लमजुङ — लमजुङमा १४ दिने शिशुसहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत ती शिशुसहित उनका परिवारका अन्य ३ जनामा पनि कोरोना देखिएको छ ।
मंगलबार जिल्लामा थपिएका अन्य संक्रमितहरुमा अस्पतालका एक कर्मचारी,जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ प्रहरी, एक महिला पत्रकार, ग्लोबल आईएमई बैंक बेंसीसहर शाखाका ५ जना कर्मचारी र अन्य बेंसिसहर र राईनस नगपालिकाका स्थानीय रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १५ पुगेको छ । हालसम्म १ सय १३ संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा १ सय २ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
