कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

इंग्ल्यान्डको लय निरन्तर रहेन

विश्वकप विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — इंग्ल्यान्डले खेलमा नियमित शैलीलाई निरन्तरता दिँदै तीव्र गतिमा आक्रमण गरेर सुरुआत गरेको थियो । सेट पिसमा लगातार सफलता हात पारिरहेको इंग्ल्यान्डले यस खेलमा पनि खाता खोल्न सेट पिसकै सहायता लियो । पाँचौं मिनेटमा काइरन ट्रिपियरले गरेको फ्रिकिक उत्कृष्ट थियो र अग्रता दिलाउन सफल रह्यो ।

इंग्ल्यान्डको लय निरन्तर रहेन

डिफेन्सले बल पाउनेबित्तिकै आक्रमणतर्फ अगाडि बढेको इंग्ल्यान्डले पहिलो हाफमा क्रोएसियाली डिफेन्सलाई केही समस्या दिएको थियो । ह्यारी केन, रहिम स्टर्लिङ र जेसी लिङ्गार्डले बल पाउनासाथ तीव्र गतिमा अगाडि बढेको इंग्ल्यान्डलाई पहिलो हाफमा पाएका अन्य अवसर सदुपयोग गर्न नसक्नु महँगो साबित भयो ।

दोस्रो हाफमा भने पहिलो हाफको लयलाई निरन्तर दिन नसक्नु इंग्ल्यान्डको कमजोर पक्ष रहयो । अग्रता लिएपछि त्यसैलाई बचाएर खेल्ने रणनीति बनाएर आक्रामक रूपमा अगाडि नबढ्नु महँगो साबित भयो । स्टर्लिङलाई निकालेर उनको स्थानमा मार्कस रासफर्ड आएपछि इंग्ल्यान्डको आक्रमण झनै कमजोर बनेको पाएँ । समग्रमा पहिलो हाफमा खेलेको आक्रामक खेल दोस्रोमा पनि निरन्तरता दिएको भए खेल जित्ने मात्र नभएर गोल अन्तर पनि बढाउने सम्भावना रहन्थ्यो । सेट पिसबाहेकको स्थितिमा इंग्ल्यान्डले बिरलै खतरा स्थिति सिर्जना गरायो ।

युवा खेलाडीले भरिपूर्ण इंग्ल्यान्डले प्रतियोगिता सुरु हुँदा सेमिफाइनल पुग्ने अपेक्षा गरिएको थिएन । तर प्रत्येक खेलमा अनुकूल नतिजा निकालेको टोलीले प्रदर्शनमा पनि निखार ल्याउँदै गयो । बुधबार विगतका खेल भन्दा केहि बढी दबाब लिएका कारण पनि इंग्ल्यान्ड सफल हुन सकेन । गोलरक्षक जोर्डन पिकफर्डले राम्रो प्रदर्शन गरे पनि डिफेन्सको गल्तीमा दुवै गोल सम्भव भएको थियो ।

इंग्लिस टोलीमा प्लेमेकरको कमी पनि देखियो ।

क्रोएसियाले पहिलो हाफको सुरुआतमै गोल खाए पनि बल पोसेसनमा ध्यान दिएर संयमित भएर आक्रमण बुनिरहयो । स्वीच प्ले र क्रसिङमार्फत इंग्लिस हाफमा दबाब बनाए पनि गोलपोस्टमा आक्रमण गर्न भने सकेको थिएन । दोस्रो हाफमा केही गति बढाएको क्रोएसियाले पकड जमाउन सफल रहयो । ६८ औं मिनेटमा पेरिसिचले क्रसबाट आएको बललाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । उनकै गोलपछि लगातार आक्रमणमा देखिएको क्रोएसियाले लगत्तै अर्को मौका पाए पनि पोस्टमा लगेर फर्कनु दुर्भाग्य रहयो ।

नियमित समयमा पाएको मौका सदुपयोग गर्न असफल रहे पनि अतिरिक्त समयको दोस्रो हाफमा भने क्रोएसियाले अपेक्षित अग्रता लियो । इंग्ल्यान्डले बललाई राम्रो क्लियर गर्न नसक्दा डिफेन्स सजग नभएको फाइदा उठाउँदै पेरिसिचको पासमा मान्जुकिचले अग्रता दिलाए । प्रशिक्षक डालिचले खेल अवधिभर बिरलै खतरा बनाएका मान्जुकिचलाई अन्तिम समयसम्म मैदानमा राख्नु उक्त गोलले साबित गरेको थियो । उक्त गोलपछि इंग्ल्यान्डले केही प्रयास गरे पनि सफल भने हुन सकेन ।

पछिल्ला केही खेलमा लगातार अतिरिक्त समयसम्म खेलेको भए पनि क्रोएसिया थकित देखिएको थिएन । फिटनेसमा टोलीले धेरै ध्यान पुर्‍याएको कारण नै यो सम्भव भएको हो । मोड्रिच र राकिटिचजस्ता खेलाडीले आफ्नो अनुभव उपयोग गर्दै मिडफिल्डमा एकछत्र राज गर्न सफल भए ।

प्रकाशित : असार २९, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?