पेनाल्टीमा ह्यारी केन चुक्दा फ्रान्स सेमिफाइनलमा- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार

पेनाल्टीमा ह्यारी केन चुक्दा फ्रान्स सेमिफाइनलमा

राजु घिसिङ

दोहा — इंग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप २०२२ को सेमिफाइनलमा  प्रवेश गरेको छ । अल बायत रंगशाला, अल खोरमा शनिबार भएको विश्वकप २०२२ को अन्तिम क्वार्टरफाइनलमा २-१ को जित हात पार्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा इंग्ल्यान्ड बलियो देखिए पनि मिडफिल्डमा छाइरहेका एन्टोइन ग्रिजमनको लोभलाग्दो क्रसमा ओलिभर जिरोडको हेडर गोलमा फ्रान्स ७८ औं मिनेटमा २–१ ले अगाडि बढेको थियो । तर, ८४ औं मिनेटमै इंग्ल्यान्डले बराबरी गर्ने राम्रो अवसर पायो । डिफेन्डर थियो हर्नान्डेजले सब्स्टिच्युट मेसन माउन्टलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पायो । तर, कप्तान केनले पेनाल्टीमा प्रहार गरेको बल गोलपोस्टमाथिबाट बाहिरिएपछि इंग्ल्यान्डको सन् १९६६ यता पहिलोपल्ट उपाधि जित्ने सपना कतारमा पनि अधुरै रह्यो ।

प्रशिक्षक गारेथ साउथगेटको टिम इंग्ल्यान्ड चार वर्षअघि सेमिफाइनल पुगेको थियो । फुटबलको जन्मदाता इंग्ल्यान्ड सातौंपल्ट विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको हो, जुन लेख्न नचाहेको यो तहमा सबभन्दा धेरै हारको कीर्तिमान नै हो । ब्राजिल (सन् १९५८ र १९६२) पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा छ फ्रान्स । विश्वकपमा इंग्ल्यान्डविरुद्धको पहिलो जितले यो फ्रान्सेली टिम ब्राजिल (१९९८) पछि सेमिफाइनल पुग्ने पहिलो डिफेन्डिङ च्याम्पियन पनि बन्यो ।

‘मलाई व्यक्तिगत र टिमको रुपमा पनि स्विकार्न गाह्रो भएको छ,’ इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हर्टस्परका स्ट्राइकर केनले हारपछि भने, ‘खेलाडीहरूको लागि म गर्वको पात्र हुने छैन । हामीले राम्रो गरेका थियौं । धेरै अवसर बनाएका थियौं । तर, फुटबलमा सानो कुराले पनि तल पार्छ । एउटा कप्तान र पेनाल्टीमा चुकेको खेलाडीको रुपमा त्यसको (हार) जिम्मेवारी लिन चाहन्छु‚’ उनले थपे, ‘तयारीमा मेरो गल्ती थिएन । तर, आत्मविश्वास गुमाए । मैले चाहेजस्तो गर्न सकिनँ ।’

अल बायतमा क्षमताअनुसार ६८,८९५ दर्शक रहेको त्थ्यांक सुनाइए पनि प्यारापिटमा थुप्रै सिट खाली नै देखिन्थ्यो । ‘थ्री लायन्स’ का समर्थक कमै मात्र सुनिन्थ्यो । फ्रान्सका समर्थक पनि उस्तै थिए । तटस्थ देखिएका दर्शकको बाहुल्य रहेको खेलमा राम्रो प्रदर्शन इंग्ल्यान्डले गर्‍यो । प्रदर्शनको आधारमा इंग्ल्यान्ड जितको हकदार नै थियो । यो विश्वकपमा सर्वाधिक ५ गोल गरेका २३ वर्षीय फ्रेन्च फरवार्ड किलियन एम्बाप्पेलाई रोके पनि इंग्ल्यान्डले प्लेमेकर ग्रिजमन र ३६ वर्षीय स्ट्राइकर जिरोडलाई रोक्न सकेन ।

फ्रान्सेली मिडफिल्डर उरेलिन चाउमेनीले २५ यार्डबाट प्रहार गर्दै १७ औं मिनेटमा गोलको खाता खोलेका थिए । ग्रिजमनले दिएको बलमा चाउमेनीले प्रहार गरेपछि इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले सही दिशामा डाइभ गरेपनि बल रोक्न सकेनन् । यिनै चाउमेनीले प्रभावशाली प्रदर्शन गरिरहेका बुकायो साकालाई फउल गर्दै लडाएपछि ५४ औं मिनेटमा पाएको पेनाल्टीमा केनले टोटेनहमका सहकर्मी गोलकिपर ह्युगो लोरिसलाई कुनै अवसर नदिई गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याएका थिए । तर, दोस्रोपल्ट बराबरीको लागि पाएको पेनाल्टीमा भने केन गोल गर्न असफल रहे ।

विश्वकपमा पेनाल्टीमा सबभन्दा बढी (४ गोल) गोल गर्ने खेलाडी बनेका केनले इंग्ल्यान्डको लागि सर्वाधिक ५३ गोलको वायनी रोनीको कीर्तिमान पनि बराबरी गरे । दोस्रो पेनाल्टीमा चुकेपछि कीर्तिमान एक्लैको नाममा बनाउदै खेल बराबरी गर्ने अवसर पनि गुमाए । अर्कोतर्फ, जिरोडले पनि यो विश्वकपमा चौथो गोल गरेसगै फ्रान्सको लागि सर्वाधिक गोलमा आफ्नो कीर्तिमानलाई ५३ (गोल) बनाए । कप्तान लोरिसले पनि फ्रान्सको लागि सर्वाधिक १ सय ४३ खेल खेलेको कीर्तिमान बनाए । यी ३५ वर्षीय गोलकिपरले लिलियम थुराम (१४२ खेल) लाई उछिनेका हुन् ।

फ्रान्सले फाइनल प्रवेशको लागि बुधबार मोरक्कोविरुद्ध खेल्ने छ । मोरक्को शनिबारको पहिलो खेलमा पोर्चुगललाई १-० ले स्तब्ध पार्दै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको हो । अर्को सेमिफाइनलमा लियोनल मेसी कप्तानीको अर्जेन्टिनाले ल्युका मोड्रिचको टिम क्रोएसियाविरुद्ध मंगलबार प्रतिस्पर्धा गर्ने छ ।


प्रकाशित : मंसिर २५, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

नाटकीय खेलमा अर्जेन्टिनाको जित

राजु घिसिङ

दोहा — सुपरस्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लुसेल रंगशालामा शुक्रबार भएको नाटकीय र तनावपूर्ण खेलमा नेदरल्यान्ड्सको चुनौती पेनाल्टी सुटआउटमा ४–३ ले समाप्त पार्दै विश्व्कप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले चिरपरिचित छिमेकी प्रतिद्वन्द्वी एवम् सर्बाधिक पााचपल्टको विश्वकप विजेता ब्राजिल टाइब्रेकरमा क्रोएसियाविरुद्ध हारेको झण्डै चार घन्टाभित्र सनसनीपूर्ण जित हात पारेको हो । अब मेसीको टिमले फाइनल प्रवेशको लागि चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध मंगलबार यही लुसेल रंगशालामा खेल्ने छ ।

करिअरको अन्तिम विश्वकप खेलिरहेका ३५ वर्षीय मेसीले उत्कृष्ट रुपमा सिर्जना गरेको अवसरमा नाहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई ३५ औं मिनेटमा अगाडि बढाएका थिए । मेसी आफैले ७३ औं मिनेटमा पेनाल्टीमा सहज गोल गरेपछि दुईपल्टको विश्वकप विजेता २–० ले अघि बढेको थियो ।

अन्त्यतिर प्रशिक्षक लुइस भान गालको टिमले आक्रामक रुप लियो । वोट वेगोर्स्टले ८३ औं मिनेटमा गोल गर्दै डच टिमलाई आशा दिलाए । उनले अर्जेन्टिनी समर्थकहरुले खुशी मनाउन थालिसकेको अवस्थामा गोल गरेपछि ८८, २३५ दर्शकमध्ये धेरै शान्त भएका थिए । इन्ज्युरी सयको ११ औं मिनेटमा उनले बराबरीको लागि गोल गरेका थिए, जुन खेलको अन्तिम मुभ पनि थियो ।

गोलकिपर एमिलानो मार्टिनेजले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक र स्टेभेन बर्गाउसलाई पेनाल्टीमा रोक्दै अर्जेन्टिनालाई अन्तिम चारमा पुर्‍याएका हुन् । नेदरल्यान्ड्सका टिम कुपमेनर्स, वोट र ल्युक डे जोङमात्रै सफल रहे ।

अर्जेन्टिनाले पुरानै प्रतिस्पर्धी डच टिमविरुद्ध २–० को अग्रता लिएरपनि जोगाउन नसक्दा खेल अतिरिक्त समय हुदै टाइब्रेकरसम्म पुगेको थियो । अर्जेन्टिनाले पुरानै प्रतिस्पर्धी डच टिमविरुद्ध २–० को अग्रता लिएरपनि जोगाउन नसक्दा खेल अतिरिक्त समय हुदै टाइब्रेकरसम्म पुगेको थियो । यसै खेलमा आएर स्पेनी रेफ्रिी मिगुएल माटेउ लोहाच विश्वकपको एउटै खेलमा सबभन्दा बढी पहेंलो कार्ड १७ र थप एक रातो कार्ड दिए । बारम्बार खेलाडीहरु वीच तनावको अवस्था पनि सिर्जना भयो ।

प्रकाशित : मंसिर २४, २०७९ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×