१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
विश्वकप २०२२

म्याराडोनालाई पछ्याउँदै मेसी

एपी

दोहा — आकासे र सेतो धर्से जर्सी लगाएका अर्जेन्टिनी समर्थकले एउटा नयाँ गीत बनाएका छन् । त्यसले भन्छ, ‘म्याराडोनाले स्वर्गबाट मेसीलाई जयजयकार गर्दैछन् ।’ 

म्याराडोनालाई पछ्याउँदै मेसी

दुवै अर्जेन्टिनी फुटबल इतिहासका महान् खेलाडी हुन् । उनीहरूलाई एकअर्कासँग दाँज्ने काम पनि खुब चलिरहेको छ । जसरी सन् १९८६ को विश्वकप डिएगो म्याराडोनाका लागि सम्झिने गरिन्छ, त्यसरी नै यसपालि विश्वकपमा मेसीले त्यत्तिकै उम्दा छाप छोड्दै छन् ।

उनको प्रदर्शनमा टिकेर अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको छ । धेरैलाई लाग्दो हो– मेसीमा म्याराडोनाको केही न केही छनक पक्कै छ । जस्तो उचाइ, बल छलाउने कला, तीव्र गतिमा चाल्न सक्ने पाइला अनि शक्तिशाली देव्रे खुट्टा आदि आदि । यसपल्टको विश्वकपमा मेसीले अर्जेन्टिनाका लागि जुन प्रकारको नेतृत्व प्रदान गरेका छन्, जसरी आफैंले उदाहरण बन्दै राम्रो खेलेका छन् । ती सबैले जनाउन दिन्छ, साँच्चै म्याराडोनालाई पछ्याइरहेका छन् मेसी । ‘मेसीले अहिलेको विश्वकपमा म्याराडोनाको भूमिका निभाइरहेका छन्,’ जोर्गे भाल्डोना भन्छन् । सन् १९८६ को विश्वकप विजयी अर्जेन्टिनी टिमका सदस्य भाल्डानोले टीभीमा अन्तर्वार्ता दिँदै मेसीको खुबै प्रशंसा गरेका छन् । अझ क्रोएसिया जत्तिको बलियो टिमलाई हराउन अर्जेन्टिनाले जुन खेल प्रदर्शन गर्‍यो, त्यसमा कायल भएका छन् भाल्डोना । त्यसैले त अर्जेन्टिना छैटौंपल्ट विश्वकपको फाइनल पुगेको छ अनि तेस्रोपल्ट उपाधि जित्ने संघारमा ।

विशेषतः क्रोएसियाविरुद्धको तेस्रो गोलमा मेसीले जसरी अवसर सिर्जना गरे, त्यसमा सबै चकित छन् । मेसीले एकाएक सिर्जना गरेको मौकामा जुलियन अल्भारेजले गोल गरेका थिए । यसलाई मेसीको एक अर्को जादुयी प्रदर्शनभन्दा हुन्छ । मेसी आफैं भन्छन्, ‘व्यक्तिगत रूपमा मैले यस विश्वकपका खुबै मज्जा लिइरहेको छु । लाग्छ, मलाई भाग्यले पनि साथ दिइरहेको छ । मैले आफ्नो खेलबाट टिमलाई सहयोग गर्न पाएकोमा खुसी छु ।’

क्रोएसियाविरुद्ध पेनाल्टीमा पहिलो गोल गरेपछि अर्जेन्टिनाका लियोनल मेसी साथीसँग खुसी साट्दै । तस्बिर : एपी

त्यस खेलपछि अर्जेन्टिनी पत्रकारले आयोजना गरेको ‘पोस्टम्याच कन्फ्रेन्स’ मा मेसीले ठीकै भने । उनी भन्थे, फाइनलको नतिजा जस्तै होस् । उनी आफ्नो देशका प्रत्येक जनताको मनमा खुसी ल्याउन सफल भएका छन् । अहिले सबैको मनमा उनको देश बसेको छ । अब त मेसीका लागि अबको खेलमा जित–हारको पनि ठूलो अर्थ रहन छाडेको छ । उनले भनेका पनि छन्, ‘नतिजा के कस्तो रह्यो, त्यो अब महत्त्वपूर्ण रहेन । सबैभन्दा महत्त्वपूर्ण कुरा त अर्जेन्टिनाले तय गरेको यात्रा हो ।’

तर, यी त भए भावनाका कुरा । मेसीले साँच्चै विश्वकप जित्ने सक्ने छन् भने उनी पनि त्यस्ता खेलाडीको सूचीमा पर्नेछन्, जहाँ पेले र म्याराडोनाजस्ता महान खेलाडीको नाम छ । उनी विश्व फुटबलका महान् खेलाडी हुन नै, विश्वकप जितेमा उनको नाममा जोडिएर आउने विवादले पनि सधैंका लागि पूर्णविराम पाउने छ । फेरि मेसीले यो विश्वकप नै आफ्नो अन्तिम भनिसकेका छन्, किनभने चार वर्षपछि त उनी ३९ वर्षका भइसक्ने छन् ।

म्याराडोनाको मृत्यु दुई वर्षअगाडि नै भइसक्यो । मेसीलाई लाग्छ, उनी स्वर्गबाट अर्जेन्टिनाको खेल हेरिरहेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेल अर्जेन्टिनाका लागि वास्तवकै कठिन रह्यो । टिम गाह्रै परीक्षाबाट गुज्रिन बाध्य रह्यो । त्यसै खेलपछि मेसी भन्थे, ‘हामीलाई म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन् । उनी हामीलाई राम्रो खेल्न भनिरहेका छन् । मलाई विश्वास छ, प्रतियोगिता नसकिएसम्म उनी हाम्रा लागि त्यहीं हुनेछन् ।’ सायद अहिले म्याराडोना पनि खुसी छन् स्वर्गमा ।

प्रकाशित : मंसिर २९, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?