कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रकम छुट्याइए पनि किनिएन पेट स्क्यान मेसिन

क्यान्सर पहिचान गर्न विदेश धाउनुपर्ने बाध्यता
मुलुकमै पेट स्क्यान मेसिन भए ८ हजारमा परीक्षण सम्भव
अतुल मिश्र

काठमाडौं — सरकारी ढिलासुस्ती, कमिसनको खेलका कारण उपकरण खरिद नगरिँदा क्यान्सर आशंकामा पेट स्क्यान गराउन नेपाली नागरिकले विदेश धाउनु परिरहेको छ । भारतको नयाँदिल्ली जाँदा मात्रै पनि स्क्यान शुल्कभन्दा कैयौं गुना बढी खर्च आउजाउमा गर्नुपर्छ ।

रकम छुट्याइए पनि किनिएन पेट स्क्यान मेसिन

वीर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. स्वयंप्रकाश पण्डितले उपकरण मुलुककै सरकारी अस्पतालमा राखिए अधिकतम आठ हजार रुपैयाँमा पेट स्क्यान सम्भव हुने बताए । उनका अनुसार भारतमा दिल्ली सरकारले भारु १० देखि ३० हजार लाग्ने रहेको पेट स्क्यान शुल्कलाई घटाई अहिले ४–५ हजार भारु कायम गरेको छ । डा. पण्डित भारतको दिल्ली र लखनउमै महिनामा ३० जनाभन्दा बढी नेपालीले क्यान्सरको शंकामा पेट स्क्यान गराउने गरेको आकलन गर्छन् ।

नयाँदिल्लीमा पेट स्क्यान गराएर यसै साता फर्किएका राजधानीका रवीन्द्र महर्जनले आउजाउमा समेत गरेर करिब सवा लाख रुपैयाँ खर्च भएको सुनाए । ‘विदेश गएर परीक्षण गराउने क्षमता थिएन, तैपनि छिटो रोग पहिचान होस् भनेर हामी नयाँदिल्ली पुग्यौं,’ उनले भने, ‘मुलुकमै यो सुविधा भएको भए विदेशमा चार–पाँच दिन गुजार्नुपर्ने थिएन । पैसा पनि जोगिन्थ्यो ।’
वरिष्ठ रेडियोलोजिस्ट पण्डितका अनुसार निजीमा एउटा पेट स्क्यान मेसिन भए पनि साइक्लोट्रोन छैन । साइक्लोट्रोन नभएको पेट स्क्यान मेसिनले क्यान्सर भए/नभएको जानकारी दिन सक्तैन । सरकारले साइक्लोट्रोनसहितको पेट स्क्यान उपकरण खरिद गर्न तीन वर्षअघि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनलाई ४५ करोड रुपैयाँ दिएको थियो । तर अहिलेसम्म खरिद गर्न सकेको छैन । आम नेपालीले महँगो शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले उक्त मेसिन खरिद गर्न बजेट छुट्याएको थियो । यसबीचमा चार जना स्वास्थ्यमन्त्री आए पनि कसैले खरिद गराउन सकेका छैनन् ।

तत्कालीन राष्ट्रपति रामवरण यादवले आफू क्यान्सर परीक्षण गराउन जापान जानुपरेपछि पेट स्क्यान मेसिन किन्न सरकारलाई सुझाएका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले यो मेसिन खरिदका लागि बजेट छुट्याएको हो । ‘धेरै मूल्य भएको पेट क्यान मेसिन किन्ने कुरा सुरु हुनासाथ सत्तारूढ दलका नेता, कर्मचारीतन्त्रदेखि मेसिन बिक्री गर्ने एजेन्ट, व्यापारी सबैले र्‍याल चुहाउन थाले,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरूले मेसिनको गुणस्तरको मतलब नराखी जसरी भए पनि बढी कमिसन पाइने एउटै उद्देश्य लिएर काम गर्दा अहिलेसम्म किन्न नसकिएको हो ।’

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले पनि पेट स्क्यान मेसिन आउन नसक्नुमा एउटा कारण एजेन्टहरूको अस्वस्थ प्रतिस्पर्धा रहेको बताए । ‘पेट स्क्यान मेसिन खरिद गर्न क्यान्सर अस्पताललाई ४५ करोड दिइसकिएको छ,’ उनले भने, ‘पोहोर पनि किन्न सकेनन्, यस पालिसमेत किन्ने सुरसार देखिएको छैन ।’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले महँगो मेसिन भएकाले कमिसन पनि बढी हुनाले होडबाजी चल्ने गरेको बताए । ‘यो मेसिन खरिदमा एक प्रतिशत कमिसन भनेकै ४५ लाख हुन्छ,’ उनले भने, ‘कमिसनतन्त्रबाट टाढा रहेको इमानदार स्वास्थ्यमन्त्रीले आँट नगरेसम्म गुणस्तरयुक्त मेसिन खरिद हुन सक्तैन ।’ समयमै रोग पत्ता लगाउन सके क्यान्सरको उपचार कठिन छैन, महँगो पनि छैन । ‘रोग पहिचानमा अलिकति पनि गल्ती भयो भने बिरामीको ज्यानै जान सक्छ,’ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ भन्छन्, ‘मुलुकमा पेट स्क्यान मेसिन अत्यावश्यक छ, यसले रोग पहिचान गर्न मात्र नभएर उपचारलाई पनि सरल बनाउँछ । बिरामीको बाँच्ने सम्भावनालाई बढाउँछ ।’

‘पाँच ठाउँमा चाहिन्छ पेट स्क्यान मेसिन’
मुलुकमा तत्काल एउटा साइक्लोट्रोनसहितको पेट स्क्यान मेसिन आवश्यक भए पनि भविष्यमा बिरामीको चापलाई हेरी धेरै ठाउँमा हुनुपर्ने विज्ञहरू बताउँछन् । पेट स्क्यान मेसिन दैनिक ३० जनासम्म परीक्षण गर्ने क्षमताको हुनुपर्छ ।

पण्डितका अनुसार उपत्यकामा न्यूनतम दुइटा पेट स्क्यान मेसिन चाहिन्छ भने पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवनमा समेत एउटा गरी पाँचवटा मेसिन आवश्यक छ । राजधानी वा अन्य ठाउँमा साइक्लोट्रोनसहितको एउटा पेट स्क्यान मेसिन राख्न सकिन्छ भने अन्य ठाउँमा पेट स्क्यान मेसिनमात्र राखे पुग्छ । केन्द्रमा रहेको साइक्लोट्रोनद्वारा निर्माण भएको आइसोट्रोप (परीक्षण गर्न आवश्यक औषधि) को अर्ध आयु कल ६ देखि १३ घण्टासम्म हुन सक्छ, जुन अवधिमा पेट स्क्यान मेसिनमात्र भएका ठाउँमा आइसोट्रोप लगेर बिरामीको परीक्षण गराउन सकिन्छ । आइसोट्रोपलाई पेट स्क्यान भएको ठाउँमा हवाई मार्ग सजिलै पुर्‍याउन सकिने उल्लेख गर्दै पण्डित भन्छन्, ‘यसो गर्दा पाँच ठाउँमा पेट स्क्यान राख्दा पनि लागत कम पर्छ ।’
साइक्लोट्रोन मेसिनलाई करिब १५ देखि १८ करोड पर्छ भने साइक्लोट्रोन नभएका पेट स्क्यानको करिब १८ देखि २५ करोडसम्म पर्ने पण्डित बताउँछन् ।

पाजिट्रान एमिसन टोमोग्राफी (पेट) स्क्यानबाट शरीरको अंग र तन्तुको फोटो देखिन्छ, जसबाट अंग र तन्तुले कसरी काम गरिरहेका छन् भन्ने थाहा पाइन्छ । स्क्यानका क्रममा रेडियोधर्मी आइसोटोप (रेडियो एक्टिभ आइसोटोप) बिरामीको नसामा सुईद्वारा दिइन्छ । यो पदार्थले पेट स्क्यान मेसिनमा अक्सिजनको उपयोग, रगतको बहाव, शरीरमा मेटाबोलिज्मको सेलुलर लेवल देखिन्छ ।

रेडियोधर्मी आइसोटोपमात्र क्यान्सर कोषिकामा पुग्छ । यो कोषिकाबाट पोजिट्रान निस्किन्छ, जसलाई रेडियोधर्मी आइसोटोपले समात्छ । यही क्यान्सरग्रस्त कोषिका हुन्छ, जसको तस्बिर पूर्ण रूपमा सफा हुन्छ । यसपछि क्यान्सर कोषिकाबारे सटिक जानकारी प्राप्त हुन्छ । यसले शरीरमा लुकेको सूक्ष्म क्यान्सर कोषिकाको पहिचान गर्छ ।

के गर्छ पेट स्क्यानले ?
रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको तथ्य पत्रअनुसार पेट स्क्यानको माध्यमले क्यान्सर पत्ता लाग्नुका साथै यो क्यान्सर शरीरमा कति क्षेत्रमा फैलिएको छ भन्नेसमेत थाहा पाइन्छ ।

क्यान्सर उपचारपछि बिरामीलाई निको भए/नभएको लगायत नयाँ ठाउँमा विस्तार आदिबारे यसले बताउँछ । यतिमात्र नभई क्यान्सर उपचारपछि रोगको मात्रा कम भए/नभएको लगायत उपचारको प्रभावकारिताबारे समेत जाँच्न सकिन्छ ।

पण्डितका अनुसार यसबाट कुनै पनि प्रकारको संक्रमणलाई हेर्न सकिन्छ भने यसको प्रसार शरीरको कुन भागमा भएकोबारे समेत जान्न सकिन्छ । यो मेसिन इन्डोक्राइन (शरीरका ग्रन्थीहरूको काम गरे/नगरेको हेर्ने) र न्युरोलोजीको परीक्षणमा समेत उपयोगी हुन्छ ।

यसले मुटुको मांसपेशीमा रगतको प्रवाहको समेत परीक्षण गर्न सकिन्छ । हृदयाघात, मायोकार्डियल इन्फ्राक्सनले मुटुको कुन क्षेत्रमा प्रभाव परेको छ भन्नेसमेत परीक्षण गर्न सकिन्छ । एन्जियोप्लास्टी, कोरोनरी आर्टी बाइपास सर्जरीले गर्दा मुटुको खास क्षेत्रको मांसपेशीमा पुगेको फायदाबारे समेत जान्न सकिन्छ ।

मस्तिष्कको असामान्यता जस्तै गाँठो, स्मृतिसम्बन्धी समस्या, छारे रोग र अन्य केन्द्रीय स्नायु प्रणालीको असामान्यताबारेमा समेत पेट स्क्यान परीक्षणबाट थाहा पाउन सकिन्छ ।
यसले सामान्य व्यक्तिको मस्तिष्क र मुटुको क्रियाकलापबारे जान्न सकिन्छ ।

प्रकाशित : पुस ९, २०७३ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?