मेसीलाई अन्तिम अवसर- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार

मेसीलाई अन्तिम अवसर

अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने सुरमा
फ्रान्सको दाउ उपाधि रक्षा
राजु घिसिङ

दोहा — कतारमा पहिलोपल्ट विश्वकप सुरु हुने बेला दुई खेलाडी खुबै चर्चामा थिए– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलले पाएका सर्वकालीन महान् खेलाडीमध्येका यी दुई विश्वकप जित्ने अन्तिम प्रयासमा थिए । पोर्चुगलको हारसँगै रोनाल्डोको सम्भावना क्वाटरफाइनलमै सकियो ।


मेसी अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउँदै विश्वकपको उपाधिसहित करिअर सार्थक पार्ने अभियानको संघारमा छन् । उनको टिमले उपाधि होडमा आइतबार डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध लुसेल रंगशालामा फाइनल खेल्दै छ ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी मेसीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् । ‘मेसी उत्कृष्ट खेलाडी हुन् । उनले कतारमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, फाइनलमा पनि पक्कै राम्रो गर्नेछन् । उनीजस्ता उत्कृष्ट खेलाडीको करिअरलाई विश्वकपको उपाधिले थप सुन्दर बनाउँछ,’ उनले शनिबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीसँग राम्रो टिम छ । युवा खेलाडीहरू छन् । सबैले राम्रो खेलिरहेका छन् । फाइनल जित्ने कोसिस गर्नेछौं ।’ उनले प्रतिस्पर्धीबारे बोले, ‘फ्रान्स निकै राम्रो टिम हो । राम्रो खेलिरहेको छ । हाम्रो कोसिस फ्रान्सलाई हराएर ट्रफी हात पार्ने हुनेछ ।’

विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका मेसी नै अर्जेन्टिनी टिमको ३६ वर्षपछि विश्वकप जित्ने अभियानका मुख्य हतियार हुन् । गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दाका कप्तान मेसीले पनि यो फाइनल नै विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताइसकेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सन् २०१४ मा फाइनल पुगेको थियो तर अतिरिक्त समयमा जर्मनीबाट १–० ले पराजित भएको थियो । त्यसैले दोस्रोपल्ट फाइनल खेल्दा मेसी विश्व विजेता बन्न चाहन्छन् । उनले उपाधि जित्न नसकेको प्रतियोगिता विश्वकप मात्रै हो ।

विश्वकपको २२ औं संस्करण सुरु हुँदा उपाधिको मुख्य दाबेदार अर्जेन्टिना थिएन । ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड र स्पेनलाई बलियो मानिएको थियो । पहिलो खेलमै साउदी अरेबियाविरुद्ध २–१ ले पराजित भएपछि अर्जेन्टिनाका लागि प्रत्येक खेल फाइनल बन्यो । कप्तान मेसीले भने पनि, ‘खेल जित्नैपर्ने बाध्यता थाहा पाएर मैदानमा जानु सजिलो थिएन । किनकि हार्‍यो भने प्रतियोगिताबाटै बाहिरिन्थ्यो । दोस्रो खेलदेखि हामी यस्तै परिस्थितिबाट आएका छौं । यसले मानसिक रूपमा धेरै बलियो बनाएको छ र टिमले त्यस्तो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने जानेको छ । हामीले पाँच फाइनल खेल्यौं र अब अर्को एउटा फाइनल खेल्दै छौं ।’

कतारमा अर्जेन्टिनी समर्थकको चहलपहल बढी नै छ । जता पनि आकाशे नीलो र सेतो धर्से रङको जर्सी देखिन्छ । करिब ४० हजार अर्जेन्टिनी समर्थक कतार आएको अनुमान छ । यसले पनि टिमलाई थप ऊर्जा दिएको छ । मैदानमा गतिलो खेल प्रदर्शन गरिरहेको फ्रान्सेली दर्शकको उपस्थिति भने साह्रै थोरै छ । गोल गरेको खुसीयाली मनाउने दर्शक केही सय वा हजारमात्रै रंगशालामा देखिन्छन् ।

‘अर्जेन्टिना र विश्वका धेरै मानिसले मेसीका लागि पनि विश्वकप जितेको हेर्न चाहेका छन् । केही फ्रान्सेलीले पनि त्यस्तै चाहन्छन् होला,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘हाम्रो उद्देश्य च्याम्पियन हुने हो भन्ने हामीलाई थाहा छ र त्यो उपलब्धिमा पुग्नका लागि सबै किसिमको प्रयास गर्नेछौं ।’ टिममा केही खेलाडीलाई भाइरसले सताए पनि त्यसबाट माथि उठ्ने प्रयास गर्ने उनले बताए । सन् १९९८ को विश्वकप विजेता फ्रान्सेली टिमका कप्तान रहेका उनी लगातार दुईपल्ट विश्वकप जित्ने दोस्रो प्रशिक्षक हुन सक्छन् । यो उपलब्धि इटालीका भिटोरियो पोज्जोले मात्रै हासिल गरेका छन् । उनी सन् १९३४ र १९३८ का च्याम्पियन प्रशिक्षक हुन् ।

साउदीले दक्षिण अमेरिकी च्याम्पियनको अपराजित यात्रा ३६ खेलमा टुंग्याइदिए पनि मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स र चार वर्षअघिको उपविजेता क्रोएसियालाई हराएर अर्जेन्टिना ८ वर्षपछि फाइनलमा उभिएको हो । अर्जेन्टिनाले प्रत्येक खेलमा सुधार गर्दै आएको छ । एउटा टिमका रूपमा संगठित देखिएको छ, राम्रो गरिरहेको छ । प्रदर्शनको हिसाबले पनि टिमको नेतृत्व मेसीले गरिरहेका छन् ।

पहिलोपल्ट हिउँदमा आयोजित विश्वकपमा बालोन डी’अर विजेता करिम बेन्जेमा, पाउल पोग्बा, एन्गोलो कान्टे, क्रिस्टोफर एन्कुन्कु, प्रेसनल किम्बेम्पे चोटका कारण उपलब्ध नभएपछि फ्रान्स समस्यामा परेको थियो । डिफेन्डर थियो हर्नान्डेज समूह चरणमै घाइते भए । तर, नयाँ खेलाडीहरूलाई उतारेर भए पनि फ्रान्सले कतारमा सुरुबाटै राम्रो प्रभाव देखायो । समूहको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध हारेको खेलले ठूलो अर्थ राख्दैन । समूहमा अस्ट्रेलिया, डेनमार्क, नकआउटमा पोल्यान्ड, इंग्ल्यान्ड र मोरक्कोलाई पराजित गरेको फ्रान्स उपाधि रक्षाको अभियानमा फाइनल पुगेको हो । नयाँ भूमिकामा एन्टोनी ग्रिजमन उत्कृष्ट प्लेमेकर दरिएका छन् । उनीसँगै २३ वर्षीय फरवार्ड केलियन एमबाप्पे र ओलिभर जिरुडमा फ्रान्सेली टिम निर्भर छ ।

फ्रान्स र अर्जेन्टिना रुसमा सन् २०१८ मा भएको विश्वकपको अन्तिम १६ मा भिडेका थिए । कजानमा भएको रोचक खेल ४–३ ले जितेको फ्रान्स पछि फाइनलमा क्रोएसियालाई ४–२ ले हराएर च्याम्पियन नै भयो । त्यसयता अर्जेन्टिना र फ्रान्स पहिलोपल्ट भिड्न लागेका हुन् । यी दुईबीच विश्वकपमा तीन खेल भएको छ । अघिल्ला दुई खेल अर्जेन्टिनाले जितेको थियो । यी दुई चार वर्षपछि पहिलोपल्ट आपसमा खेल्न लागेका हुन् ।

कजानमा मेसीको टिमले अन्तिम क्षणसम्म संघर्ष गरेको थियो । उक्त खेलमा दुई गोल गरेका एमबाप्पेको प्रदर्शन निर्णायक थियो । यसपालिको भेटमा पनि एमबाप्पेकै प्रदर्शन निर्णायक बन्न सक्छ । किनभने उनी अग्रपंक्तिमा फ्रान्समा मुख्य हतियार हुन् । एक किसिमले फाइनल मेसी र एमबाप्पेको प्रतिस्पर्धा पनि हो । यी दुई ५–५ गोलसहित गोल्डेन बुटको होडमा छन् । सर्वाधिक गोलकर्ताको सूचीमा एक असिस्ट बढी भएकाले मेसी अगाडि छन् । पेनाल्टीमा तीन गोल गरेका मेसीजस्तै एमबाप्पे पनि कुनै पनि क्षण खेलको नतिजा उल्टाउन योग्य छन् ।

अग्रपंक्तिमा मेसी र एमबाप्पेका सहकर्मीले पनि राम्रै गरिरहेका छन् । रुसमा च्याम्पियन हुँदा सबै खेल सुरुबाटै खेलेर पनि गोलको खाता खोल्न नसकेका ३६ वर्षीय ओलिभर जिरुडले कतारमा ४ गोल गरेका छन् । २१ वर्षीय जुलियन अल्भारेजले पनि ४ गोल गर्दै अर्जेन्टिनी आक्रमणलाई बलियो बनाइरहेका छन् । लुसेलमा आइतबार दुवै टिमका डिफेन्सको एउटा गल्ती पनि हारजितको कारण बन्न सक्छ । मेसीप्रेरित अर्जेन्टिनामा भावनात्मक एकता छ । त्यसैले अर्जेन्टिनालाई गोल खाँदा पनि धैर्य हुनु जरुरी छ । खेलाडीको व्यक्तिगत कौशलका आधारमा फ्रान्स बलियो छ । तर, एमबाप्पे र ग्रिजमन चलेनन् भने उपाधि जोगाउने लक्ष्य पूरा नहुन सक्छ ।

विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन् । इटालीले प्रशिक्षक पोज्जोको पालामा सन् १९३४ र १९३८ तथा ब्राजिलले पेलेको युगमा १९५८ र १९६२ मा विश्वकप जितेका थिए । ब्राजिलपछि उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने दाउमा छ फ्रान्स । मारियो केम्पेस (१९७८) र डिएगो म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । मेसीले पनि त्यस्तै उपलब्धि दिलाउने आस अर्जेन्टिनी र उनका समर्थकले गरेका छन् ।

दक्षिण अमेरिका र युरोपेली फुटबलको प्रतिष्ठाको प्रतिस्पर्धा पनि हो फाइनल । यी दुई महादेशबाहिरका टिमले विश्वकपको फाइनल खेलेका छैनन् । ब्राजिलले कीर्तिमान पाँचौंपल्ट विश्वकप सन् २००२ मा जितेको थियो । त्यसयता दक्षिण अमेरिकी टिम च्याम्पियन भएको छैन । यसबीच युरोपेली टिमले १२ औंपल्ट विश्वकप ट्रफी उचाल्न भ्यायो । दक्षिण अमेरिकी टिम ९ उपाधिमै रोकिएको छ । लुसेलमा आइतबार अर्जेन्टिना र फ्रान्समध्ये जसले बाजी मारे पनि त्यो उसको तेस्रो उपाधि हुनेछ ।

प्रकाशित : पुस ३, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सलाई रोक्ला मोरक्कोले ?

राजु घिसिङ

दोहा — कतारमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले फाइनलमा स्थान बनाउने होडमा बुधबार डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग अल बायत रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।


एसियाले पहिलोपल्ट दुई दशकअघि विश्वकप आयोजना गर्दा दक्षिण कोरिया र टर्की अनपेक्षित रूपमा सेमिफाइनल पुगेका थिए । खाडी क्षेत्रमा पहिलोपल्ट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना हुँदा मोरक्कोले त्यस्तै गरेको छ । उसलाई फाइनलसम्म पुग्ने अवसर छ । त्यसका लागि अहिलेसम्म सबैभन्दा राम्रो खेल पस्किरहेको फ्रान्सलाई पराजित गर्नु अनिवार्य छ । कतारी समाज र संस्कृतिमा मिल्दोजुल्दो भएकाले मोरक्कोलाई खाडीका स्थानीय दर्शकको साथ पनि छ ।

‘हामीले केही शीर्ष टिमहरूलाई परािजत गरेका छौं । यो नकआउट खेल हो र यहाँ चाहना, प्रतिवद्धता र दर्शकको समर्थन छ भने जित्न सकिन्छ,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भने, ‘अब अगाडि बढेपछि धेरै कठिन खेल हुन्छ नै । हामी विश्वकै उत्कृष्ट खेलाडीहरूको विश्व विजेता टिमविरुद्ध खेल्दै छौं । निकै राम्रा प्रशिक्षक (डिडियर डेसच्याम्प) पनि छन् । सम्भवत् उनी विश्वकै सबैभन्दा उत्कृष्ट पनि हुन् । हामी उत्कृष्ट खेल्दै आश्चर्य देखाउन चाहन्छौं । जितका लागि भोकाएका छौं । हाम्रा लागि सेमिफाइनल नै पर्याफ्त होइन । अझै अगािड बढ्न चाहन्छौं । सपना पूरा गर्न नजिक पुगेका छौं र यसैमा केन्द्रित भएर मिहिनेत जारी राख्ने छौं ।’

मोरक्कोका सेन्टरब्याक नाएफ अगुर्ड र रोमेन साइस चोटका कारण खेल्नेमा शंका छ । त्यसैले उत्तर अफ्रिकी टिमलाई केलियन एमबाप्पेको गति, पेनाल्टी क्षेत्रमा खतरनाक ओलिभर जिरुड, प्लेमेकर एन्टोइन ग्रिजमनका सटिक पासलाई रोक्न सजिलो हुने छैन । मोरक्कोको टिम पनि युरोपेली लिगका खेलाडीले भरिएको छ । तर, व्यक्तिगत कौशलका आधारमा फ्रान्सेली टिमसँग मोरक्कोलाई दाँज्न मिल्दैन । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै कीर्तिमानी जिरुडले ४ गोल गरेका छन् । प्रशिक्षक डेसच्याम्पले खेलाडीहरूले क्षमताअनुसार प्रदर्शन गरेमा फाइनल पुग्न गाह्रो नहुने बताएका छन् ।

‘लेस ब्लुज’ ६० वर्षयता उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा छ । ब्राजिलले सन् १९५८ मा च्याम्पियन भएपछि १९६२ मा उपाधि जोगाएको थियो । त्यसयता कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेको छैन । च्याम्पियन भएको टिम अर्को संस्करणको सेमिफाइनल पुगेको पनि २४ वर्षयता यसैपालि हो, जुन काम फ्रान्सले गर्‍यो । एउटा टिमको रूपमा निकै राम्रो र संगठित खेल प्रदर्शन गरिरहेको ‘एटलस लायन्स’ पनि युरोप र दक्षिण अमेरिकाबाहिरको फाइनल खेल्ने पहिलो टिमको रूपमा इतिहास बनाउन चाहन्छ ।

फ्रान्सले मोरक्कोसँग विगतमा खेलेका ५ खेलमा हार बेहोरेको छैन । टोलीले तीन जित र दुई बराबरी नतिजा निकालेको छ । ती सबै खेल मैत्रीपूर्ण वा साना प्रतियोगिताका हुन् । पछिल्लोपल्ट सन् २००७ मा स्टाड डे फ्रान्समा भएको यी दुईको भेट २–२ मा टुंगिएको थियो । मोरक्को सन् १९८६ मा अन्तिम १६ मा पुगेयता पहिलोपल्ट नकआउटमा प्रवेश गरेको हो । यसबीचका चार संस्करणमा उसको चुनौती समूह चरणमै सकिएको थियो ।

फ्रान्सले विश्वकपमा छपल्ट सेमिफाइनल खेलिसकेको छ । सुरुका तीन सेमिफाइनल हारेको थियो । उसलाई १९५८ मा ब्राजिलले ५–२ र दुईपल्ट पश्चिम जर्मनीले ३–३ को बराबरीपछि टाइब्रकेरमा ५–४ (१९८२) र २–० (१९८६) मा हराएको थियो । तर, फ्रान्सले पछिल्ला तीन सेमिफाइनल जितेको छ । त्यसक्रममा उसले घरेलु भूमिमा क्रोएसियालाई २–१ (१९९८), पोर्चुगललाई १–० (२००६) र बेल्जियमलाई १–० (२००८) ले पराजित गरेको थियो ।

चार वर्षअघि उपविजेता क्रोएसियासँग गोलरहित खेल्दै २२ औं संस्करणको सुरुआत गरेको मोरक्कोले बलियो बेल्जियमलाई २–० र क्यानडालाई २–१ ले हराएर समूहमा शीर्षस्थानमा हासिल गरेको थियो । त्यसपछि मोरक्कोले युरोपेली महारथीहरू स्पेनलाई टाइब्रकेरमा ३–० र क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पन्छाएर इतिहास रच्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

७ तथ्य

  • विश्वकपमा पछिल्ला ९ सहभागितामा फ्रान्सले छैटौंपल्ट सेमिफाइनलमा खेल्न लागेको हो ।
  • ब्राजिल (सन् १९९८) पछि विश्वकपको अन्तिम चारमा पुगेको पहिलो डिफेन्डिङ च्याम्पियन फ्रान्स नै हो ।
  • फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्ला १७ खेलमध्ये १५ खेल (पेनाल्टी सुटआउटसहित) जितेको छ ।
  • फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्ला ६ खेलमा शतप्रतिशत जित हासिल गरेको छ ।
  • मोरक्को युरोप वा दक्षिण अमेरिकाबाहिरबाट विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टिम हो । यसअघि अमेरिका (सन् १९३०) र दक्षिण कोरिया (२००२) ले अन्तिम चारको यात्रा गरेका थिए ।
  • मोरक्को विश्वकपको सेमिफाइनलमा खेल्ने २५ औं देश हुँदै छ । कतार संस्करणमा सेमिफाइनल पुग्ने चार टिममध्ये नयाँ टिम मोरक्को मात्रै हो ।
  • मोरक्को विश्वकपमा पछिल्ला ६ खेलमा अपराजित छ । त्यसमा उसले तीन जित र तीन बराबरी खेलेको छ । विश्वकपमा यो नै उसको सबैभन्दा राम्रो अपराजित यात्रा हो ।

प्रकाशित : मंसिर २८, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×