३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अर्जेन्टिना विश्वविजेता

३६ वर्षपछि मेसीले फर्काए विश्वकप
राष्ट्रिय टिमबाट तत्काल संन्यास नलिने मेसीको घोषणा
गोल्डेन बुट– केलियन एमबाप्पे (फ्रान्स),गोल्डेन बल– लियोनल मेसी (अर्जेन्टिना)
गोल्डेन ग्लोभ– एमिलियानो मार्टिनेज (अर्जेन्टिना),उत्कृष्ट युवा खेलाडी– एन्जो फर्नान्डेज (अर्जेन्टिना)
राजु घिसिङ

दोहा — कतारमा आइतबार बिहानैदेखि माहोल अर्जेन्टिनाको पक्षमा थियो । मेट्रो, सपिङ मल, फ्यान जोनलगायत सार्वजनिक स्थलमा नीलो र सेतो धर्के जर्सी लगाउनेहरू आफ्नै भाषामा गीत गाउँदै उफ्रिरहेका थिए । धेरैले लियोनल मेसीको जर्सी लगाएका थिए । जर्सी नं. १० बजारमा पाउनै छाडेको थियो । विश्वकप २०२२ फाइनलका लागि चार घण्टाअघि नै लुसेल रंगशाला जाँदा मेट्रोमा उभिने ठाउँ पाउन पनि मुस्किल थियो । निजी कार, ट्याक्सीलगायत सवारीसाधनको ट्राफिक थेगिनसक्नु थियो ।

अर्जेन्टिना विश्वविजेता

समुद्र पुरेर बनाइएको लुसेल रंगशालाको माहोल पनि अर्जेन्टिनामय थियो । ८८ हजार ९ सय ६६ दर्शकमध्ये धेरैजसो अर्जेन्टिना समर्थक थिए । गीत गाउँदै, हात फैलाउँदै उफ्रिने अर्जेन्टिनी समर्थकले प्यारापिट भरिएको थियो । एउटा गोलपोस्ट पछाडि केही हजार मात्रै फ्रान्सका समर्थक थिए । खाडी क्षेत्रमा पहिलोपल्ट भएको फुटबल महाकुम्भ २९ औं दिनमा सकिँदा पूरा प्रतियोगिता अर्जेन्टिनामय रह्यो । अन्ततः अर्जेन्टिना ३–३ को बराबरीपछि फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराएर ३६ वर्षपछि विश्वकप च्याम्पियन भयो ।

यससँगै मेसीले पनि पाँचौं प्रयासमा विश्वकप जित्ने सपना पूरा गरेका छन् । मेसीको टिम ८ वर्षअघि पनि फाइनलमा पुगेको थियो । तर, त्यसबेला अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराएर जर्मनी च्याम्पियन भएको थियो । अर्जेन्टिना तेस्रोपल्ट विश्वविजेता बनेको हो । यसअघि मारियो केम्पस (सन् १९७८) र म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । विश्वकप विजेता भएसँगै मेसीले सर्वकालीन महान् खेलाडीका रूपमा आफूलाई बिनाप्रश्न उभ्याएका छन् । विश्वकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका उनले फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रमलाई विश्वकपमा आएर पूर्णता दिएका हुन् । गतवर्ष मात्रै उनकै उत्कृष्ट खेलमा अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन भएको थियो ।

फ्रान्सेली क्लब पीएसजीमा सँगै खेल्ने मेसी र केलियन एमबाप्पेबीचको प्रतिस्पर्धाजस्तै रह्यो फाइनल । २३ वर्षे एमबाप्पे विश्वकपको ९२ वर्ष लामो इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि इंग्ल्यान्डका जोफ हर्स्टले सन् १९६६ मा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । रुसमा चार वर्षअघि क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले उपाधि जित्दा एमबाप्पेले एक गोल गरेका थिए । त्यसैले उनी फाइनलमा सबैभन्दा बढी चार गोल गर्ने खेलाडी भएका छन् । यसपालि कुल ८ गोलसहित उनले गोल्डेन बुट अवार्ड जितेका छन् ।

सात गोल र तीन असिस्ट गरेका मेसीले उत्कृष्ट खेलाडीको अवार्ड ‘गोल्डेन बल’ हात पारे । उपाधि जित्ने क्रममा ३५ वर्षीय उनी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकप इतिहासकै एक्लो खेलाडी बने । मेसीले कतार जानुअघि यसैलाई करिअरको अन्तिम विश्वकप बताइसकेका थिए । विश्वविजेता बनेपछि भने उनले राष्ट्रिय टिमबाट तत्काल संन्यास नलिने घोषणा गरेका छन् ।

अवार्डमा अर्जेन्टिनाकै कब्जा रह्यो । गोलकिपर एमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ र एन्जो फर्नान्डेजले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

अर्जेन्टिना पहिलो खेल हारेर पनि विश्वकप जित्ने दोस्रो टिम हो । साउदी अरेबियाविरुद्ध २–१ ले हारेपछि प्रत्येक खेल फाइनलजस्तै रहेको अवस्थामा जित निकाल्दै अर्जेन्टिना च्याम्पियन भएको हो । स्पेनले सन् २०१० मा पहिलो खेल हारेपछि कमब्याक गर्दै उपाधि जितेको थियो । साउदीविरुद्ध हारेपछि अर्जेन्टिना मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियालाई सिकार बनाउँदै फाइनलमा फ्रान्सलाई पन्छाएर च्याम्पियन भएको हो ।

सनसनीपूर्ण खेल

डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध मैदानभित्रको प्रतिस्पर्धामा पनि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले कप्तान मेसीको पेनाल्टी र एन्जेल डी मारियाको गोलमा २–० को अग्रता लिएको थियो । त्यसैले दक्षिण अमेरिकी च्याम्पियनलाई डिएगो म्याराडोनाको युगपछि विश्वकप विजेता बन्न गाह्रो नहुने अनुमान गरिएको थियो । उसका समर्थकले निरन्तर गीत गाउँदै, उफ्रिँदै खुसीयाली मनाउन थालेका थिए ।

तर, खेलाडी परिवर्तन गर्दै फ्रान्सले ६० मिनेटपछि लय समात्यो । केलियन एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सको उपाधि जोगाउने आस कायमै राखे । एक मिनेटभित्रै उनले लोभलाग्दो गोल गरेपछि निर्धारित समय २–२ को बराबरीमै टुंगियो । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय अत्यन्तै रोमाञ्चक रह्यो ।

कप्तान मेसीले १०८ औं मिनेटमा अर्जेन्टिनालाई ३–२ ले अघि बढाउँदै फेरि जितनजिक पुर्‍याए । विश्वकप इतिहासमा यो उनको १३ औं गोल हो । उनले यसपालि चार गोल पेनाल्टीमा गरेका हुन् । उनी पोल्यान्डविरुद्धको पेनाल्टीमा भने चुकेका थिए । अतिरिक्त समयमा फ्रान्सले फेरि पेनाल्टी पायो । त्यसमा एमबाप्पेले गोल गर्दै ११८ औं मिनेटमा खेल ३–३ को बराबरी बनाइदिए ।

टाइब्रकेरमा सुरुमै एमबाप्पे र मेसीको प्रहार सफल रह्यो । तर, किंग्स्ले कोम्यानको प्रहार गोलकिपर एमिलियानोले रोक्दै अर्जेन्टिनालाई विजयउन्मुख बनाए । अउरेलिन चाउमेनीले बल पोस्टबाहिर हाने । पाउलो डिबाला, लियान्द्रो पाराडेसपछि गोन्जालो मोन्टियलले सटीक प्रहार गरेपछि अर्जेन्टिना टाइब्रेकरमा ४–२ को जित रच्दै ३६ वर्षपछि विश्वकप विजेता बन्यो ।

अर्जेन्टिनाले फ्रान्सविरुद्ध सन् २०१८ को विश्वकपमा अन्तिम १६ मा बेहोरेको ४–३ को हारको बदला पनि लियो । कप्तान मेसी र अर्जेन्टिनाको सफलतासँगै फ्रान्स भने लगातार दुईपल्ट उपाधि जित्ने तेस्रो टिम बन्न चुक्यो । इटाली (सन् १९३४ र १९३८) र ब्राजिल (१९५८ र १९६२) ले मात्रै लगातार दुईपल्ट विश्वकप जितेका छन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प ८४ वर्षअघि लगातार दुई विश्वकप जितेका प्रशिक्षक भिटोरियो पोज्जोको रेकर्ड बराबरी गर्न असफल रहे । ४४ वर्षीय अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी ४४ वर्षयता विश्वकप जित्ने सबभन्दा कान्छो प्रशिक्षक भए । सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप जित्दाका प्रशिक्षक सिजर लुइस मेनोटी ३९ वर्षका थिए ।

युरोप र दक्षिण अमेरिकी टिमबीचको यो ११ औं फाइनल पनि हो । यस्तो समीकरणमा दक्षिण अमेरिकी टिमले फाइनल जितेको आठौं अवसर हो । समग्रमा दक्षिण अमेरिकी टिमले १० पल्ट र युरोपेली टिमले १२ पल्ट विश्वकपको उपाधि जितेका छन् ।

प्रकाशित : पुस ४, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?