कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अभागी ब्राजिल, कमजोर उरुग्वे

विश्वकप विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — उरुग्वेले पहिलो चरणमा गरेको प्रदर्शन शुक्रबार खेल्न सकेन । फ्रान्सविरुद्ध रक्षात्मक रणनीति लिएर उत्रिएको उरुग्वेले काउन्टर अटयाकको सहारा लिएर फ्रान्सलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।

अभागी ब्राजिल, कमजोर उरुग्वे

पछिल्ला खेलमा निकै राम्रो देखिएको लुइस स्वारेज र इडिन्सन काभानीको जोडी पनि उरुग्वेले कमी महसुस गर्‍यो । काभानी नहुनाले उरुग्वेको आक्रमणमा धेरै कमजोरी देखियो ।

शारीरिक रूपमा केही बलियो देखिए पनि उरुग्वेले धेरै फाउल खेलेको थियो । फ्रान्सले त्यसै गल्तीबाट निस्केको फ्रिकिकको फाइदा लिँदै खेलमा अग्रता लिन सफल भयो । एन्टोइन ग्रिजमनको उत्कृष्ट फ्रिकिकलाई भारानले पोस्टको दिशा दिए । फ्रान्सले बल पोसेसनमा धेरै ध्यान पुर्‍याएको थियो । आक्रमणमा ग्रिजमन र केलियन एमबाप्पेले बिल्डअपबाट आएको केही मौकाको सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा फ्रान्सका गोलरक्षक हुगो लोरिसले गरेको उत्कृष्ट बचाउले पनि खेल फ्रान्सकै पक्षमा राख्न मदत पुर्‍याएको थियो । दोस्रो हाफमा फ्रान्सले उरुग्वेको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्‍यो । ग्रिजमनको लामो प्रहारलाई गोलरक्षक फर्नान्डो मुस्लेराले बचाउन सकेनन् । तर त्यसअघि डिफेन्सले ग्रिजमनलाई उक्त प्रहार गर्न दिनु नै गल्ती थियो । डिफेन्सले केही अल्छी गरेको जस्तो देखियो ।

उरुग्वेको मुख्य हतियार नै स्वारेज र काभानीको साझेदारी थियो । काभानी नहुने बित्तिकै उरुग्वेले त्यही धारमा प्रदर्शन गर्न सकेन । फ्रान्सले एक सन्तुलित टोलीको प्रदर्शनलाई निरन्तरता दियो । गोलरक्षणदेखि डिफेन्स, मिडफिल्ड र फरवार्ड सबै पक्षमा खेलाडीको सन्तुलन मिलेको छ । दाबेदारको रूपमा प्रतियोगिता सुरुआत गरेको फ्रान्स उपाधितर्फ अग्रसर छ ।

अर्को क्वाटरफाइनलमा ब्राजिल बेल्जियमसँग पराजित हुन पुग्यो । ब्राजिलले आफ्नो नियमित शैलीलाई निरन्तरता दिएको थियो । खेलको सुरुआतमा पाएको मौका सदुपयोग गर्न नसक्नु ब्राजिललाई भारी पर्‍यो । बेल्जियमले आत्मघाती गोलको सहाराले अग्रता लिन सक्यो । दुवै टोलीको आक्रमण राम्रो भए पनि खेलमा जम्न दुवै टोलीलाई समय लाग्यो । ब्राजिलका विलियनले पछिल्ला खेलको प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । नेयमर र कोउटिन्होले अपेक्षाकृत प्रदर्शन गरे पनि बेल्जियमका डिफेन्स बाधक बनिरह्यो ।

बेल्जियमले ट्रान्जिसनमा ब्राजिललाई माथ दिँदा खेलमा पकड बनाउन सक्यो । डिफेन्सबाट अटयाकमा जाँदा बेल्जियमले दबाब बनाउन सक्यो । विशेषत: भिन्सेन्ट कोम्पनीको आगमनले बेल्जियमको डिफेन्स अझै बलियो देखिएको छ । उनले पहिलो चरण चोटका कारण बाहिर बसेका थिए । गोलरक्षक थिबाउट कोर्टियसले पनि निकै राम्रो खेले । लगातार ब्राजिलको आक्रमणको बाधक बनेका उनले ठूलो खेलमा चाहिने प्रदर्शन दिए । इडेन हाजार्ड, रोमेलु लुकाकु र केभिन डे बु्रयनले तीव्र गतिको आक्रमणसँगै ब्राजिलको डिफेन्सलाई निरन्तर दबाबमा राखिरहे ।

बेल्जियम र फ्रान्स दुवै टोली सन्तुलित देखिन्छ । सेमिफाइनल पोलमा यो फ्रान्स र बेल्जियमको खेल निकै कठिन देखिन्छ । सेमिफाइनलमा दुवै टोलीले निकै कम अवसर पाउने देखिन्छ । जसले पाएको सानो अवसरको सदुपयोग गर्छ, उसैले उपाधि भिडन्तमा स्थान बनाउने देखिन्छ ।

प्रकाशित : असार २४, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?