु आफ्नो नजिकको योग्य तथा अनुभवी चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्दा उपयुक्त हुन्छ।

mishradr.lk@gmail.com

प्रकाशित : आश्विन २३, २०७५ १६:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×