‘ओजिलले जर्मन टिम छाड्नुपर्छ’

एएफपी

बर्लिन — विश्वकपको पहिलो चरणमै बाहिरिएको जर्मन फुटबल टोलीको मुख्य दोष मेसुट ओजिललाई लगाइएका कारण जर्मन मिडफिल्डरले राष्ट्रिय टोलीबाट राजीनामा दिनुपर्ने उनको बुवाले बताएका छन् ।

‘ओजिलले जर्मन टिम छाड्नुपर्छ’

२९ वर्षीय ओजिल जर्मनी विश्वकपको समूहमा पुछारमा रहँदै घर फर्केपछि आलोचनाको सिकार हुँदै आएका छन् ।

विश्वकप सुरु हुनुअघि टर्कीका राष्ट्रपति रेसेप एर्डोगनसँगको तस्बिर हालेपछि चौतर्फी आलोचना खेपेका ओजिलको इमान्दारीमाथि प्रश्न उठेको थियो । बिहीबार जर्मनीका टिम व्यवस्थापक ओलिभिएर बिएरहफले ओजिलले गरेको यस कार्य गलत रहेको अभिव्यक्ति दिएपछि थप समस्या पैदा भएको हो । उनले ओजिललाई कारबाहीस्वरूप टोलीबाट निकालेर सार्वजनिक रूपमा यो स्थितिबारे जानकारी दिनुपर्ने बताएका थिए ।

यता ओजिलका बुवा मुस्तफा ओजिलले भने बिएरहफको प्रतिक्रिया घृणात्मक भएको टिप्पणी गरेका छन् । ‘उनले निकै खराब शब्द बोलेका छन् । उनले एक खेलाडीबारे सार्वजनिक रूपमा यसरी बोलेर आफ्नो बचाउ गर्न खोजेका हुन्,’ मुस्तफाले भने । उनका अनुसार ओजिलले राष्ट्रपति एर्डोगनसँग राजनीतिक रूपमा नभएर सम्मानस्वरूप तस्बिर लिएका हुन् ।

ओजिलले यसबारे सार्वजनिक रूपमा बोल्नु आवश्यक नरहेको उनको बुझाइ छ । ‘मेसुट यसबारे बाहिर बोल्न चाहँदैनन् । जुनबेला पनि आफ्नो स्थितिबारे बोलिराख्नुपर्ने स्थितिबाट उनी आजित छन् । उनले ९ वर्ष लगातार जर्मनीका लागि खेलेका छन् ।

उत्कृष्ट टोलीमा रहेर राष्ट्रका लागि विश्वकप उपाधि जिताएका छन्,’ उनले थपे, ‘उनले राष्ट्रका लागि यति धेरै योगदान दिँदा पनि यस्तो प्रश्न उठ्छ । जित्दा टोलीले जित्ने र हार्दा ओजिलका कारण हार्ने ?’

ओजिललाई गरिएको व्यवहार अपमानजनक रहेको भन्दै उनका बुबाले ओजिलले अहिल्यै राजीनामा दिनुपर्ने बताए । ‘उनले अब आफैं निर्णय लिनुपर्छ । यदि म उनको स्थानमा भएको भए बिदा लिइसक्थें,’ उनले भने, ‘यो निकै दु:खदायी क्षण हो । अर्को खेलमा के हुन्छ भन्ने स्थितिमा छैनौं । यो मेरो व्यक्तिगत अभिव्यक्ति होला तर उनले अब यो टोलीमा खेल्नु हुन्न ।’

प्रकाशित : असार २५, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?