कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बच्चाको मुखको स्वास्थ्यमा ख्याल राख्नु पर्नेमा जोड

प्रदीप मेन्याङ्बो

धरान — बाल दन्तरोग विशेषज्ञ चिकित्सकहरुले बालबालिकाको मुखको स्वास्थ्यमा अभिभावकले सबैभन्दा पहिले ख्याल गर्नु पर्नेमा जोड दिएका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न दन्त चिकित्सकहरुकाे तीन दिने दोस्रो वार्षिक सम्मेलनले बालबालिकामा दाँत तथा गिजा सम्बन्धीका समस्या भयावह रुपमा देखिएकाले मुखको स्वास्थ्यमा ख्याल गर्न जोड दिएको हो ।

बच्चाको मुखको स्वास्थ्यमा ख्याल राख्नु पर्नेमा जोड

नेप्लीज एसोसिएसन अफ पिडियाट्रिक डेन्टिस्ट्रीका संस्थापक केन्द्रीय अध्यक्ष प्रा डा बन्दना कोइरालाका अनुसार नेपालका ९० प्रतिशत बालबालिकाहरुलाई मुख र दाँतमा समस्या देखिएको छ । आर्थिक रुपले सम्पन्न अधिकांश अभिभावकहरुले आफ्ना बालबालिकालाई समय दिन नसक्ने र विपन्न परिवारको उपचारमा साधन स्रोत र पहुँच नपुग्ने भएकाले यो समस्या बढी रहेको उनले बताईन् ।


उनले भनिन्, ‘नेपालको पानीमा फ्लोराईड अति कम भएको सर्भेले देखाएको छ । दाँतकालागि चाहिने फ्लोराईड कम हुँदा पनि बालबालिकाहरुमा दाँतमा किरा लाग्ने र गिजामा समस्या देखिन्छ ।’ अभिभावकले बालबालिकालाई फकाउँदा र पुरस्कृत गर्ने क्रममा गुलियो चकलेट दिने तर मुखको स्वास्थ्यमा ख्याल नगरिदिने चलन बढेकाले पनि यो समस्या बढेको उनले बताईन् ।


अढाइ दशक अघिसम्म ठूला र वृद्धवृद्धालाई मात्र दाँतमा किरा लाग्ने समस्या देखिने गरेको थियो । तर, पछिल्लो समयमा आएर यो समस्याबाट सानै उमेरदेखि बालबालिकाहरु पीडित हुने गरेका छन् ।


नेपालको कूल जनसंख्याको ३५ प्रतिशत बालबालिका छन् तर बालदन्त रोगमा स्नातकोत्तर गरेका विशेषज्ञ चिकित्सकहरु भने मुस्किलले १८ जना मात्र छन् । विपी प्रतिष्ठानमा मात्र बालदन्त रोग चिकित्साशास्त्रको स्नातकोत्तर सम्म अध्ययन हुँदैआएको छ । बालदन्त चिकित्सकहरुको सम्मेलनले नेपालमा बालदन्त रोग उपचार गर्ने चिकित्सकहरुको संख्या बढाउनु पर्नेमा पनि जोड दिएको छ । सम्मेलनमा नेपाल, भारत र इटलीका बालदन्तरोग विषेशज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : चैत्र २५, २०७४ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?