कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रोएसियालाई ‘नचाहेको’ तेस्रो स्थान

एएफपी

दोहा — मिस्लाभ ओर्सिचले कर्लिङ प्रहारमा विजयी गोल गरेपछि क्रोएसियाले शनिबार मोरक्कोलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । कतारमा एक स्टारमध्ये जस्को गभार्डिओलले दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियालाई सातौं मिनेटमै अग्रता दिलाए ।

क्रोएसियालाई ‘नचाहेको’ तेस्रो स्थान

लगत्तै अचरफ दारीले लगत्तै मोरक्कोलाई बराबरीमा ल्याए । पहिलो हाफको अन्त्यतिर ओर्सिचले सानदार गोल गर्दै क्रोएसियालाई तेस्रो स्थान दिलाए । युरोपियन टोलीले विश्वकपमा तेस्रो स्थानको खेलमा विजय हात पारेको यो लगातार ११ औं पटक हो ।

यो खेलमा केवल २० लाख डलरका लागि प्रतिस्पर्धा थियो । त्यसैले धेरैले तेस्रो स्थानको प्लेअफ खेललाई ‘नचाहेको खेल’ भनेर लिने गरेका छन् । क्रोएसियाले तेस्रो हुँदै २ करोड ७० लाख डलर र मोरक्कोले २ करोड ५० हजार डलर पाए ।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोलीको इतिहास बनाएको मोरक्कोले कतार आएपछिको पहिलो खेलमा निकै कसिलो र फुर्तिलो खेल खेल्दै क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो । तर यसपालि मोरक्को टोली त्यस्तो देखिएन । मोरक्कोका गोलरक्षक यासिन कोनोउले खेलको सुरुआतमै झन्डै आफ्नो पोस्टमा गोल गर्न पुगेका थिए ।

सुरुदेखि नै खेलमा हाबी भएको क्रोएसियाले अग्रता लिन धेरै समय लगाएन । इभान पेरिसिचको सानदार फ्रिकिकमा लोभारो माजेरले गरेको हेडमा गभार्डिओलले हेडमै गोल गरेका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका हकिम जिएचको फ्रिकिकमा माजेरको हेड हुँदै आएको बलमा दारीले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई कुनै अवसर दिएनन् ।

गत वर्ष फाइनल खेलेको क्रोएसियाले सन् १९९८ को विश्वकपमा पनि तेस्रो स्थान हात पारेको थियो । टोलीका कप्तान लुका मोड्रिचले विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका थिए । ३७ वर्षे उनको यो १ सय ६२ औं क्याप थियो ।

मोरक्कोले सेमिफाइनलसम्मको यात्रामा सनसनी मच्चाएको थियो । क्रोएसियासँगको पहिलो खेलपछि टोलीले बेल्जियमलाई २–० ले, क्यानडालाई २–१ ले पराजित गर्दै समूह विजेता भएर नकआउट चरणमा स्थानमा बनाएको थियो । त्यसपछि अन्तिम १६ मा स्पेनसँग १ सय २० मिनेटको खेलमा गोलरहित बराबरीपछि पेनाल्टीमा ३–० को विजय नतिजा निकालेको थियो । पोर्चुगलविरुद्ध क्वाटरफाइनलमा १–० को जितपछि मोरक्कोले विश्वकपमा अफ्रिकी टोलीको इतिहास रचेको थियो ।

प्रकाशित : पुस ३, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?