१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मनोविकार हो भिडियो गेमको अम्मल

अतुल मिश्र

काठमाडौँ — तपाईंका बालबालिका मोबाइल, ल्यापटप, कम्प्युटर वा अन्य माध्यमले अनलाइन वा अफलाइन गेम (खेल) मा रमाइरहेका हुन्छन् कि ? स्कुलबाट आउनासाथ उनीहरूको सबैभन्दा पहिलो काम गेम खेल्नु नै हुन्छ ? तपाईंले सम्झाउँदा समेत लुकेर खेलिरहेका हुन्छन् ?

मनोविकार हो भिडियो गेमको अम्मल

यी प्रश्नको उत्तर सकारात्मक छ भने, तपाईंले निकै सचेत हुने बेला भइसकेको छ । तपाईंका बालबालिका भिडियो गेमको अम्मलमा फसिसकेका हुन्छन् । यसै साता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले रोगको अन्तर्राष्ट्रिय वर्गीकरण (आईसीडी) मा डिजिटल र भिडियो गेमको अम्मललाई मनोविकार (एडिक्टिभ बिहेभियरल डिजअर्डर) का रूपमा परिभाषित
गरेको छ ।

हाल अन्य मुलुकझैं हाम्रो देशमा समेत बालबालिकाका लागि साथीभाइ, खेलमैदान, पार्क, बालकथा आदि सबैजसो इन्टरनेटको एउटा एप्लिकेसनमा समेटिएको छ । बालबालिका घरबाहिर वा घरभित्र खेलिने खेलको मजा लिनुभन्दा इन्टरनेट गेममा औधि रमाउन थालेको अवस्था तपाईं–हाम्रो घरभित्र सहजै देखिन थालेको छ ।

‘हाल हाम्रो मुलुकमा समेत बालबालिका र किशोरकिशोरीहरू बढी संख्यामा वास्तविक नभई यथार्थभाषी (भर्चुअल) डिजिटल विश्वमा बढी व्यस्त हुन थालेका छन्,’ कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. अरुणराज कुँवर भन्छन्, ‘फाट्टफुट्ट रूपमा अनलाइन वा अफलाइन गेम, इन्टरनेट, इलेक्ट्रोनिक मिडियाका अम्मल भएका बालबालिकाका आफन्त सल्लाह लिन आउन थालेका छन् ।’

इन्टरनेट गेमको अम्मलले मानसिक–शारीरिक रूपमा बिमार गर्नुका साथै बच्चाहरूको व्यक्तित्व विकासका लागि समेत एउटा ठूलो खतराको रूपमा देखिन थालिएको त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोज ओझा आंैल्याउँछन्, ‘हेर्नोस्, अन्तरक्रियात्मक मिडिया अत्यधिक उत्तेजक हुन्छन् ।’

डा. कुँवरका अनुसार, हरेक क्षण बदलिँदो रूपमा, विभिन्न रोमाञ्चकतासँगै विभिन्न संगीत, विभिन्न थिमको संयोजनमा रोमाञ्चक इन्टरनेट गेमले बालबालिकाको मनमस्तिष्कमा कब्जा जमाउन थालेको छ ।

अनलाइन गेम एकै पटक समूहमा धेरै व्यक्तिसमेत खेल्ने भएकाले जित्ने होडमा बालबालिका घण्टौं बिताउन थाल्छन् । उनीहरू थाहा नै नभईकन गेमको अम्मलमा फस्छन् ।

अनलाइन गेम खेल्ने सबै बालबालिका गेमको अम्मलमा परेका हुँदैनन् । तर यो गेम खेल्ने सोख कतिखेर अम्मलमा परिणत हुन्छ, यो थाहा नै हुँदैन । यसैले अभिभावकले उनीहरूको क्रियाकलाप नजिकबाट नियालिराख्नुपर्ने डा. कुँवर आैंल्याउँछन् ।

आफ्ना बालबालिकालाई काउन्सेलिङ गरेर, सम्झाएर यसको नकारात्मकताबारे बुझाउँदै मायाले अम्मल लाग्न दिनबाट बचाउने प्रयास गर्नुपर्छ । तर अम्मलजस्तै स्थितिको अनुभव भए चिकित्सकीय सहयोग लिन सकिने डा. कुँवर बताउँछन् ।

अम्मल कसरी थाहा पाउने ?
गेमको अम्मलमा बालबालिका परेका छन् भने कुरा तपाईं सहजै थाहा पाउन सक्नुहुन्छ । यदि तपाईंका बालबालिकाले तीन–चार घण्टाभन्दा बढी नै इलेक्ट्रोनिक मिडिया चलाउन थाले भने यो खतराको घण्टी हो । तपाईंले तुरुन्त उनीहरूका लागि एउटा निश्चित समय तय गर्नुपर्छ ।

अम्मलमा परेका बालबालिका बिहान उठेदेखि राति नसुतेसम्म जतिखेर पायो त्यतिखेर गेम खेल्दा उनीहरूसँग अन्य कामका लागि समय नै हुँदैन । ‘यदि गेमले गर्दा उनीहरूको खानपान, पढाइ, साथीभाइसँग खेलकुद, स्कुल जानुलगायत दिनचर्या प्रभावित हुन थाल्यो भने यसलाई अम्मलको रूपमा लिन सकिन्छ,’ डा. कुँवर भन्छन्, ‘उनीहरूले स्कुल र पढाइबाट बच्ने प्रयास गर्नु पनि खतराको घण्टी हो ।’

पहिलेको दाँजोमा यदि बालबालिकाको दैनिक रुटिनमा व्यापक परिवर्तन देखिन थाल्नु खतराको घण्टी हो । उनीहरूको खानपान, निद्रासमेत प्रभावित हुन थाल्छ ।

अम्मलमा पर्न थालेका बालबालिका सामाजिक जीवनबाट दूरी बनाएर एक्लै रहन रुचाउन थाल्छन् । उनीहरूमा आक्रामकता, चिढिने बानीलगायत व्यवहारमा समेत परिवर्तन देखिन थाल्छ । गेम खेल्नमा रोक लगाउने प्रयास गर्दा बालबालिकाहरू हिंस्रकसमेत हुन सक्छन् ।

उपचार
तपाईंका बालबालिका गेमको अम्मलमा परेको भान भए बाल मनोचिकित्सकको सल्लाह लिन सकिन्छ । काउन्सेलिङलगायत माध्यमबाट यसको उपचार हुन्छ ।

कान्ति बाल अस्पतालमा सरकारी बिदाको दिनबाहेक सधैं ‘चाइल्ड एन्ड एडोलसेन्ट साइकियाट्रिक क्लिनिक’ सञ्चालन हुने गरेको छ ।

यो मुलुुकको एक्लो यस प्रकारको क्लिनिक रहेको जनाउँदै डा. कुँवर यहाँसमेत गेमलगायत अम्मलको उपचार हुने बताउँछन् ।

डिजिटल डिटक्स
जसरी स्वस्थ व्यक्तिले सातामा एक दिन तरल आहार वा सलाद आदिमा निर्भर रहेर शरीरको विषाक्तता हटाउँछन्, त्यसरी नै डिजिटल विश्वबाट टाढिएर डिजिटल डिटक्स गरिन्छ ।

रक्सी, चुरोट आदिको अम्मल लागेजस्तै गरी जुनसुकै उमेरका व्यक्तिमा ‘भर्चुअल वल्र्ड’ मा रहने बानी अम्मलकै रूपमा विकसित हुन्छ । पछि उनीहरू चाहेर पनि यो बानीबाट बाहिर निस्कन सक्दैनन् । डिजिटल डिटक्सको अर्थ आफूलाई डिजिटल विश्वबाट अलग राख्नु हो ।

यसका लागि आफूलाई केही घण्टा, दिन वा महिनासम्म स्मार्ट फोन, इन्टरनेटबाट टाढा राखेर एउटा लक्ष्य निर्धारण गर्न डा. ओझा सल्लाह दिन्छन् । ‘डिजिटल डिटक्सिफिकेसनले इच्छा भएर पनि रोक्न सक्ने बानीको विकास हुन्छ,’ उनी भन्छन्, ‘इच्छा भए पनि कुनै खास व्यवहारबाट आफूलाई रोक्न सक्ने व्यक्ति कहिल्यै कुनै अम्मलमा फस्न सक्दैन ।’

कसरी छुट्छ ?
-इन्टरनेटमा गेम खेल्ने बालबालिकाको समय अभिभावकले तय गर्नुपर्छ ।
-उनीहरू इन्टरनेटमा कुन गेम खेलिरहेका छन्, यसको चियो गर्नुपर्छ ।
-इन्टरनेटमा थोरै समय देऊ भनेर मायापूर्वक सम्झाउनुपर्छ ।
-मोबाइल गेम वा डिजिटल वल्र्डमा एक दिनमा एक घण्टाभन्दा बढी समय बिताउन दिनु हुँदैन ।

-बिदाको दिन यो समय दुई घण्टासम्म बढाउन सकिन्छ ।
-बालबालिका अलमलिऊन् भनेर मोबाइलमा गीत आदि देखाइरहने गर्नु हुन्न ।
-उनीहरूलाई इन्टरनेटको उपयोग पढाइ र ज्ञानवर्धक कामका लागि मात्र गर्न दिनुपर्छ ।
-घरबाहिर खेलिने खेलमा बढी समय दिन प्रेरित गर्नुपर्छ ।

[email protected]

प्रकाशित : असार २३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?