विश्वकप २०२२

विश्वकपमा एक्लै छाएकाहरू

एएफपी

काठमाडौँ — कतार विश्वकप २०२२ को आइतबार हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । यो हुनेछ लियोनल मेसीविरुद्ध केलियन एमबाप्पेबीचको खेल । के यो विश्वकप मेसीको विश्वकपका रूपमा सम्झिने छ वा एमबाप्पेले फेरि चार वर्षअगाडि रुसमा हात पारेको सफलता दोहोर्‍याउने छन् ? यसै पृष्ठभूमिमा विश्वकप इतिहास पल्टाउने हो भने त्यस्ता ६ खेलाडीको सूची बनाउन सकिन्छ । जसले सिंगो प्रतियोगितामै आफ्नो एक्लो छाप छोड्न सफल भएका छन् । एएफपीले तयार पारेको सामग्री :

विश्वकपमा एक्लै छाएकाहरू

पेले, ब्राजिल (सन् १९५८)

सन् १९५८ को विश्वकप हुँदा पेले भर्खर १७ वर्षका थिए । स्विडेनमा भएको विश्वकपका सुरुआती दुई खेल उनले खेल्न पाएनन् । तर लगत्तै सोभियत संघविरुद्धको २–० जितमा उनको प्रदर्शन गजब रह्यो । वेल्समाथि क्वाटरफाइनलमा प्राप्त १–० को जितमा त उनले निर्णायक गोल नै गरे । त्यसपछि त पेले मस्तसँग छाए । फ्रान्सविरुद्ध सेमिफाइनलको ५–२ जितमा पेलेले ह्याट्रिक गरे । अझ फाइनलमा स्विडेनविरुद्ध ५–२ को जितमा उनले दुई गोल गरे ।

मारियो केम्पस, अर्जेन्टिना (सन् १९७८)

अहिलेसम्म अर्जेन्टिनाले दुईपल्ट विश्वकप जितेको छ । प्रत्येकपल्ट एक खेलाडीको निकै महत्त्वपूर्ण भूमिका रह्यो । सन् १९७८ मा घरमै भएको विश्वकपमा अर्जेन्टिना विजयी भयो । त्यसका नायक थिए, मारियो केम्पस । त्यतिबेला उनी भ्यालेन्सियाबाट खेलिरहेका थिए । स्पेनी ला लिगामा लगातार दुई सिजन उच्च गोलकर्ता भएका थिए । पूरा अर्जेन्टिनी टोलीमा उनीमात्र विदेशबाट खेल्ने खेलाडी थिए । सुरुआती चरणमा गोल गर्न नसकेका केम्पसले त्यसपछि पोल्यान्ड र पेरुविरुद्ध समान दुई गोल गरेका थिए । नेदरल्यान्ड्ससँग फाइनलमा पनि उनले दुई गोल गरेका थिए ।

पाउलो रोसी, इटाली (सन् १९८२)

स्पेनमा भएको यस विश्वकपअगाडि पाउलो रोसी खेल मिलेमतो काण्डको दुईवर्षे प्रतिबन्ध सकाएर भर्खर मैदानमा फर्केका थिए । उनको छनोटलाई लिएर धेरै विवाद भएको थियो । उनको सुरुआत राम्रो रहेन । तर, सेमिफाइनल पुग्न ब्राजिलविरुद्ध जित्नैपर्ने खेलमा उनले उत्कृष्ट ह्याट्रिक गरे । त्यसपछि उनी रोकिएनन् । सेमिफाइनलमा पोल्यान्डमाथि २–० को जितमा दुवै गोल गरे उनले । अनि फाइनलमा पश्चिम जर्मनीविरुद्ध ३–१ को जितमा पनि पहिलो गोल गरेका थिए ।

डिएगो म्याराडोना, अर्जेन्टिना (सन् १९८६)

सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले कप्तानी भूमिका निभाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै प्रदर्शनमा टिकेर अर्जेन्टिनाले दोस्रोपल्ट विश्वकप जितेको थियो । समूह चरणमा इटालीसँग १–१ को बराबरीमा उनले पहिलो गोल गरेका थिए । क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदा दुवै गोल उनको नाममा रह्यो । त्यसमध्ये पहिलो गोल कुख्यात रह्यो, ‘ह्यान्ड अफ गोल’ का रूपमा । दोस्रो गोल भने विश्वकप इतिहासकै उत्कृष्ट रह्यो । बेल्जियमविरुद्ध २–० को सेमिफाइनल जितमा पनि उनले दुवै गोल गरेका थिए ।

जिनेदिन जिदान, फ्रान्स (सन् १९९८)

सन् १९९८ मा फ्रान्सले विश्वकप आयोजना गर्दा जिनेदिन जिदान फ्रान्सेली टिमका ‘पोस्टर ब्वाइ’ थिए । प्रतियोगिताको सुरुदेखि उनको खेल उत्कृष्ट रह्यो । साउदी अरेबियाविरुद्ध ४–० को जितमा उनले उत्कृष्ट प्रदर्शन दोहोर्‍याए तर रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यसै कारण उनले त्यसपछिका दुई खेल गुमाए । त्यसपछि इटाली र क्रोएसियाविरुद्ध प्राप्त जितमा उनी फेरि खुबै छाए । ब्राजिलविरुद्धको फाइनल ३–० ले जित्दा जिदानले दुई गोल गरेका थिए । त्यागे पनि दुवै हेडबाट ।

रोनाल्डो, ब्राजिल (सन् २००२)

खासमा सन् १९९८ को विश्वकप यिनै ब्राजिली रोनाल्डोका लागि उत्कृष्ट हुने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन । ब्राजिल फाइनल त पुग्यो, तर फ्रान्ससँगको खेलमा निरीहजस्तै देखियो । सन् १९९९ आइपुग्दा घुँडाको गम्भीर चोटले रोनाल्डोको खेलजीवन नै अन्त्य हुने अनुमानसमेत भयो । सन् २००२ आइपुग्दा दक्षिण कोरिया र जापानमा रोनाल्डो उत्कृष्ट लयमा रहे । उनले ७

खेलमा ८ गोल गरे । समूह चरणमा ४ गोल गरेका रोनाल्डोले जर्मनीविरुद्ध २–० को फाइनल जितमा दुवै गोल गरेका थिए ।

प्रकाशित : पुस २, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?