कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आयातित विश्वकप टिम

मोरक्कोको छनोट यात्राले देखाउँछ, कसरी देशहरू परिवर्तन भइरहेका छन् । पूरा विश्वकप कसरी डायास्पोरामा परिवर्तन भएको छ ।
मोरक्कोले विश्वकप खेल्ने टिम घोषणा गर्दा २३ खेलाडीमध्ये १७ विदेशमा जन्मेका समावेश छन् ।
न्यूयोर्क टाइम्स

क्यासब्लान्का, मोरक्को — मिडफिल्डर सफयान अम्रबाटसँग कुरा गर्नु अगाडि नै रुड गुलिट लगभग निश्चित भइसकेका थिए, उनलाई फकाउन सकिने छैन । यी २१ वर्षीय अम्रबाट निकै राम्रा प्रतिभा हुन् । उनले चाहेको भए, सजिलै नेदरल्यान्ड्सका लागि खेल्न सक्थे ।

आयातित विश्वकप टिम

आखिरमा उनी एमस्टर्डम नजिकको गाउँ हुइजेनमा जन्मेका हुन् । उनले आफ्नो पूरा जीवन नेदरल्यान्ड्समै बिताए । यहाँ नै उनले फुटबल खेल्न पनि सिके ।

उनीसामु दुई विकल्प तयार थियो । नेदरल्यान्ड्सका लागि खेल्ने वा मोरक्कोका लागि ? यो उत्तर अफ्रिकी देश उनका बुवा र बाजे जन्मेको देश हो । ‘परिवारले उनलाई मोरक्कोबाट खेल्न तयार पार्‍यो,’ गुलिट भन्छन्, ‘यस्तोमा उनीसामु अर्को विकल्प रहेन ।’ अम्रबाटसँगै मोरक्कोको टिममा नेदरल्यान्ड्समा जन्मेका पाँच खेलाडी छन् अनि विश्वकप खेल्न लागेको यो टिमका कप्तान नै फ्रान्समा जन्मेका हुन्, इटालीमा खेल्छन् ।

यस्तै टिमका एक डिफेन्डर स्पेनबाट छन्, जसले रियल म्याड्रिडमा फुटबल सिके । खासमा मोरक्कोको टिम २० वर्षयता विश्वकपमा फर्केको छ । रमाइलो के भने मोरक्कोको पूरा जस्तै टिमका खेलाडी विदेशमा जन्मेका हुन् । यिनीहरूले फुटबल पनि युरोपका विभिन्न विदेशी क्लब र एफएका एकेडेमीमा सिकेका हुन् । मोरक्कोले विश्वकप खेल्ने टिम घोषणा गर्दा २३ मध्ये १७ विदेशमा जन्मेका खेलाडी छन् । सके यो संख्या अझ बढ्नसक्ने थियो ।

युवा आक्रामक खेलाडी मिमोउन माही यसपल्ट विश्वकप टिममा परेनन् । तर उनी जस्ता सयौं वा हजारौं फुटबल खेलाडी धेरै टाढा विदेशमा जन्मिरहेका छन्, हुर्किरहेका छन्, जसलाई मोरक्कोका लागि खेल्दा खुसी हुन्छ । यी माही डच क्लब ग्रोनिनगेनबाट खेल्छन् । केही समयअघि उनले मालीविरुद्ध मोरक्कोका लागि खेल्दै गोल गरे । त्यतिबेला उनको खुसी हेरिनसक्नु थियो । त्यो खेलमा मोरक्को ६–० ले विजयी रह्यो ।

हाकिम जिएच

तीन दशकअघि माहीको परिवारले युरोपका लागि मोरक्को छाडेका थिए । अहिले यिनै नयाँ पुस्ताका खेलाडीले आफ्नो आमाबुवा जन्मेको देशका लागि गोल गर्दा खुसीले आँसु रोक्न सक्दैनन् । ‘आफ्ना छोराहरूले मोरक्कोका लागि खेल्दा आमाबुवा पनि उत्तिकै खुसी हुन्छन्,’ माहीले सुनाए । संयोग कस्तो भने मालीविरुद्धका सबै गोल तिनै खेलाडीले गरेका थिए, जसको जन्म युरोपमा भएको थियो, मोरक्कोमा होइन । खासमा मोरक्कोको सफल विश्वकप छनोट यात्राले देखाउँछ, कसरी देशहरू परिवर्तन भइरहेका छन् । पूरा विश्वकप कसरी ‘डायास्पोरा’ मा परिवर्तन भएको छ । सन् १९९८ मा मोरक्कोले अन्तिमपल्ट विश्वकप खेलेको थियो । त्यति बेला टिमका दुई खेलाडीमात्र विदेशमा जन्मेका थिए । अहिले यो संख्या १७ पुगेको छ । सन् २०१४ मा मोरक्कोले विदेशमा जन्मेका खेलाडीलाई पनि खेलाउने नियम ल्याएको हो, छिमेकी अल्जेरियाको सिको गर्दै ।

अल्जेरियाले त्यति बेला फ्रान्समा जन्मेका खेलाडीमा टिकेर विश्वकपको दोस्रो चरणसम्म यात्रा तय गरेको थियो । मोरक्कोको यो विश्वकप यात्राको दोस्रो रूप पनि छ । यो हो, कसरी युरोपमा जन्मेका खेलाडीले राष्ट्रिय भावनामा बगेर आफ्ना आमाबुवाको देशलाई राजेका छन् । मोरक्कोका अधिकांस खेलाडीको जन्म नेदरल्यान्ड्स वा फ्रान्समा भएको छ । केही बेल्जियम, जर्मनी र स्पेनका पनि छन् । वास्तवमा भन्ने हो भने मोरक्कोमात्र त्यस्तो टिम होइन, जसले विदेशमा जन्मेका खेलाडीको मात्र भर परेको छ ।

ट्युनिसियासँगै पोर्चुगल, स्विट्जरल्यान्ड र अझ रुसले पनि विदेशमा जन्मेका खेलाडीलाई टिममा राखेका छन् । तर यी टिम मोरक्कोजत्तिको भने छैन, विदेशमा जन्मेका खेलाडीको मामिलामा । यस्तोमा मोरक्कोका फ्रान्सेली प्रशिक्षक हार्भे रेनार्ड भन्छन्, ‘फुटबलमा मुख्य आवश्यकता टिमभावना हो । योबिना केही पनि सम्भव छैन ।’

मोरक्कोको टप–स्कोरर हाकिम जिएच मध्य–नेदरल्यान्ड्समा जन्मेका हुन् । सुरुमा उनले आफू जन्मेकै देशका लागि खेल्ने बताएका थिए । उनी भन्थे, ‘नेदरल्यान्ड्सले नियमित रूपमा ठू–ठूला प्रतियोगिता खेल्ने गर्छन् ।’ तर डच टिम सन् २०१६ को युरोमा छनोट हुन असफल रहेपछि उनले पनि मन फेरे । माहीले त उमेर समूहमा नेदरल्यान्ड्सकै टिमबाट खेले । पछि आफ्ना बुवाको सपना पूरा गर्ने भन्दै उनले मोरक्कोबाट खेल्ने निर्णय गरे ।

एक व्यावसायिक खेलाडीका लागि युरोपमा क्लब फुटबल खेलेर अफ्रिकी देशका लागि खेल्न सजिलो भने हुन्न । प्रत्येक दुई वर्षमा हुने अफ्रिकी कप अफ नेसन्सले पनि खेलाडीलाई अप्ठ्यारोमा पार्न सक्छ । तर केही खेलाडीका लागि आफ्नो देश र त्यसप्रतिको भावनाले पनि धेरै महत्त्व राख्ने गर्छ । त्यसमाथि पछिल्लो समय केही युरोपेली देशमा आप्रवासीप्रति अनुदार राजनीतिक पार्टी अगाडि आउन थालेका छन् । त्यो पनि विशेषत: नेदरल्यान्ड्समै ।

तारिक पान्जा

– न्युयोर्क टाइम्स

प्रकाशित : जेष्ठ २९, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?