कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

[विश्लेषण] अब नयाँ पुस्ताको पालो

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा हिजो राति दुई ठूला नामले अन्तिम पटक खेले, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । लामो समयदेखि यिनै दुई खेलाडी विश्व फुटबलमा छाइरहेका थिए, संयोगले एकै दिन उनीहरूको टिमको चुनौती रुसमा समाप्त भयो । सम्भवत: दुवै खेलाडीका लागि यो विश्वकप अन्तिम हुन सक्छ । 

[विश्लेषण] अब नयाँ पुस्ताको पालो

सायद अबको विश्वकपमा उनीहरूले खेल्ने छैनन् । यससँगै विश्व फुटबलमा एक युगको समाप्त भएको छ र अब नयाँ पुस्तामा विश्व फुटबल हस्तान्तरण भएको छ । अब ठूला नामका रूपमा नयाँ पुस्ताका खेलाडी अगाडि आउने छन् । हिजो रातिका दुई अन्तिम १६ का खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हरायो भने पोर्चुगलमाथि उरुग्वे २–१ ले विजयी रह्यो ।

मेरो विश्लेषणमा अर्जेन्टिनालाई सुरुदेखि उनीहरूको अनावश्यक ट्याकल खेल्ने कारणले ठूलो घाटा पुर्‍याएको थियो । फ्रान्सले पहिलो गोल पेनाल्टीबाट गरेको थियो र त्यसमा पनि यही कारण रह्यो । फ्रान्सले त्यसमा ट्याकल नै गर्नु थियो भने सुरुमै पेनाल्टी एरिया बाहिर गर्नु पर्ने थियो । फ्रान्सले भने निकै राम्रो खेल खेल्न सफल रह्यो ।

केयनिल एमबापेले अब्बल दर्जाको खेल खेले र उनलाई रोक्न अर्जेन्टिना पूर्णतस् असफल रह्यो । उनीसँगै फ्रान्सले आक्रमणमा जुन गति तयार पारेको थियो, त्यसलाई अर्जेन्टिनाले ठीकसँग सामना नै गर्न सकेन । अर्जेन्टिनाका लागि एन्जेल डि मारियाले एक गोल त गरे, तर त्यस अगाडि उनी खेलमा कहाँतिर थियो, त्यो देख्दै देखिएन् । उनी हराएका जस्तै थिए ।

अर्जेन्टिनी डिफेन्स वास्तवमै कमजोर देखियो, पूरा प्रतियोगितामा । यता फ्रान्सले जति आक्रमण बुनेको थियो, त्यसमध्ये गोल नभएको स्थितिमा पनि ती स्तरीय देखिए । फ्रान्सको सफलताको एक कारण सफलतापूर्वक मेसीलाई रोक्नु रह्यो । जसरी फ्रान्सले मेसीलाई रोकेको थियो, ठीक त्यसरी नै उरुग्वेले पनि रोनाल्डोलाई निस्तेज पारेको थियो ।

यो पनि यी दुई टिमको सफलताको एक प्रमुख कारण रह्यो । उरुग्वे र फ्रान्सबीचको खेल एक प्रकारले ५०–५० जस्तै रह्यो । तर पनि दक्षिण अमेरिकी टिमले दुई गोल गर्‍यो र दुवै गोल एडिनसन कबानीको नाममा रह्यो । कबानीले यसक्रममा आफू कति स्तरीय खेलाडी हो भनेर सिद्ध गर्न सके । उनका दुवै गोल उत्कृष्ट थिए ।

त्यसमध्ये पनि पहिलो गोल निकै राम्रो रह्यो । खासमा उरुग्वेली टिमको प्रमुख विशेषता र बलियो पक्ष भनेकै टिमका दुई प्रमुख खेलाडी लुइस स्वारेज र कबानीबीचको ठीक तालमेल हो । यसै कारणले टिमको गोल पनि निस्के । उरुग्वेले यसैक्रममा लगातार चार खेल जितेको छ, लिग चरणका तीन जितसँगै । यसले देखाउँछ, टिम लयमा छ ।

पोर्चुगलले पनि उरुग्वेविरुद्ध आक्रमण नगरेको होइन, तर ती प्रभावशाली देखिएनन् । उरुग्वे दुई गोल गरेपछि केही हदसम्म रक्षात्मक पनि देखियो । तर पोर्चुगललाई गोलको अवसर नदिनुमा उरुग्वेली रक्षापंक्तिको पनि प्रशंसा गर्नै पर्छ । पोर्चुगलले लामो पास खेल्न चाहिरहेको थियो र सकेसम्म बल रोनाल्डोतर्फ फ्यालिरहेको थियो, तर उनी आफै भने उरुग्वेको कडा रक्षापंक्तिको जालोमा थिए ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १७, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?