कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

[विश्लेषण] जापान भाग्यमानी सावित

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा बिहीबारदेखि लिग चरणका खेल समाप्त भए । अब अन्तिम १६ मा पुग्ने सबै टिमको निर्णय भइसकेको छ । बिहीबार अन्तिम दुई समूहमा लिग चरणका अन्तिम खेल थिए ।

[विश्लेषण] जापान भाग्यमानी सावित

समूह ‘एच’ बाट कोलम्बिया र जापान दोस्रो चरण पुग्ने । कोलम्बियाले लिग चरणको यात्रालाई सुखद अन्त्य गरेको छ, पहिलो खेल हारेर पनि ।


जापान भने भाग्यमानी रह्यो, फियर–प्लेको नियममा रहेर सेनेगलसँग समान अंक र गोल अन्तरमा पनि अर्को चरण पुग्यो । सेनेगेलका लागि स्थिति दुखद रह्यो । कोलम्बियाले सेनेगललाई १–० ले हरायो । सेनेगललाई त्यो खेल जित्नु थियो, अथवा बराबरीले पनि फाइदा गर्न सक्थ्यो । त्यसैले उसले सायद सुरक्षित रहेर खेल्न ठीक सम्झे जस्तै देखिन्छ ।

यसक्रममा सेनेगलले आक्रामणहरू बुनेपनि त्यो निर्णायक हुन सकेन । उसले कप्तान सादिओ मानेलाई लक्ष्यमा राखेर लामो लामो पास खेलिरहेको थियो । फेरि कोलम्बियाको डिफेन्स पनि मजबुत छ, यसलाई तोड्न सजिलो छैन । कोलम्बियाका लागि येरी मिनाले गरेको गोल उत्कृष्ट थियो । अर्को खेलमा पोल्यान्डले जापानलाई १–० ले नै हरायो ।


जापानले यो खेल बराबरीका लागि खेलेको जस्तो देखिन्थ्यो । खासै जोखिम उठाइरहेको थिएन् । जापानले एक गोल खाएपछि अझ सुस्त खेलेको देखियो । यता पोल्यान्डले पनि एक गोल गरेपछि थप आक्रमणका लागि प्रयास गरेको देखिएन् । उसलाई पनि एक जितसँग घर फर्कनु राम्रो थियो । पोल्यान्डको रणनीति पनि दबाबमा नआउने जस्तै देखियो ।


उसले प्रायस् आफ्ना प्रमुख खेलाडी रोबर्ट लेवनडोस्कीतिर बल पास मिलाउन खेलिरहेको जस्तो देखिन्थ्यो । हिजो नै राति समूह ‘जी’ का खेल पनि भए । यस समूहबाट बेल्जियम र इंग्ल्यान्ड यस अगाडि नै दोस्रो चरण पुसिसकेको थिए । यस्तोमा यी दुई टिमको खेल समूह कसले जित्ने हो भन्ने बारे नै थियो । यसमा बाजी मार्‍यो, बेल्जियमले ।


बेल्जियम १–० ले विजयी रह्यो । उसले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो । ट्युनिसिया र पानामाबीचको खेल प्रतिष्ठाको लडाइ थियो, यसमा ट्युनिसिया विजयी रह्यो । पानामाले सुरुमै अग्रता लिएर पनि त्यसलाई बचाउन सकेन । दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा यसै मानसिकताले उनीहरूको खेललाई प्रभावित पारेको देखियो ।


(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १५, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?