राष्ट्रिय आयुर्वेद गोष्ठी सम्पन्न

कान्तिपुर संवाददाता

कीर्तिपुर — आयुर्वेदमा पछिल्लो समय भएका खोज, अनुसन्धान, उपलब्धिबारे जानकारी सार्वजनिक गर्न आयोजित राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी सकिएको छ ।

कार्यक्रममा आयुर्वेदका विज्ञ, अभ्यासकर्ता, परम्परागत चिकित्सक, शिक्षक तथा विद्यार्थीलगायत गरी करिब तीन सय जनाको सहभागिता थियो । नेपाल आयुर्वेद विद्यार्थी समाजले गरेको उक्त गोष्ठीमा मुलुकसँगै विदेशबाट आएका विशेषज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिए । समाजका अध्यक्ष डा. सुमन खनालले आयुर्वेदमा यस प्रकारको कार्यक्रम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे ।

मुलुकमा आयुर्वेदको मौलिक सिद्धान्तलाई उपेक्षा गरेर आयुर्वेदको विकास हुन नसक्ने औंल्याउँदै नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाले आयुर्वेदलाई भारतीय चिकित्सा मात्र भनेर प्रचार नगर्नसमेत सुझाव दिए ।

गोष्ठीका प्रमुख वक्ता भारतका डा. विक्रान्त पाटिलले श्वेत कुष्ठ, मोटोपना, थाइराइड, मधुमेहलगायत रोगमा आयुर्वेदबाट सफल चिकित्साबारे प्रस्तुति दिएका थिए । यस्तै भारतकै डा. पूजा कोहोली, डा. भूपेन्द्रमणि त्रिपाठी तथा डा. प्रदिप कुमारले समेत आयुर्वेदका विभिन्न पक्षमा प्रस्तुति दिएका थिए ।

प्रकाशित : चैत्र २७, २०७४ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानको छात्रवृत्ति दोब्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानले नेपाललाई दिँदै आएको छात्रवृत्ति कोटा दोब्बर पारेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले नेपाल भ्रमणका क्रममा घोषणा गरेअनुसार कोटा वृद्धि गरिएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

दूतावासले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरसहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २ सय ५० विद्यार्थीलाई जनही १० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ । पाँच वर्षयता दूतावासले बर्सेनि प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । छैटौं वर्षको कार्यक्रममा अघिल्ला वर्षभन्दा दोब्बर गरिएको हो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशमशेर जबराले संयुक्त रूपमा छात्रवृत्ति रकम प्रदान गरे । राजदूत जाबेदले पाकिस्तान–नेपाल सम्बन्ध थप प्रगाढ तुल्याउन छात्रवृत्ति महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : चैत्र २७, २०७४ २०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्