‘नसोचिएको अनुभव’

समर्थकको चाहना पूरा गर्न नसके पनि युवा टिमले इंग्ल्यान्डको जर्सीमा आस गर्ने विश्वास यसपालि दिलायो, जुन एलान सिएरर, डेविड बेकह्याम, वायने रोनीको टिमले दिलाउन सकेका थिएनन् ।
राजु घिसिङ

मस्को — इंग्ल्यान्डको ५२ वर्षपछि विश्वकप फाइनल खेल्ने सपना क्रोएसियाले तुहाइदियो । तर, उमेरका आधारमा यो विश्वकपको दोस्रो कान्छो टिम इंग्ल्यान्डको रुस यात्रालाई सफलताका रूपमा लिइएको छ । कारण चार वर्षअघि ब्राजिलमा इंग्ल्यान्ड समूह चरणबाटै घर फर्किएको थियो ।

‘नसोचिएको अनुभव’

युरो २०१६ मा पनि इंग्ल्यान्डलाई नकआउटको पहिलो खेलमै आइसल्यान्डले सिकार बनाएको थियो । त्यसैले इंग्ल्यान्ड यसपालि नसोचिएको रूपमा सेमिफाइनल नै पुग्यो ।

गारेथ साउथगेटले सम्हालेको टिमले रुस यात्राको पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको थियो । इंग्ल्यान्डले विश्वकप २००६ यता पहिलोपल्ट ठूलो प्रतियोगिताको पहिलो खेल जितेको यसैपल्ट हो । उसले १२ वर्षयता नकआउट चरणमा पहिलो जित पनि रुसीभूमिमै हात पार्‍यो । विश्वकपमा टाइब्रेकरको पहिलो जित पनि यसैपालि रच्यो । र, विश्वकपमा २८ बर्षयता पहिलोपल्ट सेमिफाइनल रुसमै आएर खेल्यो ।

लन्डनबाट विमान चार्टर गरेर मस्को आइपुगेका हजारौं थ्री लायन्सका समर्थकको फाइनलमा इंग्ल्यान्डको टिम खेलेको हेर्ने चाहना थियो । यदि लुजनिकी रंगशालामा क्रोएसियालाई पन्छाएर अघि बढेको भए उनीहरू फाइनलमा फ्रान्सलाई हराएर इंग्ल्यान्ड दोस्रोपल्ट विश्वविजेता भएको हेर्न चाहन्थे । समर्थकका रूपमा यस्तो चाहना हुने नै भयो । उनीहरूको चाहना पूरा गर्न नसके पनि युवा टिमले इंग्ल्यान्डको जर्सीमा आस गर्ने विश्वास यसपालि दिलायो, जुन एलान सिएरर, डेविड बेकह्याम, वायने रोनीको टिमले दिलाउन सकेका थिएनन् ।

‘प्रतियोगिता अविश्वसनीय रह्यो,’ सेप्टेम्बर २०१६ मा साम एलिडायर्सको स्थान लिएर इंग्ल्यान्डको टिम सम्हालेका साउथगेटले भने, ‘यी खेलाडीको समूह धेरै प्रतिभावान छन् । उनीहरू धेरै राम्रा खेलाडी हुन् । मैले यी खेलाडीको समूहप्रति गर्व गर्नुपर्छ । यो टिमले खेलेरै देशलाई गर्विलो बनाएको छ । विश्वकप वास्तवमै सजिलो हुन्न । यो विश्वकप धेरै कठिन पनि भयो । त्यसैले पनि यो टिमसँग साच्चिकै गर्व गर्छु ।’

गारेथ साउथगेट

मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया २–१ ले इंग्ल्यान्डलाई हराएर पहिलोपल्ट फाइनल पुग्यो । त्यसमा अग्रता भने काइरन ट्रिपियरको गोलमा पाँचौं मिनेटमै इंग्ल्यान्डले लिएको हो । त्यसबारे साउथगेटले भने, ‘हामीले पहिलो हाफमा पाएका अवसर उपयोग गर्न सकेनौं । तर, मलाई क्रोएसियाको प्रदर्शनप्रति आश्चर्य लाग्दैन । उसका खेलाडी अनुभवी र उत्कृष्ट छन् । हामीलाई दोस्रो हाफमा गाह्रो भयो । उनीहरूले अतिरिक्त समयमा आफ्नो अनभुव र कौशल उपयोग गरे ।’

इंग्ल्यान्डले सन् १९६६ मा घरेलु भूमिमा भएको विश्वकप उपाधि जितेको थियो । त्यसयता उसले दोस्रोपल्ट विश्वकपको ट्रफी उचाल्ने त के फाइनल खेल्ने अवसर पनि पाएको छैन । इंग्ल्यान्डले यसअघि १९९० मा इटालीमा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो । तैपनि उसलाई दुई दशकयता ठूला टिम वा उपाधि दाबेदारका रूपमा लिन छाडेको थियो । किनभने ठूला प्रतियोगितामा इंग्ल्यान्डलाई चुक्ने बानी परेको थियो ।

जर्मनीको सफलतासँग बुन्डेस लिगालाई जोडिन्छ । स्पेनको लोभलाग्दो खेलको आधार ला लिगा मानिन्छ । र, इटालीको स्तर सिरी ए सँग दाँजिन्छ । विश्वकै सर्वाधिक लोकप्रिय र लगानी गरिएको घरेलु लिग भने इंग्ल्यान्डको प्रिमियर लिग हो । लिगका आधारमा इंग्ल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा सफलता पाएको छैन । त्यसैले यसपालिको सेमिफाइनल यात्रालाई लिएर प्रिमियर लिगको प्रतिफल सुरुआत भएको मानिएको छ ।

इंग्ल्यान्डको विश्वकप टिमका २३ खेलाडीको औसत उमेर २६ वर्षको छ । यो विश्वकपकै दोस्रो युवा टिम हो । विश्वकपअघि यो टिमको औसत क्याप २० थियो । इंग्ल्यान्डको पहिलो रोजाइका सबैभन्दा अनुभवी खेलाडी जोर्डन हेन्डरसन हुन् । उनले ४३ खेल खेलेका छन् । टोलीका कप्तान २४ वर्षे ह्यारी केन हुन् । उनी ६ गोलसहित गोल्डेन बुटको होडमा ‘पोल पोजिसन’ मा छन् । उनीपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु (दुवै ४ गोल) छन् । सेन्टर ब्याक जोन स्टोन्सले आफूलाई विश्वकै उत्कृष्ट डिफेन्डरका रूपमा विश्वकपमार्फत स्थापित गरे । गोलकिपर जोर्डन पिकफोर्ड र डिफेन्डर ह्यारी मगायर पनि ‘वल्र्ड क्लास’ खेलाडीका रूपमा उभिएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सफलताका लागि युरोपेली च्याम्पियन्स लिगको प्रदर्शन पनि हेर्ने गरिन्छ । च्याम्पियन्स लिगमा प्रिमियर लिग क्लबले बिरलै सफलता हात पारेका छन् । च्याम्पियन्स लिगमा इंग्ल्यान्डका खेलाडीको संयुक्त क्यापभन्दा बढी क्रोएसियाका लुका मोड्रिच र इभान राकिटिचको अनुभव छ । त्यसैले पनि प्रशिक्षक साउथगेटले युवा टिमलाई अब परिपक्व हुने बाटोमा रहेको बताए ।

‘अपेक्षा धेरै थियो, बढ्दो थियो,’ ४७ वर्षीय साउथगेटले भने, ‘यात्रा महान् रह्यो । स्थापित हुने राम्रो मौका थियो । तर हामी लामो समयसम्म सेमिफाइनल पनि पुगेका थिएनौं । तर त्यो (सेमिफाइनल/फाइनल) सम्भव छ भन्ने हामीले प्रमाणित गरेका छौं ।’ स्वर्णिम पुस्ताका रूपमा लिइएको टिमबारे उनले थपे, ‘यसपालि हामी पर्फेक्ट थिएनौं । धेरै राम्रो टिमसँग इंग्ल्यान्डले यसअघि जित हात पारेको पनि थिएन । युवा टिमले धेरै राम्रो खेल्यो । आकर्षक र आक्रामक फुटबल प्रदर्शन गरेका छौं ।’

बीस वर्षअघिको विश्वकपमा खेलाडीका रूपमा सहभागी साउथगेटले रुस यात्रा गर्नुअघिको तयारीबारे पनि भने, ‘असम्भवजस्तै लाग्छ, विगतका १८ महिनाको अनुभव भन्ने हो भने हामी सेमिफाइनल पुग्छौं भन्ने कसैले पत्याएका थिएनन् । तर, हामी पुग्यौं । यसमा गर्व गर्नुपर्छ । खेलाडीले सबथोक दिए । शारीरिक र मानसिक रूमा परिपक्व तथा ठूला खेलको अनुभवमा हामी क्रोएसियासँग पछाडि पर्‍यौंं । यात्रा स्मरणीय रहयो । नसोचिएको अनुभव हासिल गर्‍यौं । ठूलो रूपमा देशलाई निराश पार्ने त्यस्तो केही भएको छैन ।’

इंग्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमविरुद्ध पिटर्सबर्गमा खेल्दै छ । विगतमा पनि विश्वकपमा कांस्य पदकका लागि प्रतिस्पर्धालाई लिएर प्रशिक्षकहरूले आलोचना गरेका थिए । यसबारे साउथगेटले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्दा यस्तो खेल (तेस्रो स्थानका लागि) खेल्न नपरे राम्रो हुने थियो । तर, हामीलाई अगाडि बढ्नु छ । यी खेलाडीको समूहमा गर्व गर्नुपर्छ । उनीहरूलाई निरन्तर साथ दिनुपर्छ । प्रतिष्ठाका लागि खेल्ने छौं । जित्नका लागि खेल्नेछौं ।’

इंग्ल्यान्डको विश्वकप २०१८ यात्रा
नतिजा प्रतिद्वन्द्वी
२–१ ट्युनिसिया
६–१ पानामा
०–१ बेल्जियम
१–१ कोलम्बिया
(४–३ टाइब्रेकर)
२–० स्वीडेन
१–० स्वीडेन
१–२ क्रोएसिया (अतिरिक्त समय)

प्रकाशित : असार ३०, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?