ग्रिजमनको प्रभावमा फ्रान्स सबैभन्दा बलियो- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

ग्रिजमनको प्रभावमा फ्रान्स सबैभन्दा बलियो

राजु घिसिङ

दोहा — ब्राजिलले पेलेको उत्कृष्ट प्रदर्शनमा सन् १९५८ को विश्वकप जितेको थियो । उसले चार वर्षपछि पनि उपाधि रक्षा गर्‍यो । त्यसयता कसैले उपाधि जोगाएको छैन । ब्राजिलको त्यही उपलब्धि बराबरी गर्ने अभियानमा डिफेन्डिङ च्याम्पियन फ्रान्स अगाडि बढिरहेको छ । अल खोरस्थित अल बायत रंगशालामा शनिबार इंग्ल्यान्डलाई २–१ ले हराएर फ्रान्सले अन्तिम चारको यात्रा तय गर्‍यो ।

२०१८ को विश्वकपमा फ्रान्सको च्याम्पियन यात्रामा युवा खेलाडी किलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी कतारमा पनि खुबै चलेका छन् । रुसमा चम्किएका एन्टोइन ग्रिजमन कतारमा प्लेमेकरमा परिणत भएका छन् । चार वर्षअघि सात खेलमै पहिलो रोजाइमा रहे पनि प्रतियोगितामा गोलको खाता खोल्नै नसकेका ओलिभर जिरुड ३६ वर्षको उमेरमा प्रभावशाली स्ट्राइकर बने । करिम बेन्जेमा, एन्गोलो कान्टे, पउल पोग्बा गुमाए पनि डिडियर डेसच्याम्पको टिम खाडी क्षेत्रमा पहिलोपल्ट आयोजित विश्वकपमा सबैभन्दा शक्तिशाली देखिएको छ ।

प्रशिक्षक गारेथ साउथगेटले रुसमा इंग्ल्यान्डको युवा टिमलाई नसोचिएको ढंगले सेमिफाइनल पुर्‍याएका थिए । त्यो टिम अनुभवी भएर कतार आइपुग्दा भने इंग्ल्यान्ड क्वाटरफाइनलबाटै सबैभन्दा धेरै सातपल्ट बाहिरिने टिम भएको छ । कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि फ्रान्स उपाधि रक्षाको बाटोमा एक कदम अगाडि बढेको हो ।

‘धेरैले मोरक्कोसँग खेल्न सजिलो हुन्छ भनेका होलान्, तर मोरक्को धेरै राम्रो टिम छ,’ डेसच्याम्पले इंग्ल्यान्डविरुद्धको जितपछि भने, ‘टिम संगठित छ । राम्रो प्रदर्शन गरिरहेको छ । खेलाडीहरू उत्कृष्ट छन् । त्यसैले त राम्रो रणनीतिसहित ठूला टिमलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । हामी उसलाई कमजोर मान्ने छैनौं ।’

यो विश्वकपमा ५ गोल गरिसकेका एमबाप्पेलाई इंग्लिस रक्षकहरूले रोके, खासै चल्न दिएनन् । एमबाप्पेको तीव्र गतिमा बल दौडाउँदै गोल गर्ने खुबी इंग्ल्यान्डविरुद्ध खुल्न पाएन । तर, मिडफिल्ड नियन्त्रणमा लिएका सानो कदका ग्रिजमनका सटीक र चलाखीपूर्ण पासलाई इंग्ल्यान्डले निस्तेज पार्न सकेन । ग्रिजमनकै पासमा फ्रान्सेली मिडफिल्डर उरेलिन चाउमेनीले २५ यार्डबाट प्रहार गर्दै १७ औं मिनेटमा गोलको खाता खोले । उनै चाउमेनीले प्रभाव देखाइरहेका बुकायो साकालाई फउल गर्दै लडाएपछि ५४ औं मिनेटमा पाएको पेनाल्टीमा केनले टोटेनहमका सहकर्मी गोलकिपर ह्युगो लोरिस उल्केको ठीक उल्टोतिर बल प्रहार गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याए । यससँगै विश्वकपमा पेनाल्टीमा सबैभन्दा बढी (४ गोल) गोल गर्ने खेलाडी बनेका केनले इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोलको वायन रोनीको कीर्तिमान पनि बराबरी गरे । केन विश्वकप २०१८ का गोल्डेन बुट विजेता पनि हुन् ।

दोस्रो हाफमा इंग्ल्यान्डले फ्रान्सलाई दबाब दिइरहेका बेला ग्रिजमनको लोभलाग्दो क्रसमा जिरुडको हेडर गोलमा फ्रान्स ७८ औं मिनेटमा २–१ ले अगाडि बढ्यो । इंग्ल्यान्डका डिफेन्डर सचेत नहुँदाको फाइदा लिँदै जिरोडले यो विश्वकपमा आफ्नो चौथो गोल गरे । उनी फ्रान्सका सर्वाधिक गोलकर्ता पनि हुन्, जसले ५३ गोल पुर्‍याएका छन् । फ्रान्सका कप्तान लोरिसले पनि कीर्तिमान १ सय ४३ औं खेलमा केही राम्रा बचाउ गरे । ३५ वर्षीय उनले आफ्नो देशका लागि सर्वाधिक खेलमा २४ वर्षअघिको च्याम्पियन लिलियम थुराम (१४२ खेल) को कीर्तिमान तोडेका हुन् ।

डिफेन्डर थियो हर्नान्डेजले सब्स्टिच्युट मेसन माउन्टलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि इंग्ल्यान्डले बराबरीका लागि ८४ औं मिनेटमै पेनाल्टी अवसर पायो । फेरि कप्तान केन १२ यार्डबाट बल प्रहार गर्न आए । यसपालि उनको प्रहार पोस्टमाथिबाट बाहिरियो । इंग्ल्यान्डको सन् १९६६ यता पहिलोपल्ट उपाधि जित्ने सपना कतारमा पनि अधुरै रह्यो । फ्रान्स भने विश्वकपमा इंग्ल्यान्डविरुद्धको पहिलो जितले ब्राजिल (१९९८) पछि सेमिफाइनल पुग्ने पहिलो डिफेन्डिङ च्याम्पियन भयो । ‘मलाई व्यक्तिगत र टिमका रूपमा पनि स्विकार्न (हार) गाह्रो भएको छ,’ इंग्ल्यान्डका स्ट्राइकर केनले भने, ‘खेलाडीहरूका लागि म गर्वको पात्र हुने छैन । हामीले राम्रो गरेका थियौं । धेरै अवसर बनाएका थियौं । तर, फुटबलमा सानो कुराले पनि तल पार्छ । एउटा कप्तान र पेनाल्टीमा चुकेको खेलाडीका रूपमा त्यसको (हार) जिम्मेवारी म लिन चाहन्छु ।’ पेनाल्टीबारे उनी बोले, ‘तयारीमा मेरो गल्ती थिएन । तर, आत्मविश्वास गुमाएँ । मैले चाहेजस्तो गर्न सकिनँ ।’

अल बायतमा क्षमताअनुसार ६८,८९५ दर्शक रहेको त्थ्यांक सुनाइए पनि प्यारापिटमा थुप्रै सिट खाली थिए । ‘थ्री लायन्स’ का समर्थक कमै थिए । फ्रान्सका समर्थक पनि खासै थिएनन् । विश्वकपलाई मौका पारेर खेल हेर्नेकै बाहुल्य थियो । साका, डेक्लान राइसको प्रदर्शनका आधारमा इंग्ल्यान्ड जितको हकदार नै थियो । तर, ग्रिजमनको सटीक पास, पेनाल्टी क्षेत्रमा प्रभावशाली जिरुडको गोल र दोस्रो पेनाल्टीमा केनको असफलताले फ्रान्सलाई अगाडि बढायो ।

प्रकाशित : मंसिर २६, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

मेसी र अर्जेन्टिनी जितका मोडहरू

राजु घिसिङ

दोहा — फुटबलमा धेरै कथा मैदानबाहिरै कोरिन्छन्, बिट मार्ने काम मैदानभित्रको प्रतिस्पधाले गर्छ । विश्वकप २०२२ मा शुक्रबार अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको कथा अलि फरक रह्यो । भिन्न भयो । अर्जेन्टिनाले २–० को अग्रता लिएर पनि इन्ज्युरी समयको केही सेकेन्ड सम्हािलन नसक्दा सेमिफाइन्ल पुग्न पेनाल्टी सुटआउट नै पर्खिनुपर्‍यो । गोल, अग्रता र बराबरीको रोमाञ्च त थियो नै । टचलाइनमा प्रशिक्षकको तनाव, बेन्चमा खेलाडीको उक्साहट र मैदानभित्रै खेलाडीको ठेलामठेलसम्मकै उग्र रूप पनि देखियो ।

दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनी टिमको कतार संस्करणमा हरेक कथा कप्तान लियोनल मेसीकै वरिपरि बुनिएको छ । मेट्रो, बस, सार्वजनिक स्थल, मलहरूको माहोल र बच्चादेखि बुढासम्मले लगाइरहेका आकासे नीलो–सेतो धर्के १० नम्बरको जर्सीले पूरा कतारलाई नै मेसीमय बनाएको छ । यस्तो माहोल देख्दा लाग्छ कि फुटबलमा अर्जेन्टिनाभन्दा पनि मेसीको व्यक्तित्व ठूलो छ, महत्त्वपूर्ण हो । मेसी भने आफ्नै करिअर सार्थक बनाउने बाटोमा छन् । मारियो केम्पस (सन् १९७८) र डिएगो म्याराडोना (१९८६) पछि अर्जेन्टिनालाई विश्वकप दिलाउने खेलाडीको हैसियतमा उभिन चाहन्छन् ।

फुटबलमा सर्वकालीन महान् खेलाडीको श्रेणीमा अग्रपंक्तिमै राख्ने गरिएका मेसीमाथि तेर्सिने गरेको एउटै प्रश्न हो, सर्वोत्कृष्ट खेलाडी बन्न विश्वकपचाहिँ जित्नुपर्दैन ? अहिले मेसी यसैको जवाफको खोजीमा अन्तिम प्रयास गरिरहेका छन् । अरू सबै प्रतियोगिता जितिसकेका ३५ वर्षीय उनको पाँचौं विश्वकप हो यो । र, यसैलाई विश्वविजेता बन्ने आफ्नो करिअरको अन्तिम अवसर भएको बताइसकेका छन् । त्यसैले सारा विश्व फुटबलको नजर पनि मेसीमै केन्द्रित छ । आठ वर्षअघिको फाइनल हारेका उनले विश्वकप जित्छन् कि जित्दैनन् ?

बार्सिलोनाबाट गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पुगेका मेसी पहिलाजस्तै जादुयी खेल पस्कने लयमा त छैनन् । तर, उनी खेल परिवर्तन गर्न अझै माहिर छन् । पहिलाका चार संस्करणजस्तै नाम चलेका र उत्कृष्ट खेलाडीको साथ अहिले छैन । युरोपका ठूला क्लबसँग नाम जोडिएका भए पनि औसत खेलाडीहरू बनेको टिममा अर्जेन्टिनाको भाग्य मेसीकै प्रदर्शनमा निर्भर देखिएको छ । पहिलो खेलमै साउदी अरेबियाविरुद्ध हारेपछि मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र क्वाटरफाइनलमा आएर नेदरल्यान्ड्सविरुद्ध निर्णायक प्रदर्शन मेसीले नै गरेका छन् । सिनियर खेलाडीमात्रै होइन, प्रदर्शनको हिसाबले पनि उनले टिमको नेतृत्व गरिरहेका छन् ।

निकै आक्रामक रूपमा देखिएका मेसीकै लोभलाग्दो पासमा नाहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई लुसेल रंगशालामा डच टिमविरुद्ध ३५ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसमा मेसीले दिएको बल छोएमात्रै पनि गोल हुनेजस्तो देखिएको थियो, मोलिनाले त्यस्तै गरिदिए । मेसी आफैंले ७३ औं मिनेटमा पेनाल्टीमा सजिलै गोल गरेपछि २–० को अग्रतासँगै अर्जेन्टिनाले एक पाइला सेमिफाइनलमा राखेको थियो । यो विश्वकपमा मेसीको चौथो गोलपछि समर्थकले खेल जिते जसरी नै खुसीयाली मनाउन थाले । तर, वोट वेगोर्स्टले ८३ औं मिनेटमा गोल गर्दै डच टिमलाई आशा दिलाए, जसले अर्जेन्टिनालाई तनाव दिएको थियो । उनले इन्ज्युरी समयको ११ औं मिनेटमा चलाखीपूर्ण फ्रिकिकमा गोल गरेर खेल २–२ को बराबरीमा टुंग्याइदिए । निर्धारित समयको अन्तिम मुभ पनि त्यही थियो, जुन डिफेन्सको अनावश्यक फाउलमा पाएको थियो । थपिएको ३० मिनेट समय पनि तनावपूर्ण रह्यो । खेलाडीहरू धकेलाधकेलको दृश्य सामान्य बन्यो । गोलकिपर एमिलानो मार्टिनेजले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक र स्टेभेन बर्गाउसलाई पेनाल्टीमा रोक्दै टाइब्रेकरमा ४–३ को जितसहित अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्‍याइदिए । नेदरल्यान्ड्सका टिम कुपमेनर्स, वोट र ल्युक डी जोङमात्रै सफल रहे । अर्जेन्टिनाका मेसी, लियान्द्रो पार्डेस, गोन्जालो मोन्टिएलको प्रहार सटिक भए पनि एन्जो फर्नान्डेजले बाहिर हाने । तर, निर्णायक प्रहारमा लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले ८ वर्षपछि पनि टाइब्रेकरमा नेदरल्यान्ड्सलाई पन्छाएको हो ।

यो विश्वकपमा उपाधिको मुख्य दाबेदार ब्राजिललाई मानिएको थियो । तर, छैटौंपल्ट विश्वविजेता बन्ने अभियानमा रहेको ब्राजिललाई लुका मोड्रिचको टिम क्रोएसियाले शुक्रबार टाइब्रेकरमा पराजित गर्‍यो । त्यसैले अर्जेन्टिनाले छिमेकीको रूपमा रहेको परम्परागत प्रतिस्पर्धी बाहिरिएको खुसीयाली मनाउने अवसर पनि पायो । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले त्यही क्रोएसियाविरुद्ध मंगलबार फेरि लुसेलमा खेल्ने छ ।

अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सलाई एउटा खराब खेलको रूपमा पनि सम्झिने छ । किनभने स्पेनी रेफ्री मिगुएल माटेउ लोहाचले सुन्दर खेल कायम राख्न सकेनन् वा नियन्त्रणमा राख्न सकेनन् । उनले १८ पहेंलो कार्ड देखाए । दुई पहेंलो कार्ड (रातो) पाउने एकमात्र खेलाडी डेन्जेल डेम्फ्रिस रहे । त्यो पनि टाइब्रेकर सकेपछि । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी र वाल्टर सामुएलले पनि कार्ड पाए । अर्जेन्टिनी खेलाडी जसरी डच प्रशिक्षक लुइस भान गालविरुद्ध खनिए, जसरी नेदरल्यान्ड्सको बेन्चअघि टचलाइनमै पुगेर गोलको खुसीयाली मनाए, वास्तवमै त्यो उक्साहटको पनि पराकाष्ठा नै थियो । त्यसैले पूरा खेल बारम्बार तनावग्रस्त भयो । जसले चिलीविरुद्ध इटालीको खेल सान्टियागोको युद्ध १९६२ लाई सम्झन बाध्य पारेको थियो । पोर्चुगलविरुद्ध नेदरल्यान्ड्सको सन् २००६ को १६ कार्डजस्तै बन्यो । अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेलमा अनेक मोड त छँदै छन् । कडा सुरक्षाबीच दर्शक नाङ्गै मैदानमा प्रवेश गर्न पनि भ्याए । अमेरिकी पत्रकार ग्रान्ट वाहलको पनि मिडिया ट्रिब्युनमै ढलेपछि निधन भयो । मृत्युको कारण हृदयघात भनिएको छ । तर, खेल मेसीको प्रदर्शन र अर्जेन्टिनाको जितकै लागि यादगार रहनेछ ।

प्रकाशित : मंसिर २५, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×