२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘एकता नै विश्वकप जित्ने मूलमन्त्र’

द गार्डियन

इटाली — विश्वकप जित्नु भनेको एक फुटबलरको जिन्दगीकै सबैभन्दा सुखद अनुभव हो । विश्वका धेरै मानिसले बाल्यकालमा एक दिन विश्वकप जित्ने सपना संगालेका हुन्छन् । र वास्तविकतामा यो सफलता पाउनु शब्दमा वर्णन गर्न सकिन्न । यो खुसी पूरै जिन्दगी साथ रहन्छ ।

‘एकता नै विश्वकप जित्ने मूलमन्त्र’

पक्कै पनि विश्वकप जित्नु चानचुने कुरा हैन । हालसम्म २० टोलीले मात्र यो सफलता हात पारेका छन् । म आफू यति कम मानिसको सूचीमा सामेल हुन पाउँदा भाग्यमानी ठान्छु । हामीले सन् २०१६ मा विश्वकप जित्नुको पछाडि थुप्रै कारण छन् । तर त्यसको मुख्य कारण भनेको हाम्रो टोलीको एकता थियो । हामीले जर्मनीमा एकत्रित भएर डटयौं, एक राम्रो टोलीका रूपमा ।

कुनै पनि टोलीमा व्यक्तिगत खेल कौशलभन्दा टोलीको एकता महत्त्वपूर्ण हुन्छ । सबै खेलाडीको लक्ष्य एक भएर अघि बढेमा सफलता प्राप्त हुने पक्का छ । सन् २००६ मा हामी सबैको लक्ष्य विश्वकप उपाधि जित्नु थियो र हामी सफल पनि भयौं । हामी खेलाडीमात्र नभएर साथीको एक समूहमा थियौं । जसले हाम्रो लक्ष्य प्राप्तिमा निकै सहज बनायो । हामीलाई कुनै टोलीले रोक्न सकेन । हामी हरेक अवरोध पन्छाउँदै अगाडि बढिरह्यौं । हामी त्यतिबेला दुई वर्षदेखि एकै समूहका खेलाडी साथ रहेर अगाडि बढेका थियौं । हामीले एकअर्कालाई प्रशिक्षण र खेलमात्र नभएर व्यक्तिगत रूपमा पनि निकै नजिकैबाट नियाल्ने मौका पायौं । सबै सँगै हुँदा शक्तिशाली रहेको अनुभव हुन्थ्यो । यो टोलीले विश्वकप जित्नेमा हामी आत्मविश्वासी थियौं । पूरै राष्ट्रले हामीमाथि विश्वास राखेको थियो ।

ती तमाम खेलाडी र प्रशिक्षक जो विश्वकप जित्न चाहन्छन् । सबैले भित्री हृदयदेखि के बुझ्न जरुरी छ भने विश्वकप जित्न मैदानभित्रभन्दा मैदानबाहिर बस्ने खेलाडीको बढी महत्त्व हुन्छ । हरेक दिन सबैजना टोलीसँग साथ रहेको अनुभव हुनुपर्छ । यदि कुनै खेलाडी पहिलो रोजाइमा परेको छैन भने पनि टोलीको मुख्य सदस्य रहेको मानसिकता बोकेर अघि बढ्नुपर्छ । टोलीमा हुनुको मतलब यही नै हो ।

इटालीले सन् २००६ मा विश्वकप जित्नुको मुख्य कारण पनि यही नै थियो । जो मैदानमा खेले र जो खेल्न पाएनन्, सबै एकै स्तरका खेलाडी थिए । को खेल्यो वा को खेलेनन् भन्ने कुरा कहिल्यै उठेन । जो कोही पनि राष्ट्रिय टोलीको जर्सीका लागि आफ्नो ज्यान दाउमा राख्न तयार थिए । खेलाडी जुनै स्तरको होस्, ऊ इटालीका लागि खेलिरहेको भन्ने मात्र थियो ।

एकताको भावनाले टोलीलाई अझै मजबुत पार्न मदत गर्छ । सन् २००६ को विश्वकपको समयमा क्याल्चियोपोली घटना भयो । इटालीका सबै जनता र सम्पूर्ण मिडियाले फाबियो कानाभारोलाई टोलीबाट बाहिर बसेको हेर्न चाहन्थे । कानाभारो हाम्रा कप्तान थिए । कप्तान टोलीको प्रतिनिधित्व गर्ने खेलाडी हो । हामीले उनको समर्थन र सम्मान गर्दै अगाडि बढ्यौं । त्यसले हामीलाई अझै बलियो बनाउन मदत गर्‍यो ।

परिवारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सबै खेलाडीको पत्नी र प्रेमिका अर्को होटलमा सँगै बसेका थिए । यो पनि एकताको प्रतीक थियो । हरेक खेलको भोलिपल्ट हामीले उनीहरूलाई भेट्ने गरेका थियौं । उनीहरू आधुनिक फुटबलका पत्नी–प्रेमिकाझैं बजार जाने गर्दैनथे । उनीहरू हाम्रो बालबच्चासँग पार्क घुम्न आउँथे । विश्वकप जित्ने टोली यसै गरी बनेको थियो, मैदानबाहिरको कार्यहरूले पनि निकै महत्त्व बोकेका हुन्छन् ।

मैदानभित्र भने विश्वकपअघि हुने तयारीले निकै फरक पार्छ । खेलाडी राम्रो स्थितिमा आउनु मुख्य पाटो हो । हरेक चार दिनमा खेल्नुपर्ने हुनाले शारीरिक रूपमा फिट हुनु अपरिहार्य हुन्छ । खेलको भोलिपल्ट न्युन प्रशिक्षण हुन्छ भने त्यसपछि एक वा दुईपल्ट पूर्ण प्रशिक्षण अनि खेल । खाली समय पाउन निकै गाह्रो हुन्छ ।

ठूलो खेल नजिकिँदै जाँदा समय कसरी व्यवस्थापन गरिन्छ भन्नेले पनि ठूलो महत्त्व बोकेको हुन्छ । उक्त समयको प्रयोग गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । म भने आफ्नो प्लेस्टेसनको प्रयोग गर्थें । म कहिले कोठामा एक्लै त कहिले समूहमा रहन्थे । त्यो बेला फ्रान्स र इटालीको फाइनल खेलअघि, खेलको लागि केही घण्टा बाँकी हुँदा मा आफ्नो कोठामा थिएँ । मसँगै फ्रान्सेस्को टोट्टी र भिसेन्जो इआकिन्टा प्लेस्टेसन खेल्दै थिए ।

विश्वकपमा हरेक जितपछि खुसी मनाउने समय नै हुन्न । क्वाटरफाइनल र सेमिफाइनलपछि केही समय हुन्छ तर त्यसपछि आउने खेलमा केन्द्रित रहनुपर्छ । हामीले सेमिफाइनलमा जर्मनीलाई पराजित गरेपछि फ्रान्सविरुद्धको फाइनलबारे सोच्न थालिसकेका थियौं । त्यो नै जितको मानसिकता थियो ।

प्रशिक्षकको निडर स्वभाव पनि विश्वकप जिताउने महत्त्वपूर्ण पाटो हो । त्यस बेला हाम्रो प्रशिक्षक मार्सेलो लिप्पी त्यस्तै थिए । उनले खेलको समयमा केही कठिन निर्णय लिन्थे जसले खेलको स्थिति बदलिने गथ्र्याे । यदि प्रशिक्षकसँग त्यो व्यक्तित्व र निडर स्वभाव छ भने जस्तोसुकै खेलाडीले भनेको सुन्छ र सम्मान गर्छ ।

मानसिक रूपमा भन्नुपर्दा खेलाडीले कहिल्यै आत्मविश्वास गुमाउनुहुन्न । मैले कहिल्यै नबिर्सने क्षणमा पक्कै पनि फाइनलमा फ्रान्सविरुद्धको गोल पर्छ । तर त्यसको केही मिनेटअघि मैले फाउल हानेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । मलाई अझै पनि त्यो कटु सत्य र निराशा याद छ । भित्रैदेखि नराम्रो लागेको थियो । उक्त पेनाल्टीमा जिनेदिन जिदानले गल्ती गरुन् भन्ने मेरो आस थियो तर त्यसो भएन । मैले आफूलाई हार नमान्न भने र भाग्यवश मैले त्यो कहिल्यै नभुल्ने गोल गरें ।

उक्त विश्वकपबाट मैले मानसिक रूपमा सधैं याद गर्ने एउटा क्षण छ । काग्लियारीका पूर्व फरवार्ड गिगी राभा, जसले राष्ट्रिय टोलीका लागि ४२ खेलमा ३५ गोल गर्दै दिग्गजको उपमा पाएका छन् । उनैले मलाई बोलाएर भने, ‘मार्को, मैले गरेको सयौं गोल तिम्रो त्यो एक गोलको बदला साट्न म तयार छु ।’ त्यसपछि मैले उक्त गोलको असली महत्त्व बुझें । मैले त्यसबेला नै यो असामान्य समूहको शक्तिबारे थाहा पाएँ । विश्वकप, एक एकत्रित समूहले मात्र जित्न सक्छ, जुन त्यो बेलाको इटालीसँग थियो ।

(द गार्डियनका फब्रिजियो रोमानोले लिएको अन्तर्वार्ता अनुवाद)

प्रकाशित : जेष्ठ २९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?