नचाहिएका ‘सुपर स्टार’- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
विश्वकप २०२२

नचाहिएका ‘सुपर स्टार’

द गार्डियन

लन्डन — क्रिस्टियानो रोनाल्डो अब त्यस्ता ‘सुपरस्टार’ भएका छन्, जसको आवश्यकता कसैलाई भएन । आखिर पोर्चुगलले पनि त्यही बाटो रोजेको छ, जुन यसअघि म्यानचेस्टर युनाइटेडले अपनाएको थियो । त्यो हो, रोनाल्डोविना खेल्ने अनि नतिजा राम्रो निकाल्ने । उनीविनाको पोर्चुगल साँच्चै राम्रो देखियो, विश्वकप २०२२ को अन्तिम १६ को खेलमा ।

स्विट्रजरल्यान्डविरुद्ध रोनाल्डोलाई ‘ड्रप’ गर्ने प्रशिक्षक फर्नान्डो सान्तोसको निर्णय सही नै साबित भयो ।

टिमको प्रदर्शन आफैंमा उम्दा रह्यो । त्यसैले त पोर्चुगल यो खेलमा स्विट्जरल्यान्डविरुद्ध मज्जाले ६–१ ले विजयी रह्यो । अब क्वाटरफाइनलमा उसको सामना मोरक्कोविरुद्ध हुँदै छ । भन्न सकिन्छ, सायद यो खेल जित्न पोर्चुगललाई गाह्रो हुने छैन, यदि रोनाल्डोले खेलेनन् भने । यसपल्ट सान्तोसले रोनाल्डोलाई टिमबाट हटाउने बहादुरीपूर्ण निर्णयमात्र गरेका छैनन्, दक्षिण कोरियाविरुद्ध रोनाल्डोले देखाएको व्यवहारको खुलेरै आलोचना गरेका छन् ।

त्यस खेलमा आफू सब्स्टिच्युट हुँदा रोनाल्डोले नमीठो ढंगले असन्तुष्टि पोखेका थिए । त्यसै कारण उनको स्थानमा युवा खेलाडी गोन्सालो रोमासले मौका पाए । उनले मौकामात्र पाएनन्, त्यसमा आफूलाई सिद्ध गरे । उत्कृष्ट र जारी विश्वकपकै पहिलो ह्याट्रिक गरे । अहिले ३७ वर्षीय रोनाल्डोका लागि ठीक दिन चलिरहेको छैन । उनको घमण्ड र दम्भका कारण म्यानचेस्टरसँगको सम्बन्ध सधैंका लागि टुटिसकेको छ । उनले इंग्लिस प्रिमियर लिग क्लबको खुबै आलोचना गरेका थिए । अब यस्तै अवस्था आफ्नै राष्ट्रिय टिमबाट आइपरेको छ । केही समयअघिसम्म पनि धेरैका लागि अकल्पनीय अवस्था बनेको छ, पोर्चुगली टिममा रोनाल्डो ‘ड्रप’ गर्दा, त्यो पनि विश्वकप जत्तिको ठूलो प्रतियोगितामा । अझ त्यो पनि नकआउट चरणमा । सान्तोसले पोर्चुगाली टिम सम्हालेको पनि ८ वर्ष भयो । यसबीच उनले गरेको सबैभन्दा ठूलो र बहादुरीपूर्ण मात्र होइन, सही निर्णय भनेकै यही भएको छ, रोनाल्डोलाई नखेलाउने निर्णय ।

पोर्चुगलका लागि सन् २०१६ को युरो जितेका सान्तोस बिरलै मात्र ठुल्ठूला निर्णय गर्ने प्रशिक्षकका रूपमा लिइन्छ । यदि पोर्चुगल अन्तिम १६ मै रोकिएको भए विश्वकपबाट बाहिरिनुको सबै दोष उनीमाथि नै हुन्थ्यो न कि रोनाल्डोमाथि । तर सान्तोसले यसपल्ट के बहादुरीपूर्ण निर्णय गरे, पोर्चुगलको प्रदर्शन निकै आक्रामक रह्यो । स्विस टिममाथि पोर्चुगल पूर्णतः छाएको थियो । कुनै त्यस्तो समय आएन, जतिबेला रोनाल्डोको आवश्यकता महसुस भयो ।

मिडफिल्डःमा बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेसले खेल पूर्णतः आफ्नो नियन्त्रणमा राखेका थिए । अगाडि २१ वर्षीय रामोस थिए । यसअघि उनीबारे धेरै सुन्न पाइएको थिएन । तर, २१ वर्षीय स्ट्राइकरले आफूमाथि गरेको विश्वासको पूर्ण न्याय दिलाए । स्विट्जरल्यान्डसँगको खेलअघिसम्म रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल नगरेको ५ सय १४ मिनेट पुगिसकेको छ । जबकि रामोसले ६७ मिनेटमात्र खेलेर तीन गोल गरे ।

रोनाल्डोको मनमा लागेको हुनसक्छ, जसरी म्यानचेस्टरमा उनको खेलजीवन सकिएको थियो, त्यसैगरी पोर्चुगलका लागि हुनसक्छ । त्यसैले बेञ्चमा रहेका बेला उनको अनुहारमा कुनै प्रकारको खुसी देखिएको थिएन ।

पोर्चुगलको राष्ट्रिय गीत बजिसकेपछि सबैको ध्यान उनमै थियो, रोनाल्डोको प्रतिक्रिया कस्तो हुन्छ भनेर । खेल सकिन १६ मिनेटअघि सान्तोसले रोनाल्डोलाई मैदानमा छिराए । तर, यो उनको व्यक्तिगत उपलब्धिमात्र रह्यो । रोनाल्डोले खेलमा कुनै छाप छाड्न सकेनन् ।

प्रकाशित : मंसिर २२, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘गोल्डेन बुट’ जित्नेहरू

अहिलेसम्म विश्वकपका २१ संस्करणमा २७ खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्
द गार्डियन

लन्डन — ‘वर्ल्डकप गोल्डेन बुट’ । यो यस्तो व्यक्तिगत अवार्ड हो, जसलाई जित्न प्रत्येक फरवार्डको उद्देश्य रहने गर्छ । विश्वकप फुटबलको अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो ।

यो अवार्ड जितेका पुराना खेलाडीको सूची मात्र हेर्ने हो भने यसको महत्त्व थाहा हुन्छ । जस्तो– इसिबो, गर्ड मुलर र ब्राजिलका रोनाल्डो । केही भने यही अवार्ड जितेर महान् खेलाडीको सूचीमा परेका छन् । जस्तो कि जस्ट फोन्टेन, साल्भाटोर सिलाची अनि ओलेगा सालेन्को ।

सन् १९३० देखि १९७८ सम्मका विश्वकप संस्करणमा सर्वाधिक गोलकर्ता पाउने कुनै खास अवार्ड नै थिएन । सन् १९८२ मा स्पेनमा भएको विश्वकपबाट यसमा परिवर्तन आयो । त्यही बेलादेखि यो अवार्डलाई ‘गोल्डेन बुट’ भनिएको हो । सन् २०१० देखि यसलाई ठूलै महत्त्व दिन थालियो ।

सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपमा सर्वाधिक गोल गरेका अर्जेन्टिनी गुइलेर्मो स्टाबाइलदेखि ४ वर्षअघि रुसमा सम्पन्न विश्वकपमा यस्तै काम गरेका थिए ह्यारी केन ।

अहिलेसम्म विश्वकपका २१ संस्करणमा २७ खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । तर यसबीच एकै संस्करणको विश्वकपमा फ्रान्सका जस फोन्टेनले जत्तिको गोल कसैले गर्न सकेका छैनन्, न त गर्ने छन् । सन् १९५८ को विश्वकप स्विडेनमा भएको थियो । त्यतिबेला फोन्टेनले १३ गोल गरे । त्यसमा सुरुमै एक ह्याट्रिक थियो । त्यो पाराग्वेविरुद्ध प्राप्त ७–३ जितमा थियो । त्यसपछि उनले पश्चिम जर्मनीविरुद्ध ६–३ को जितमा चार गोल गरेका थिए ।

तर नरमाइलो के भने उनको यत्तिको प्रदर्शनका बावजुद फ्रान्स फाइनल पुग्न सकेन । सबैभन्दा कम चार गोल गरेर पनि गोल्डेन बुट अवार्ड जितेको इतिहास छ । सन् १९६२ मा ६ खेलाडीले त्यस विश्वकपमा समान चार गोल गरे । जम्माजम्मी दुई अवसरमा एकभन्दा बढी खेलाडीले यो अवार्ड जितेका छन् । त्यसमध्ये पहिलो अवसर त्यही भयो, अर्को सन् १९९४ को अमेरिकामा भएको विश्वकपमा दुई खेलाडीको नाममा यो अवार्ड रह्यो । ती थिए रुसका सेलेन्को र बुल्गेरियाका ह्रिस्टो स्टोच्कोभ । सन् २०१० मा चार खेलाडीले समान ५ गोल गरे । उनीहरू थिए जर्मनीका थोमस मुलर, स्पेनका डेविड भिया, नेदरल्यान्ड्सका वेल्सी स्नाइडर र उरुग्वेका डिएगो फोर्लान । तर, अवार्ड भने जर्मन फरवार्डले पाए । यसका लागि दिइएको कारण थियो, उनले टिमको तीन गोलमा सहयोगी भूमिका पनि निभाएका थिए । सन् १९९४ को विश्वकपपछि यस्तो नियम बनेको थियो, त्यसअनुसार समान संख्यामा गोल गर्ने खेलाडी रहे । त्यसमा कम पेनाल्टीमा गोल गरेका खेलाडीले अवार्ड पाउने भयो ।

अर्को तथ्य अरूको गोलमा सहयोगी भूमिका पनि कायम रह्यो । अझ चाहिएमा कसले कम मिनेट खेलेको छ, त्यसले यो अवार्ड पाउने भयो । यो अवार्ड जित्ने काम सजिलो पनि छैन । यसका लागि ठोस कारण छन् । अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये एकै खेलाडीमात्र ३० वर्षमाथिका छन् । उनी हुन्, क्रोएसियाका डाभोर सुकर । सन् १९९८ को विश्वकपमा उनले ६ गोल गरेका थिए । त्यो पनि आफ्नो ३० औं जन्मदिनको ५ महिनापछि । यो अवार्ड जित्ने सबैभन्दा कान्छा खेलाडी भने हंगेरीका फ्लोरेन अल्बर्ट हुन् । उनले सन् १९६२ को चिलीमा भएको विश्वकपमा ६ गोल गरे । त्यतिबेला उनी २० वर्ष ८ महिना १५ दिनका मात्र थिए । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा जर्मनीका थोमस मुलरले यो अवार्ड जितेका थिए । त्यतिबेला उनी अल्बर्टभन्दा १४ दिनले जेठा थिए । उनी कतारमा पनि खेलिरहेका छन् । उनीसामु यो अवार्ड दुईपल्ट जित्ने पहिलो खेलाडीको अवसर छ ।

गोल्डेन बुट विजेता

१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) – ८ गोल

१९३४ ओल्डरिच नेजेडली (चेकोस्लोभाकिया) – ५ गोल

१९३८ लियोनिडास (ब्राजिल) – ७ गोल

१९५० एडेमिर (ब्राजिल) – ८ गोल

१९५४ सान्डोर कोक्सिस (हंगेरी) – ११ गोल

१९५८ जस्ट फोन्टेन (फ्रान्स) – १३ गोल

१९६२ संयुक्त ६ खेलाडी (फ्लोरेन्ट अल्बर्ट–हंगेरी, भ्यालेन्टिन इभानोभ–सोभियत युनियन, ड्राजन जार्कोभिच–युगोस्लाभिया, लियोनल सान्चेज–चिली, भाभा– ब्राजिल, गारिन्चा–ब्राजिल) – ४ गोल

१९६६ इसेबियो (पोर्चुगल) – ९ गोल

१९७० गर्ड मुलर (जर्मनी) – १० गोल

१९७४ ग्रजेगोर्ज लाटो (पोल्यान्ड) – ७ गोल

१९७८ मारियो केम्पस (अर्जेन्टिना) – ६ गोल

१९८२ पाउलो रोसी (इटाली) – ६ गोल

१९८६ ग्यारी लिनेकर (इंग्ल्यान्ड) – ६ गोल

१९९० साल्भाटोर सिलाची (इटाली) – ६ गोल

१९९४ ओलेग सालेन्को (रुस) र ह्रिस्टो स्टोच्कोभ (बुल्गेरिया) – ६ गोल संयुक्त

१९९८ डाभोर सुकर (क्रोएसिया) – ६ गोल

२००२ रोनाल्डो (ब्राजिल) – ८ गोल

२००६ मिरोस्लाभ क्लोज (जर्मनी) – ५ गोल

२०१० थोमस मुलर (जर्मनी) – ५ गोल

२०१४ हामेस रोड्रिगुएज (कोलम्बिया) – ६ गोल

२०१८ ह्यारी केन (इंग्ल्यान्ड) – ६ गोल

प्रकाशित : मंसिर २, २०७९ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×