कस्तो होला रोनाल्डोको आगामी यात्रा ?

मोरक्कोसँगको पराजयसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप सपना अन्त्य भएको छ
एजेन्सीहरू

काठमाडौँ — कतारमा जारी विश्वकपको विजेताको दावेदार मानिएको पोर्चुगल नकआउट चरणमा मोरक्कोसँग १ गोल खाँदै यसपटकको विश्वकप प्रतिस्पर्धाबाटै बाहिरियो ।

यसपटकको विश्वकप पोर्चुगलका लागि जति महत्त्वपूर्ण थियो त्यसभन्दा धेरै महत्त्वपूर्ण कप्तान क्रिस्टियानो रोनाल्डोका लागि पनि थियो । उनका लागि आफ्नो करिअरको अन्तिम विश्वकप पोर्चुगललाई जिताउनु खेल करिअरमै एक ऐतिहासिक योगदान हुने थियो, जुन अवसर उनले गुमाइसकेका छन् ।

पोर्चुगलका लागि त आगामी विश्वकपका लागि आफूलाई तयार पार्न पर्याप्त समय छ । जुन अवसर र समय एक खेलाडीको रुपमा ३७ वर्षीय रोनाल्डोका लागि छैन । कतारमा शनिबार राति मोरक्कोबाट पराजित भएसँगै रोनाल्डोको विश्वकप विजेता बन्ने सपना टुंगिएको छ ।

मोरक्कोसँगको अन्तिम खेलको पहिलो हाफको अवधिभर पोर्चुगलका कोच फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमै राखिदिएका थिए । दोस्रो हाफ सुरु भएसँगै रोनाल्डो मैदानमा उत्रिए । तर गोल गर्न सकेनन् । खेल सकिँदासम्म मोरक्कोले १ गोल हानिसकेको थियो भने पोर्चुगलले शून्यमै चित्त बुझाउनुपर्‍यो ।

खेल सकिएसँगै रोनाल्डो निकै निराश र स्तब्ध देखिए । टोलीका साथीहरूसँग अंकमाल नगरी उनी मैदानबाट बाहिर निस्किए। मैदानबाट एक्लै बाहिरिँदै गर्दा उनी दुखित देखिन्थे ।

रोनाल्डोले हालसम्म आफ्नो अन्तर्राष्ट्रिय खेल करिअरको भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि कतार विश्वकप नै रोनाल्डोका लागि अन्तिम विश्वकप भएको अधिकांश खेल समीक्षकहरूको टिप्पणी छ ।

रोनाल्डो अहिलेसम्मकै महान खेलाडीमध्येका एक हुन् भन्नेमा दुईमत छैन । उनी पाँचवटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् । रोनाल्डोले १९६ वटा खेलमा ११८ अन्तर्राष्ट्रिय गोलसहित अन्तर्राष्ट्रिय खेलहरूमा सबैभन्दा धेरै गोलकर्ताको रूपमा विश्व रेकर्ड राखेका छन्। उनी पाँचपटकको बालोन डी’ओर विजेता साथै चारवटा युरोपेली गोल्डेन बुट विजेता पनि हुन् ।

गत अक्टोबरमा उनले म्यानचेस्टरका लागि आफ्नो क्लब करिअरको ७००औं गोल प्रहार गरेका थिए । जुन क्लब करिअरमा उनले पाएको ऐतिहासिक उपलब्धी हो ।

यसपटकको विश्वकपमा भने रोनाल्डो पोर्चुगलको नकआउट चरणको पहिलो खेलमै बेन्चमा बस्नुपर्‍यो । बदलामा कोच फर्नान्डो सान्तोसले गोन्जालो रामोसलाई मैदानमा उतारे । फलस्वरुप रामोस स्विजरल्याण्डसँगको खेलमा ह्याट्रिक नै गर्न सफल बने ।

सान्तोसले शनिबार पनि त्यही तरिकालाई निरन्तरता दिँदै मोरक्कोसँगको खेलमा पनि रोनाल्डोलाई बेन्चमै राखिदिए । तर पहिलो हाफमै पोर्चुगलले १ गोल खानुपर्‍यो । दोस्रो हाफमा भने रोनाल्डोलाई मैदानमा उतारियो । तर उनले आफ्नो जादु देखाउन सकेनन् ।

पोर्चुगल विश्वकपबाट बाहिरिएसँगै कोच सान्तोसको यो रणनीतिको धेरैले आलोचना गरेका छन् । सान्तोसले भने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको प्रतिक्रिया दिएका छन् ।

'क्रिस्टियानो महान खेलाडी हुन् । हामीले आवश्यक ठानेपछि उनी मैदान प्रवेश गरे । हामीलाई कुनै पश्चाताप छैन,' रोनाल्डोलाई बेन्चमा राखिएकोबारे कोच सान्तोसले प्रतिक्रिया दिएका छन् ।

कतार विश्वकपको पराजयसँगै रोनाल्डो आफ्नो खेल करिअरको निर्णायक मोडमा पुगेका छन् । २ दशकको खेल यात्रामा रोनाल्डोले उच्चतम उपलब्धीसहित प्रसंसा मात्रै पाएनन्, मैदान भित्र र बाहिर पनि धेरै विवाद र उतारचढावको पनि सामना उनले गरे । तर सबै विवाद तथा उपलब्धीलाई बिर्साउन सक्ने एक ऐतिहासिक अवसर उनको हातबाट गुमेको छ ।

प्रकाशित : मंसिर २५, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला

दलहरुले समानुपातिकतर्फ ११० सिटका लागि गरेको सिफारिसअनुसार प्रतिनिधिसभामा ८१ जना महिला निर्वाचित हुने छन् । यो करिब ७४ प्रतिशत हो ।
प्रत्यक्षका १६५ सिटमध्ये ९ सिटमा मात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५६ जना पुरूष निर्वाचित भएका छन् । यसरी हेर्दा प्रत्यक्षमा निर्वाचित भएकामध्ये ९४ प्रतिशत पुरूष छन् ।
प्रकाश धौलाकोटी

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको निर्वाचन सम्पन्न गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा दलहरूले सूची बुझाइसकेका छन् भने आयोगले सोमबार निर्वाचित भएको घोषणा गर्दैछ ।

तर, दलहरूले अहिले समानुपातिकमा बुझाएको सूची हेर्दा प्रत्यक्षमा पुरुष र समानुपातिकबाट महिलामात्रै निर्वाचित हुने अवस्था बनेको छ ।

दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएका र महिला निर्वाचित नभएका कारण समानुपातिकबाट प्रतिनिधित्व गराउनैपर्ने समावेशी समुहका पुरुषहरूको समेत प्रतिनिधित्व छुटेको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षका १६५ सिटमध्ये ९ सिटमा मात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५६ जना पुरूष निर्वाचित भएका छन् । यसरी हेर्दा प्रत्यक्षमा निर्वाचित भएकामध्ये ९४ प्रतिशत पुरूष छन् ।

जसरी प्रत्यक्ष निर्वाचनमा पुरुषहरूको एकलौटी वर्चस्व बनेको छ, समानुपातिकमा महिला धेरै निर्वाचित हुँदैछन् । संविधानले दलहरूले आफ्ना सदस्य संख्याको ३३ प्रतिशत महिलालाई निर्वाचित गर्नैपर्ने कानुनी व्यवस्थाका कारण समानुपातिकमा महिला मात्रै निर्वाचित हुने स्थिति बनेको हो ।

प्रत्यक्षको परिणाम र दलहरूले बुझाएको सूचीका आधारमा प्रतिनिधिसभाका २७५ सिटमध्ये ९० जना महिला छन् । तीमध्ये ८१ जना समानुपातिकबाट निर्वाचित हुन लागेका हुन् । समानुपातिकमा पुरुष २९ जनामात्रै समेटिनेछन् । यसरी समानुपातिकबाट निर्वाचित हुने सदस्यमध्ये ७३ प्रतिशत महिला छन् ।

समानुपातिकमा महिला मात्रै निर्वाचित हुने अवस्था बन्दा दलहरूलाई समानुपातिकबाट सांसद छान्ने धौ–धौ परेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३२ सिट पाउँदा तीन जनामात्रै पुरूष परेका छन् । एमालेले ३४ सिट पाउँदा १२ जना पुरूष छानिएका छन् । माओवादी केन्द्रले १४ सिट पाउँदा दुई जना मात्रै पुरुष छानिएका छन् ।

संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व ग्यारेण्टी गरेको छ । प्रतिनिधिसभामा भने समग्रमा महिलाको प्रतिनिधित्व ३२ प्रतिशत पुग्ने देखिएको छ ।

प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि प्रत्यक्षमा पुरूषहरूले मात्रै टिकट पाउँदा समानुपातिकमा अधिकांश महिला मात्रै चुनिने अवस्था आएको हो ।

कांग्रेसले गण्डकी प्रदेशमा समानुपातिकतर्फ ९ सिट पाएकोमा सबै महिलामात्रै निर्वाचित भएका छन् । समानुपातिकमा पहिलो नम्बरमै नाम राखेर सुरक्षित बन्ने प्रयास गरेका प्रदेश सभापति शुक्रराज शर्मा समेत प्रदेशसभा सदस्य बन्न सकेनन् ।

‘प्रत्यक्षमा कांग्रेसले पाएकामध्ये धेरै सिट जित्यो, जित्ने सबै पुरूषमात्रै भए,’ प्रदेश सभापति शर्माले भने, ‘प्रत्यक्षमा पुरुषमात्रै निर्वाचित हुँदा समानुपातिकमा पुरुषलाई मौका भएन, ९ सिट पाएका थियौँ, सबै महिलालाई निर्वाचित गर्नुपर्‍यो ।’

उनले प्रदेशले प्रत्यक्षमा महिला नेताहरूको समेत नाम सिफारिस गरेर पठाएपनि केन्द्रले त्यसलाई सम्बोधन नगरेका कारण यो अवस्था आएको गुनासो गरे । कर्णाली र सुदुरपश्चिममा पनि कांग्रेसबाट महिलामात्रै निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर २५, २०७९ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×