बहिरोपन र सन्तुलित आहारा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्तुलित आहारा र बहिरोपनमा गहिरो सम्बन्ध हुन्छ, अझ खास गरी महिलाका सवालमा । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययनअनुसार, सन्तुलित आहार लिनाले महिलाहरूमा सुस्त श्रवणको जोखिम कम हुन सक्छ । अनुसन्धानकर्ताहरूले तीन फरकफरक आहारा र बहिरोपनबीचको सम्बन्धको अध्ययन गरेका हुन् ।

२२ वर्षसम्म तीन फरक–फरक आहारा ‘द अल्टरनेटिभ मेडिटेरियन डाइट’, ‘डाइटर एप्रोचेज टु स्टप हाइपर टेन्सन’ र ‘अल्टरनेटिभ हेल्दी इटिङ इन्डेक्स २०१०’ लिने ७० हजार ९ सय ६६ महिलामा यो अध्ययन गरिएको हो ।

पहिलो आहारामा जैतुनको तेल, अनाज, फलफूल, सब्जी, माछा र हल्का मदिरा सामेल गरिएको थियो । दोस्रो आहारामा भने बढी मात्रामा फल र सागसब्जी तथा कम बोसो भएको दुग्ध उत्पादन र कम मात्रामा सोडियम राखियो । तेस्रो प्रकारको आहारामा पहिला दुई प्रकारको आहारको सामग्री सामेल गरिएको थियो ।

अध्ययनमा के पाइएको छ भने, सन्तुलित आहारा लिनाले महिलामा बहिरोपन हुने खतरा कम हुन्छ । राम्रो आहार लिँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ र यसबाट बहिरोपनको जोखिम कम गर्न मद्दत मिल्छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अभिभावकसहित विद्यार्थीको ओइरो

सुदीप कैनी

काठमाडौँ — राजधानीको भृकुटीमण्डपमा जारी पाँचौं कान्तिपुर हिसान शैक्षिक मेलामा विद्यार्थीसँगै अभिभावकको सहभागिता बढेको छ ।

राजधानीको भृकुटीमण्डपमा जारी कान्तिपुर हिसान शैक्षिक मेलाको दोस्रो दिन अवलोकन गर्दै विद्यार्थी । तस्बिर : इलिट जोशी

एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी लक्षित मेलामा छोराछोरीसँगै अभिभावकहरू पनि आएर शैक्षिक जानकारी लिएका हुन् । आफ्ना सन्तानका लागि रोजाइको कलेज छान्न मेलामा अभिभावकको सहभागिता बढेको हो । ललितपुर पाटनका शिवहरि श्रेष्ठले छोरीलाई कुन कलेज पढाउने भनेर मेला अवलोकन गर्न आएको बताए । ‘छोरीलाई कुन क्याम्पस पढाउने भनेर साह्रै चिन्ता लागेको थियो,’ शुक्रबार मेलामा भेटिएका उनले भने, ‘मेलामा आएर धेरै कुरा थाहा भयो ।’ विद्यार्थी स्वयं मेलामा आएर जानकारी लिँदा प्रभावकारी हुने उनले सुनाए ।

‘अभिभावकले भनेको विषय छोराछोरीले नपढ्न पनि सक्छन्,’ श्रेष्ठले भने, ‘बाबुआमा र छोराछोरीसँगै आएर बुझ्दा धेरै राम्रो हुन्छ ।’ उच्च शिक्षाले बालबालिकाको भविष्य निर्धारण गर्ने हुुँदा कलेज, पढाउने पद्धति, विषय छान्न सोचविचार गर्नुपर्ने उनको अनुभव छ ।

‘धेरै कलेजबारे थाहा भयो, धेरै राम्रो कुराहरू छन्,’ काठमाडौं बानियाँटारकी गीता थपलियाले भनिन् । यस्ता मेलाले धेरै अभिभावक र विद्यार्थीहरूलाई समेट्न सके अझै फाइदाजनक हुने काठमाडौं कुलेश्वरका कुलप्रसाद घिमिरेको सुझाव थियो । ‘हिसान र कान्तिपुर मिडियाले गरेको एजुकेसन मेला एकदमै प्रभावकारी छ, कलेज पढ्ने विद्यर्थीहरूले आफ्नो भविष्य र गुणस्तरीय शिक्षाबारे जान्न पाएका छन्,’ उनले भने, ‘शैक्षिक संस्थाहरूबारे जानकारी नागरिकको घरदैलोसम्म पुर्‍याउन आवश्यक छ ।’ मेलामा १ सय ५० शैक्षिक संस्थाका स्टलहरू रहेका छन् । काठमाडौंका गोपालप्रसाद आर्याल एकै ठाउँमा धेरै कलेजहरूबारे नि:शुल्क रूपमा जानकारी पाउँदा अभिभावक र विद्यार्थीका लागि सुविधा भएको सुनाए । ‘मेलामा प्रचारप्रसार अलि बढी भएजस्तो लाग्यो, छोराछोरी भर्ना गर्नुअघि कलेजहरूको भ्रमण गरेर निर्णय लिँदाँ उपयुक्त हुन्छ ।’ ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित बिहीबारबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरू भएको चारदिने कान्तिपुर हिसान एडुफेयर जेठ १३ गते आइतबारसम्म चल्नेछ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले मेलाको आयोजना गरेका हुन् । आज शनिबार सबैभन्दा बढी विद्यार्थी, अभिभावकले मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको छ । कुन कलेजमा के बिषय पढाई हुन्छ ? शुल्क कति छ ? के कस्ता सुविधा छन ? भनेर मेलामा प्रष्ट जानकारी लिन सक्ने प्रबन्ध मिलाइएको छ । मेलामा तीनै कलेजका विद्यार्थी, शिक्षक, संचालक र प्रतिनिधिले परामर्श दिइरहेका छन् । धेरै कलेजको अध्ययन गरेर विद्यार्थी आफूले अध्ययन गर्ने धेरैमा एउटा कलेज छान्न पाउने सुविधा छ । मेलामा निकट समयमा हुने एसईई र कक्षा १२ को नतिजालगत्तै विद्यार्थीले प्राप्त गरेको ग्रेडअनुसार छात्रवृत्ति दिने प्रतिवद्धतासमेत पाउने छन् । मेलाको दोस्रो दिनबाट नोबेल अस्पताका स्वास्थ्यकर्मीहरू ‘रक्तदान जीवनदान’ नारासहित खटिएका छन् ।

त्यसैगरी मेलामा केही कलेजले सहभागी किशोरकिशोरीहरूको ‘फेस पेन्टिङ’ (मुहारमा चित्र) गरिदिन्छन् । केही हुल युवा चर्चित क्रिकेटहरूको मुहार मास्क लगाएर कीर्तिपुरमा हुने ‘प्रधानमन्त्री कप क्रिकेट’को निम्तोसमेत बाँडिरहेका थिए ।

- रिकेश श्रेष्ठ, भक्तपुर
धेरै कलेजबारे जानकारी लिन पाइयो । तिनले पढाइबारे दिने सेवा सुविधाबारे थाहा भयो । सुन्दा सबैका कुरा राम्रा छन् । कलेजहरूले आफ्ना राम्रो कुराहरूको विज्ञापन बढी गरेजस्तो लाग्यो । राम्रो नराम्रो छुट्टाएर पढ्ने कलेज रोज्न सक्नुपर्छ । कलेजको परिचय ब्रोसर, पढाउने कार्यक्रमजस्ता सामग्री झोलाभरि उपहार लिइएको छ । हेरौं, अब कहाँ र कुन कलेज छान्ने निष्कर्षमा पुग्न बाँकी छ ।

-प्रसिद्धि बस्नेत, काठमाडौं
साथीहरू मिलेर मेला हेर्न आएका छौं । धेरै कलेजहरूबारे थाहा भयो । ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने जस्तो राम्रो कुरा मात्रै धेरै सुनाए । एकै ठाउँमा धेरै कलेजहरूबारे बुझ्न पाउनु हाम्रा लागि फाइदाको कुरा हो । उच्च शिक्षा पढ्नका लागि अहिले थुप्रै विद्यार्थीहरू सस्तो र राम्रो शैक्षिक संस्थाको खोजीमा छन् । काउन्सिल गर्ने तरिका राम्रो लाग्यो । मेलामा पढ्नका लागि उत्प्रेरणा दिने काम हुँदोरहेछ । राम्रो कलेज छानेर पढ्न सके सपना पूरा गर्न सकिन्छ भनेर आशावादी छु ।

-प्रशान्त भण्डारी, नुवाकोट
कलेजहरूबारे धेरै जानकारी पाइयो । सर म्याडमहरूले कुन विषय पढ्ने कति खर्च लाग्छ, ती विषय पढ्दा हुने फाइदालगायत विविध पक्षमा कुराहरू बताउनुभएको छ । आफूले पढ्न चाहेको विषय र कलेजबारे थाहा भयो । अलमलमा परेका हामीजस्ता विद्यार्थीका लागि मेला फलदायी छ । अरूरु साथीहरू पनि एकपटक मेलामा घुम्नैपर्छ ।

-जिनिया श्रेष्ठ, काठमाडौं
कलेज छान्न सहरमा भौतारिँदै हिड्नुपर्ने अवस्था थियो । मेलामा एकै ठाउँमा धेरै कलेजबारे जानकारी हुन्छ भन्ने थाहा पाएपछि हामी साथीहरू गुप्र नै मिलेर आयौं ।

कलेज कहाँ छन् भन्नेबारे झोलैसहितका सामग्री पाउँदा दंग छौं । मेलामा नि:शुल्क परामर्शले धेरै कुरा बुझ्न पाइयो । कहाँ, कुन विषय पढ्ने भनेर अन्योल हटेको छ । धेरै कलेजबारे धेरै कुरा पनि थाहा पाइयो । उच्च शिक्षा पढ्न ऊर्जा मिलेको छ ।

‘प्रत्येक वर्ष कोर्स अपडेट गर्नुपर्छ’


-लोकबहादुर भण्डारी
मेला संयोजक तथा महासचिव, हिसान

मेलाले कस्तो हुँदैछ ?
सबैजना उत्साहित ढंगले उपस्थित भइरहेका छन् । सहभागिता बढेको छ । सहभागी सबै कलेजहरूका काउन्सिलरहरूलाई भ्याइनभ्याइ छ । मेलाको पहिलो दिन जसरी उत्साहित भएको थियौं त्योभन्दा बढी दोस्रो विद्यार्थी र अभिभावकको धेरै चाप बढेको छ । जुन उद्देश्यले यहाँ आउनुभएको छ, त्यो पूरा गराउने काम भइरहेको छ । कसलाई कस्तो विषय, कहाँ पढ्ने, कति शुल्क लाग्ने जस्ता आधारभूत पक्षदेखि दीर्घकालीन असर रहने पक्षबारे बुझ्न अभिभावक तथा विद्यार्थीहरू आएको पाएका छौं ।

विद्यार्थीको मुख्य आकर्षण केमा पाउनुभएको छ ?
प्लस टुको तयारीमा रहेका विद्यार्थीमध्ये बढी मात्रामा विज्ञान विषय रोज्न चाहेको पाइन्छ । तर, फरक करिअर सम्बन्धित हुनैपर्छ । त्यसैले म्यानेजमेन्ट, इन्जिनियरिङ, टेक्निकल विषयहरू, मानविकीका विविध विषयहरू छन् । ब्याचलर्समा उस्तै फरक रोजाइका विषयमा काउन्सिलिङ मागिरहेको देखिन्छ ।

अन्तर्राष्ट्रियस्तरमा हाम्रो पाठयक्रम साँघुरो भएको हो कि ?
हाम्रो पाठयक्रम अपटुडेट छैन । दश वर्षमा एकपटक परिमार्जन हुनुपर्छ भन्ने मात्रै बुझ्छौं । विश्वव्यापी प्रतिस्पर्धा गर्न नयाँनयाँ इस्यु आएसँगै अपटेड हुन आवश्यक छ । विद्यार्थीले भइरहेको कोर्समा इन्जोय गरिरहेका छन् । शिक्षा लिने र दिने दुवै पक्षको बाध्यता हो । किनभने राष्ट्रिय पाठयक्रमको मापदण्डभित्र बस्नुपर्छ । सम्बन्धनका आधारमा चलेका कलेज हुन् ।

नारालाई सार्थक तुल्याउने आधार ?
हामी दक्ष जनशक्ति उत्पादन गर्न सक्छौं । पर्याप्त मात्रामा दक्ष जनशक्ति छ । ग्लोबल मार्केटका प्रतिस्पर्धा गर्न कोर्स टाई अप गर्छौं । त्यसकारण निजी स्कुलमा आकर्षण रहन्छ । भौतिक पूर्वाधार सम्पन्न हुँदै गइरहेका छौं । पहिलेभन्दा व्यवस्थापन चुस्त हुँदै छ । कलेजलाई नयाँ ढंगले सञ्चालन गर्ने हामीसित लामो अनुभव छ । त्यसकारण हामी उत्कृष्ट शिक्षा स्वदेशमै दिन सक्छौं भन्नेमा विश्वस्त छौं ।

पाँचौं संस्करणसम्म आइपुग्दा के हासिल गर्नुभयो ?
हामीप्रतिको विश्वास जगाउनु नै मुख्य प्राप्ति हो । आम अभिभावकको, विद्यार्थीको हामीप्रति क्रमिक रूपमा विश्वास बढ्दो छ । र विदेशमा ११ र १२ कक्षा पढ्न जाने विद्यार्थीको संख्या धेरै तल झरेको छ । उच्च शिक्षाका निम्ति मात्रै जाने गरेका छन् । पढ्नकै निम्ति स्वदेशमै सरकारले दरिलो नीति ल्याउन जरुरी छ । नयाँ कोर्स अपडेट गर्ने हो र हामी उत्कृष्ट खालको व्यवस्थापन गरी शिक्षा दिन तयार छौं । विश्वविद्यालयहरूले समयअनुकूल प्रत्येक वर्ष कोर्स अपडेट गर्नुपर्छ भन्ने मान्यताको विकास गर्नुपर्छ ।

विदेशी विश्वविद्यालयको कोर्स पनि स्वदेशमै पढाइने रहेछ ?
छन् । क्याम्ब्रिज युनिभर्सिटीअन्तर्गत ए लेभलमा विश्वउत्कृष्ट हासिल गराएका पनि छौं । १६७ मुलुकमा लागू ती कोर्स अपडेट छन् । हामीले नेपालमा पनि त्यसरी नै हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । कोर्स नयाँ ढंगले जाओस् । गरिखाने शिक्षामा लगानी गर्दा फलदायी बनोस् । प्रत्येक वर्ष आईटीलगायत नयाँ विषय ल्याइयोस् । अध्ययन, अनुसन्धानका निम्ति ई–लाइब्रेरी विकास गरियोस् । प्रस्तुति : गणेश राई

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×