दुई खुट्टा भाँचिएको अर्जेन्टिना

ब्राजिलमा भएको विश्वकपपछि अर्जेन्टिनाले तीन प्रशिक्षक फेरिसकेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा पनि अर्जेन्टिनाको प्रदर्शन राम्रो हुन सकेको थिएन ।

निझ्नी नोभ्गोरोड — पक्कै पनि अर्जेन्टिनाका लागि यो भन्दा खराब त अरू हुनै सक्दैन । विश्वकपको आफ्नो पहिलो खेल सानो न सानो आइसल्यान्डविरुद्ध थियो । त्यसमा टिमका कप्तान र स्टार खेलाडी लियोनल मेसी पेनाल्टीबाट गोल गर्न चुके, नतिजा अर्जेन्टिना बराबरीमा रोकियो । बिहीबार राति सन् २०१४ को उपविजेताका लागि अझ खराब भयो, साँच्चै धेरै खराब ।

दुई खुट्टा भाँचिएको अर्जेन्टिना

आइसल्यान्डविरुद्धको खेलमा बेहोरको निराशापछि अर्जेन्टिनाले क्रोएसियाविरुद्ध अझ बिर्सनलायक खेल प्रदर्शन गर्‍यो । अब अर्जेन्टिना ३–० को दर्दनाक हारपछि प्रतियोगिताबाटै बाहिरिने खतरामा पुगेको छ । प्रशिक्षक जोर्गे साम्पोलीले खराब लयमा रहेको टिममा जादु छर्दै नाइजेरियाविरुद्ध समूह ‘डी’ को खेलमा जित दिलाए पनि त्यो नपुग हुन सक्छ । अर्जेन्टिनी भाग्य अब आफ्नोमा मात्र होइन, अरूमा निर्भर हुनेछ ।

अर्जेन्टिना नकआउट चरणमा पुग्ने हो भने समूहको अरू खेलको नतिजा उसको अनुकूल हुनुपर्छ । कार्ल माक्र्स सडक र निझ्नी नोभ्गोरोड रंगशालामा रहेका अर्जेन्टिनी समर्थकलाई आफ्नो टिमको कमजोरीबारे बुझ्न धेरै समय लागेन । आइसल्यान्डविरुद्ध देखिएको समस्या खासमा एक खेलको मात्र थिएन । यसले त पूरा टिमलाई धमिराको पाराले खाइरहेको रहेछ ।

कमजोरी कहाँबाट मात्र सुरु गर्ने ? साम्पोलीको डिफेन्समा ठूलो प्वाल जस्तै देखिन्थ्यो । त्यसैलाई चिर्दै ५३ औं मिनेटमा अर्जेन्टिनी टिममाथि ठूलो विपत्ति आइपुग्यो । गोलरक्षक विल्फ्रेड काबालेरोले क्रोएसियाका एन्टे रेबिचलाई पहिलो गोलको उपहार थिए । त्यसको ठीकविपरीत छेउ, मेसी मैदान होइन, कतै पार्कमा घुमिरहेका जस्ता देखिन्थे, जबकि पूरा टिम उनमै निर्भर थियो ।

लुका मोड्रिच

पहिलो एक घण्टाको खेलमा मेसीले खालि १५ पास मात्र खेले । खेलको अन्त्यमा त काबालेरोले नै बढी पास खेले, ३६, जबकि मेसीले ३१ पास मात्र खेले । ‘जुन प्रकारले क्रोएसियाले हामीमाथि पहिलो गोल गर्‍यो, हामी मानसिक रूपमा टुट्यौं,’ निराश र स्तब्ध देखिएका साम्पोलीले भने । क्रोएसियाले लिएको अग्रता वास्तवमै विश्वास गर्न योग्य थिएन ।

काबालेरो तीनै गोलरक्षक हुन्, जसकै कारण आइसल्यान्डले एक गोल फर्काएको थियो । क्रोएसियाविरुद्ध त उनले बेतुकको ‘चिप्ड–पास’ खेले र बल सिधै रेबिचसम्म पुगेको थियो । रेबिच पनि के कमका थिए, त्यसमा आकर्षक ‘भली’ प्रहार गर्दै बललाई पोस्टको दिशा दिए, नजिकको दूरीबाट । खासमा काबालेरोको भूलले सम्भव यस गोल अगाडि क्रोएसिया ब्राजिलको तुलनामा बढी आक्रामक देखिएको थियो ।

फेरि क्रोएसियाको डिफेन्सले मेसीलाई निकै च्यापेको थियो, हलचल नै हुन नदिने किसिमले । बार्सिलोनाका लागि त मेसी हुँदै नभएको स्थितिमा पनि अवसर सिर्जना गर्न माहिर छन्, त्यो निर्णायक ढंगले । तर क्रोएसियाविरुद्ध उनी फिटिक्कै चलेको देखिएन । निराश मेसी कि त टाउको हल्लाएर निराशा पोखिरहेका थिए, कि त आफ्नो आकाशे र सेतो धर्सो–धर्सो भएको जर्सीसँग मेल नखाने गरेर दाह्री सुमसुम्याइरहेका थिए ।

निराश अर्जेन्टिनी समर्थक

‘हामीले मेसीलाई पास नै दिन सकेनौं,’ साम्पोलीले पनि माने । क्रोएसियाली कप्तान लुका मोड्रिचले पनि पछि भने, टिमको रणनीति नै थियो, मेसीलाई चुपचाप शान्त राख्ने । बरु मोड्रिच आपैंm भने निकै सक्रिय रहे र ८० औं मिनेटमा सुन्दर गोल गरे । यो त्यस्तै गोल थियो, जुन प्राय: अरू बेला मेसीले गर्ने गर्छन् ।

मोड्रिचले पेनाल्टी एरिया छेउ पाएको बललाई दुई ‘टच’ दिए । अनि बललाई घुमाउने बाटो देखाउँदै जाली चुमाए । बल यसरी घुमेर आएको थियो कि काबालेरोले त्यसलाई छुन मात्र सके । यो गोलले खेलको नतिजा तय जस्तै गरिसकेको थियो । तर खेलमा अझै समय बाँकी थियो, फेरि एकपल्ट अर्जेन्टिनी कमजोर डिफेन्सको वास्तविक चरित्र देखाउने । यसपल्ट गोल गर्ने पालो मेसीका बार्सिलानाका साथी खेलाडी इभान राकिटिचको थियो ।

क्रोएसियाका समर्थक


यसअघि उनको फ्रि–किक पोस्टमा ठोकिएको थियो । तर तेस्रो गोलका लागि भने उनलाई सामान्य प्रहार नै पर्याप्त रह्यो, माटेओ कोभाचिचको पासमा, त्यो पनि नजिकको दूरीबाट । यो जित कस्तो रह्यो भने अब क्रोएसियाले विश्वकपको नकआउट चरण प्रवेश लगभग निश्चित जस्तै मान्न सक्छ । अर्जेन्टिनाको स्थिति भने यसको ठीक उल्टो ।

यहाँनेर केहीले मेसीको खराब प्रदर्शनसँग उनको समकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग दाँज्न पनि भुलेनन् । पोर्चुगाली रोनाल्डो भने खुबै लयमा देखिएका छन् । सायद मेसीको काँधमा चार करोड अर्जेन्टिनी फुटबलप्रेमीको विश्वासको वजन धेरै भयो कि ? रोनाल्डोले त दुई खेलमा चार गोल गरिसकेका छन् । जहाँ रोनाल्डोको अनुहारमा खुसी देखिएको छ, त्यहीं मेसीको अनुहारमा पीडा ।

अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओली

बिहीबारको खेलपछि शिर झुकाएर मेसी यसरी रंगशालाको ‘टनल’ बाट हराए कि धेरैले चालै पाएनन् । साम्पोलीले विश्वकप अगाडि मेसीलाई भगवान्कै रूपमा चित्रण गरेका थिए, मेसीलाई ‘सुपरम्यान’ जस्तै भएको दाबी पनि गरे । तर दुई खराब खेल, सबै तहसनहस भएको छ । धेरैले अर्जेन्टिनाको खराब प्रदर्शन पछाडि दोष जति सारा मेसीलाई नै दिन थालेका पनि छन् ।

निराश मुद्रामा अर्जेन्टिनाका खेलाडी

तर प्रशिक्षक भन्छन्, ‘अहिले यी दुई महान् खेलाडीको तुलना गर्ने समय भएको छैन । सत्य के हो भने अर्जेन्टिनी टिम खालि मेसीकै खेलमा टिकेको थियो । मेसी यसपल्ट निराश किन पनि हुनुपर्‍यो भने उनलाई साथ दिने टिम पछाडि थिएन ।’ खासमा अर्जेन्टिनी फुटबललाई जसले नजिकबाट हेरिरहेको छ, अहिलेको असफलता अनौठो पनि त होइन ।

ब्राजिलमा भएको विश्वकपछि अर्जेन्टिनाले तीन प्रशिक्षक फेरिसकेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा पनि अर्जेन्टिनाको प्रदर्शन राम्रो हुन सकेको थिएन । अन्तिम मोडमा त हो, अर्जेन्टिना भाग्यले रुसका लागि छनोट हुन सकेको । फेरि अर्जेन्टिनाको फुटबल संघ मात्र कहाँ ठीक स्थितिमा छ र ? अहिले त्यो संघ एकपछि अर्को काण्डबीच आपतकालीन व्यवस्थापनमा चलिरहेको छ, फिफाको निर्देशनअनुसार ।

क्रोएसियाका खेलाडी खुसी साट्दै

जर्जी सिगनेटी ५९ वर्षका भए, उनी मेसीलाई खुबै मन पराउँछन् । उनले तीन विश्वकप भयो, आफ्नो देशको टिमको प्रदर्शन हेरेको । उनी भन्छन्, ‘एउटा टेबलमा चार खुट्टा हुन्छ । यी चारै खुट्टा मेसीको हुन सक्दैन । अर्जेन्टिना दुई खुट्टा भाँचिएको टिम हो ।’ साम्पोलीले पनि खेलपछि निराश हुँदै भनिसकेका छन्, ‘अर्जेन्टिनी फुटबलका समर्थक हो, मलाई माफ गरिदेऊ ।’

तारिक पान्जा र जाेएल पिटरसन्स
–न्युयोर्क टाइम्स

तस्बिरहरू : एपी/रोयटर्स

प्रकाशित : असार ९, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?