कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘बेल्जियम तेस्रो हुनुपर्छ’

एएफपी

सेन्ट पिटर्सबर्ग — विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा फ्रान्ससँग पराजित बेल्जियमले सबै पीडा भुलेर तेस्रो स्थान हासिल गर्ने लक्ष्य राख्नुपर्ने प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् ।

‘बेल्जियम तेस्रो हुनुपर्छ’

आक्रमणमा पाएको अवसर सदुपयोग गर्न नसक्दा बेल्जियम मंगलबार फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

सामुइल उम्टिटीले कर्नरबाट हेडरमार्फत गरेको गोल निर्णायक साबित भएपछि बेल्जियमको उपाधि यात्रा बिथोलिएको थियो । रक्षात्मक रूपमा अपेक्षित प्रदर्शन गरे पनि आक्रमणमा भने टोली केही फितलो भएको प्रशिक्षक मार्टिनेजले स्वीकारे । ‘खेल निकै कठिन थियो । दुवै टोलीले धेरै मौका पाएका थिएनन् । खेलको नतिजा निर्धारण गर्न एउटा सेट पिस निर्णायक साबित भयो,’ उनले भने ।

‘हामीले विपक्षीको काउन्टर अटयाक रोक्न सक्यौं । हामीसँग बल पोसेसन पनि धेरै थियो तर फ्रान्सले राम्रो रक्षात्मक खेल खेल्यो । आक्रमणमा हामीले अपेक्षाअनुसार खेल्न नसक्दा गोल गर्न सकेनौं,’ प्रशिक्षक मार्टिनेज थपे ।

रणनीतिक रूपमा खेल निकै रोमाञ्चक रहयो । फ्रान्सले बल पोसेसनको उपयोग गर्दै काउन्टर अटयाकमा केलियन एमबाप्पेको तीव्र गतिको फाइदा उठाउन खोजेको थियो । मार्टिनेजले मिडफिल्डमा मौसा डेम्बेलेलाई खेलाउनुका कारण खेल गुमाउनुपरेको भन्ने आलोचना जायज नभएको पनि बताए । डेम्बेलेलाई खेलाएका कारण मध्यभागमा खेलिरहेका केभिन डी बुयनले दायाँ भागमा खेल्नुपरेको थियो ।

खेलाडीलाई सम्हाल्दै सहायक प्रशिक्षक थिएरी हेनरी

खेलमा पछाडि परेपछि प्रशिक्षक मार्टिनेजले डेम्बेलेलाई परिवर्तन गरेर डे बु्रयनलाई मध्यभागमा खेलाएका थिए । त्यसपछि बेल्जियमले राम्रो प्रदर्शन गर्दै अवसर पनि बढी सिर्जना गरेको थियो । ‘मैले फ्रान्सले एकपक्षीय खेल खेलेको देखिनँ । फ्रान्सले कर्नरमा गोल गरेको हो । त्यसैले पनि मेरो विचारमा खेलाडीको व्यक्तिगत प्रदर्शन नतिजामा फरक पार्ने खालको थिएन,’ मार्टिनेजले भने ।

पहिलोपटक विश्वकप फाइनल खेल्ने सपना देखेको बेल्जियम अब तेस्रो स्थानका लागि प्लेअफमा जित हासिल गर्ने प्रयासमा हुनेछ । मार्टिनेजले फ्रान्सविरुद्ध नतिजाका बाबजुत खेलाडीको प्रदर्शनबाट गर्व लागेको र प्रतियोगिताको अन्तिम खेलका लागि पूर्ण रूपमा तयार रहने बताए ।

‘हामी सबै दुखी छौं । ड्रेसिङ रूममा पनि माहोल राम्रो छैन । म खेलाडीलाई दुखी देख्न चाहन्न,’ उनले भने, ‘भावनात्मक रूपमा यो व्यवस्थापन गर्न निकै कठिन हुनेछ । सेमिफाइनलमा पराजित भएपछि सबै दुखी छन् । एक खेल हारेपछि तेस्रो स्थानको खेललाई अवसरका रूपमा लिन सहज हुँदैन ।’

‘हामी अब फेरि एकीकृत भएर अवसर
सदुपयोग गर्न अगाडि बढ्ने छौं । विश्वकपमा तेस्रो स्थान हासिल गर्नु सहज कार्य हैन । पछिल्लोपल्ट बेल्जियन फुटबलमा यो अवसर १९८६ मा आएको थियो र हामी चौथो भएका थियौं,’ मार्टिनेजले भने, ‘हामीले यस खेलको महत्त्व बुझ्नुपर्छ । आजको दु:ख बिर्सेर अगाडि हुनेछ । फाइनल पुग्ने लक्ष्य राखेको खेलाडीले सबै बिर्सेर अन्तिम खेलको तयारी गर्नुको विकल्प छैन ।’

फ्रान्सविरुद्ध पहिलो सेमिफाइनलमा आफ्नो देशको टोली पराजित भएपछि निराश बेल्जियमका किशोर समर्थक । तस्बिर : रोयटर्स/एपी

प्रकाशित : असार २८, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?