कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दशैंको बेला फुड पोईजनिङको संभावना र बच्ने उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — दशै-तिहार नेपालीहरुको महान् चाड हो । सबैले यो पर्व आ-आफ्नो गच्छेनुसार हर्षोल्लासका साथ मनाउने गर्दछन् । दशैं-तिहारमा मिठोमसिनो स्वादिलो परिकार खाइन्छ । 

दशैंको बेला फुड पोईजनिङको संभावना र बच्ने उपायहरु

अधिकांशलाई खानपिन गर्न, रमाईलो गर्नुका साथै साथीभाई र आफ्न्तलाई भेटन भ्याइ-नभ्याइ हुन्छ । केटा-केटीहरु नयाँ लुगा लगाउने, पिङखेल्ने, चंगा उडाउँने गर्छन् ।


यस चाडपर्वमा प्रायले माछा, मासु तथा मासुका विभिन्न परिकारलाई बढी प्राथमिकता दिन्छन् । दशैँमा मासु खाएन भने दशैँ आएको जस्तो लाग्दैन । दशैँको बेलामा बोका, खसी, राँगो, भैसी, कुखुरा, हाँस, परेवा, खरायो, भेडा, च्याड्ग्रा आदिको मासु खाने चलन छ ।


कतिपयले दशैंका लागि ३/४ महिना अगाडिदेखि नै खसी, बोका, सुगुँर, बंगुर आदि पालेर राखेका हुन्छन् । मिठो र स्वादिलो खानेकुराले दशैँलाई रमाईलो त बनाउँछ तर खानपिनको सन्तुलन र सरसफाइमा विशेष ध्यान दिन सकिएन भने बिरामी हुने सम्भावना हुन्छ । दीर्घरोगी (ब्लडप्रेसर, डायबिटिज्, दम, युरिक एसिड) भएका व्यक्तिहरुलाई सिकिस्त बनाउने समय चाडपर्व बन्न सक्छ ।


चाडपर्वका लागि भनेर ल्याईएको माछा, मासु, मिठाई, दुग्धजन्य पदार्थलगायतका परिकार बनाएर लामो समयसम्म राखिन्छ । आफन्तकोमा जाँदा वा आफन्त आउँदा कोशेलीको रुपमा मिठाई, फलफूलहरु हुन्छन् । दशैं मान्न आएका पाहुनाहरुलाई केहि दिन अघिबाट सञ्चित गरेर राखिएको माछा, मासु एवं अन्य परिकारहरु ख्वाएर स्वागत गर्ने गरिन्छ ।

उचित तापक्रममा खानेकुरालाई व्यवस्थित ढंगले राख्न नसक्दा बेक्टेरियाहरु उत्पन्न हुन्छन् । बेक्टेरिया भएको यस्ता खानाकुराले फुड पोइजन हुने गर्दछ ।


यसै प्रकार स्वच्छ खानेपानी भान्छा कोठाको सरसफाइको कमीका कारण पनि खानेकुरा संक्रमित भई मानिसहरु विभिन्न रोगको शिकार हुने गरेका छन् । विशेष गरी बुढा-पाका, केटाकेटीहरु तथा दीर्घरोगीहरुमा फुड पोइजन हुने सम्भावना बढी हुन्छ । उनीहरुमा रोगसँग लड्ने क्षमता एउटा स्वस्थ व्यक्तिको दाँजोमा धैरै कमजोर हुन्छन् ।

फुडपोईजनबाट कतिपय उपचार नपाएर मृत्यु हुने गर्दछन् भने कसै-कसैको उपचारको क्रममा पनि मृत्यु हुन्छ ।


फुड पोइजन विभिन्न कारणबाट हुने गर्छ । राम्रोसँग नपाकेको काँचो खाना, बासी खानामा पाइने ई-कोलाइ, स्टेफाइलोकोकसलगायतका बेक्टेरियाहरु हुन्छन् । जसका कारण खाना दूषित हुन्छ । सरसफाइ नगरेको भान्छा कोठा र भाडाकुँडामा बनाइएको खाना पनि फुड पोईजनिङ्को अर्को कारण बन्दछ ।


यस्ता खाना खानाले मानिसहरुमा विभिन्न लक्षणाहरु देखा पर्दछ । खानेकुरा र पानीको माध्यमबाट शरीरमा बेक्टेरिया प्रवेश गर्छ । छिटो प्रजनन् हुने भएकाले शरीरमा प्रवेश गरेको ३० मिनेट देखि ४८ घन्टामा शरीरले प्रतिक्रिया देखाउन सुरु गर्दछ । यो नै रोगको पहिलो लक्षण हो । जिवाणु अनुसारको मानिसले लक्षण देखाउन थाल्दछ । जस्तो की भिव्रोकोलेरा जिवाणूका कारण पातलो दिशा र वान्ता हुने गर्दछ । सिगेलाका कारण दिशाबाट रगत जान्छ । अमिबाका कारण चिप्लो दिशा (आउँ) जाने जस्ता समस्याहरु देखा पर्दछ ।


वाक-वाकी लाग्ने, वान्ता हुने, झाडापखाला लाग्ने, उधो-उभो (मुखपेट) एकैपटक चल्ने, रिगँटा लाग्ने, दिशामा रगत आउँ देखा पर्ने, ज्वरो आईरहने, टाउको दुख्ने, पेटमा ऐठन हुने, मुटुको धडकन अस्भाविक रुपले बढने, शरीर झमझमाउने, ओठ-मुख सुक्ने जस्ता लक्षणहरु विरामीमा देखा पर्छ ।


खानाको सुरक्षा र सरसफाइलाई ध्यान दिन सकेमा फुड पोईजनबाट पूर्णरुपमा बच्न र बचाउन सकिन्छ । काँचो माछा, मासु, राम्ररी नपाकेको खाने कुरा पकाएर फ्रिजबाहिर लामो समयसम्म राख्ने गरिएका खानेकुराको सेवनले फुड फोईजन हुने गर्दछ । सबै ठाउँमा फ्रिज, डि-फ्रिज हुदैन, उचित तापक्रम मिलाएर राख्ने सुविधा नहुने भएकाले त्यस्ता खाने कुराले – झाडा-बान्ता, गेष्ट्राईटिसका साथै पाचनप्रणालीमा विभिन्न समस्याहरु देखापर्ने गर्दछन् । त्यसकारण चाडबाडका लागि भनेर ल्याईएका खाने कुराहरुलाई पकाएर सकेसम्म लामो समय बाहिर नराखे यसबाट बच्न सकिन्छ । यदि राख्नु पर्ने भएमा फ्रिज वा डी-फ्रिजमा राख्नु पर्छ । सरसफाईमा ध्यान दिने हो भने दूषित खानाबाट हुने फुड पोईजनबाट बच्न सकिन्छ ।


उपचार

झाडा र बान्ता हुनु भनेको शरीरले विषाक्त खाद्य पदार्थलाई बाहिर फ्यालेको हो । शरीरले आफ्नो डिफेन्सका लागि गर्ने एक स्वभाविक प्रक्रिया हो । जुन शरीरका लागि हितकर नै हुन्छ । सबै खाद्य पदार्थमा फुड पोईजनको असर एकनासको हुँदैन ।


त्यसै गरी फुड पोईजनको असर पनि सबै बिरामीमा एकनास देखिदैन । खाद्य-विषाक्त रोगबाट पीडित व्यक्ति पिच्छे लक्षण पनि फरक–फरक हुन्छ । सबै मानिसको पाचन शक्ति एक नासको हुँदैन । राम्रो पाचन शक्ति भएकाले पचाउन सक्छ भने नहुने बिरामी हुन्छन् । त्यही भएर फूड पोईजनका सबै बिरामी सिकिस्त हुँदैनन् । सामान्यतया जीवन जलजस्ता झोलीय पदार्थको सेवन गरी घरमै आराम गरी बसेमा तीन दिन मै निको हुन्छ ।


गम्भीर प्रकृतिको बिरामी छन् भने तुरन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।


फुड पोईजनका लागि रोगीको शारिरिक एवं मानसिक लक्षणहरुको साथै रोगीले सेवन गरेको खाद्य पदार्थको आधारमा प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्नप्रकार छन्:


(१) आर्सेनिक एल्ब ३ – सडे-गलेको माछा, मासु वा दूषित पानी खाएर फुड पोईजन भएको हो भने यसको प्रयोग लाभदायक हुन्छ ।


(२) लाइकोपोडियम२०० – समुन्द्री माछा सेलफिस खास गरि ओएस्टरको मासु खाएर फुड पोईजनको लक्षण देखिएको हो भने उक्त खाद्य पदार्थको नकारात्मक प्रभावलाई यो औषधिले हटाउँछ ।


(३) पल्साटीला३० – खासगरी आईसक्रिम, केक, तथा चिल्लोका साथै सडेको माछा, मासू खानाले पेट गडबड भएको हो भने यस औषधिको प्रयोग हितकार हुन्छ । यसका अलावा पनि लक्षण अनुसार नक्सवोमिका, एलिएमसिपा, चाईना, कार्बो भेज, नेट्रम फोस, मेगफास, नेटर्मसल्फ, कालिसल्फ आदि औषधिहरु फुडपोईजनमा दिन सकिन्छ ।


उपरोक्त औषधिहरु आफ्नो नजिकको योग्य तथा अनुभवी चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्दा उपयुक्त हुन्छ ।


[email protected]


प्रकाशित : आश्विन २३, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?