

दोहा — मारियो केम्पसको प्रेरणदायी प्रदर्शनमा अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपल्ट विश्वकप फुटबलमा च्याम्पियन भएको थियो । त्यसको दुई दशकपछि डेनिस वर्गक्याम्पको उत्कृष्ट गोलमा अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुगेको थियो । गोलकिपर सर्जियो रोमेरो पेनाल्टी सुटआउटमा हिरो भएपछि २०१४ मा अर्जेन्टिनाले डच टिमको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाएको थियो ।

त्यसैले नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको फुटबल मैदानमा प्रतिस्पर्धाको इतिहास लामो छ र निकै रोचक पनि । यी दुईबीच सधैं रोमाञ्चक खेलको हुने गर्छ । यी दुई टिम शुक्रबार लुसेल रंगशालामा भिड्दै छन् । यसमा पनि सुन्दर र आक्रामक खेलको अपेक्षा गरिएको छ ।
नेदरल्यान्ड्सले विश्वकप २०२२ मा अन्तिम आठको यात्रा तय गर्नेक्रममै अफ्रिकी च्याम्पियन सेनेगल, एसियन कप विजेता कतार र कन्काकाफ च्याम्पियन अमेरिकालाई पराजित गरिसकेको छ । यसक्रममा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई पनि सिकार बनाउँदै डच टिम अन्तिम चारमा स्थान सुरक्षित गर्न चाहन्छ । कतारमा पहिलो खेलमै साउदी अरेबियाविरुद्ध नासेचिएको हार बेहोरेको अर्जेन्टिना त्यसपछि मेक्सिको, पोल्यान्ड र अस्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा आइपुगेको हो ।
यी दुई टिम यसअघि विश्वकपमा पाँचपल्ट भिडेका छन् । सबैभन्दा बढी चर्चा सन् १९७८ को फाइनलको हुने गर्छ, जहाँ अर्जेन्टिनाले अतिरिक्त समयमा ३–१ को जित रच्दै विश्वकपको पहिलो उपाधि ब्युनस आयर्समा उचालेको थियो । मुख्य प्रतियोगिता र निर्णायक खेलमा चुक्ने गरेकाले अभागी टिमको रूपमा पनि चिनिएको नेदरल्यान्ड्सविरुद्ध अन्तिम भेटमा पनि दक्षिण अमेरिकी महारथीले नै बाजी मारेको थियो । विश्वकप २०१४ को सेमिफाइनलमा गोलरहित बराबरीपछि अर्जेन्टिनाले टाइब्रेकरमा ४–२ को जित हात पारेको थियो । त्यतिबेला पनि डच टिम लुइस भान गालले सम्हालेका थिए । तर, फाइनलमा लियोनल मेसीको टिमलाई जर्मनीले उपाधिविमुख गरिदियो ।
नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा पछिल्ला तीन खेल नै जितेको छ । उसले अर्जेन्टिनालाई पनि १९९८ को विश्वकपमा २–१ ले हराएको थियो । अर्जेन्टिनाले क्वाटरफाइनलमा ३ जित र ४ हारको नतिजा निकालेको छ । त्यसमा जर्मनीसँग ४–० को हार (२०१०) पनि छ, जुन अन्तरको हार अर्जेन्टिनाले दोस्रोपल्ट बेहोरेको हो । त्यसअघि १९७४ मा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई ४–० ले हराएको थियो । भान गाल इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक छँदा अर्जेन्टिनी विंगर एन्जेल डी मारिया क्लबमै थिए । यी दुईको भेट शुक्रबार पनि हुँदै छ । हालै डी मारियाले भान गाललाई सबैभन्दा खराब प्रशिक्षक भनेका थिए । त्यसबारे भान गालले भने, ‘डी मारिया धेरै राम्रो खेलाडी हुन् । अर्को किसिमले हुनसक्छ, मलाई सबैभन्दा खराब प्रशिक्षक भन्ने खेलाडीमध्ये उनी पनि एक हुन् । त्यो खराब हो र एन्जेलले मलाई त्यस्तो भनेको मनपर्दैन । कहिलेकाहीं यस्तो निर्णय गर्नुपर्छ, जुन सधैं राम्रो नहुन पनि सक्छ ।’
प्रतियोगितामा एक पेनाल्टीमा चुके पनि तीन गोल गरेका ३५ वर्षीय मेसी र ७१ वर्षीय प्रशिक्षक भान गालबीच विश्वकपमा को सफल हुने भन्ने प्रतिस्पर्धा पनि हो । मेसीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितेका छन् । गत वर्ष क्यान्सर उपचार गराएका भान गालका लागि पनि प्रशिक्षकको रूपमा विश्वकप जित्ने यो अन्तिम अवसर हुनसक्छ । उनी तीनपल्ट उपविजेतामा रोकिएको डच टिमलाई कतारमा उपाधि दिलाउन चाहन्छन् ।
आठ वर्षअघि सेमिफाइनलमा बेहोरेको हारको बदला लिने दाउमा छन् भान गाल । यसपालि पनि उनको मुख्य चुनौती मेसी नै हुन् । मेसीलाई रोक्ने योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘म यसबारे केही भन्न चाहन्न । भन्यो भने मेरो ट्याक्टिस सार्वजनिक हुन्छ, जुन आफैंलाई छुरा हानेजस्तो हुने छ । तर, सोच्नै नसकिने खालको हुने छैन । हामीसँग राम्रो टिम छ । मेसीलाई बलसँग धेरै देख्न पाउने छैन ।’
अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘मैले पेनाल्टी सुटआउटमा पुग्ने खेलको योजना बनाउने सोचेको पनि छैन । हामी ९० मिनेटमै खेल जित्नेगरी काम गर्ने छौं । सुन्दर खेल हुन गइरहेको छ । किनकि सधैं आक्रामक खेल्ने दुई टिमबीच प्रतिस्पर्धा हुँदै छ ।’
प्रकाशित : मंसिर २३, २०७९ ०७:०२