स्क्रब टाइफसले वर्ष दिनमा १४ को मृत्यु, ८ सय २५ बिरामी

मधेस, पहाड र हिमालका ४७ जिल्लामा संक्रमण
अतुल मिश्र

काठमाडौं — मुलुकमा यो वर्ष स्क्रब टाइफसका कारण १४ जनाको मृत्यु भएको छ । यो वर्ष सोमबारसम्म ४७ जिल्लामा गरी स्क्रब टाइफसका ८ सय २५ बिरामी देखिएका छन् । स्क्रब टाइफसका बिरामी यसपालि गत वर्षभन्दा बढी देखिएका हुन् । यस वर्ष यो रोग फैलिएर हिमाली जिल्लासम्म पुगेको छ ।

स्क्रब टाइफसले वर्ष दिनमा १४ को मृत्यु, ८ सय २५ बिरामी

स्क्रब टाइफस संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ । यो किरा मुख्यत: खेत, झाडी, घाँस आदि ठाउँमा रहने मुसा प्रजातिमा पाइन्छ । गत वर्ष साउनमा नेपालमा पहिलो पटक यो रोग देखिएको थियो ।

गत वर्ष १६ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट एक सय एक जना संक्रमित भएका थिए भने ८ जनाको मृत्यु भएको थियो । ‘हाल चितवन जिल्ला स्क्रब टाइफसको केन्द्रकै रूपमा देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण विभागका डा.गुणनिधि शर्माले भने, ‘यो संक्रमण मधेस, पहाड र हिमाल सबैतिर फैलिएको छ ।’

यो वर्ष चितवनमा यसका ५ सय ३० र कैलालीमा १ सय ९४ बिरामी देखिएका छन् । अन्य ४५ जिल्लामा १ सय १ बिरामी देखिएका छन् । यो रोग हिमाली जिल्ला सोलुखुम्बुमा समेत देखिएको छ ।

स्क्रब टाइफस संक्रमणबाट दीर्घकालमा सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, अंगमा क्षति र मृगौला फेल हुने, निमोनियाँ जस्ता संक्रमण हुने, छारे रोगको लक्षण, सुस्ती, मासु कुहिने हुन सक्छ । हालसम्म टाइफसका लागि कुनै खोप छैन । समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन्छ ।

प्रकाशित : पुस ६, २०७३ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?