१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
विश्वकप २०२२

ह्याट्रिक हिरो रामोस

गोन्कालो रामोसद्वारा विश्वकप २०२२ को पहिलो ह्याट्रिक
राजु घिसिङ

दोहा — पोर्चुगल–स्विट्जरल्यान्डको खेल सुरु हुनुभन्दा एक घन्टाअघि मंगलबार लुसेल रंगशालामा खेल्ने ११–११ खेलाडीको टिम घोषणा गरियो, जसले रंगशाला परिसरदेखि सामाजिक सन्जालसम्मै सनसनी फैलियो ।

ह्याट्रिक हिरो रामोस

प्रशिक्षक फर्नान्डो सान्तोसको कप्तान क्रिस्टियानो रोनाल्डोलाई सुरुमै नखेलाएर बेन्चमा राख्ने निर्णय त्यसको कारण थियो । टिम कप्तान, अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोलकर्ता (पुरुष), विश्वमै सबैभन्दा लोकप्रिय खेलाडीलाई मुख्य प्रतियोगितामा १४ वर्षयता पहिलोपल्ट सुरुआती ११ खेलाडीमा राखिएन ।

प्रशिक्षक सान्तोसले रोनाल्डोको स्थानमा उनीभन्दा १६ वर्ष कान्छो गोन्कालो रामोसलाई छनोट गरेका थिए । विश्वकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड फिफा बालोन डी’अर पाँचपल्ट जितेका ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्समा ‘गोल मेसिन’ को रूपमा खुबै चम्किए । तीन साता अघिमात्रै अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका २१ वर्षीय रामोसले ३५ मिनेटमात्रै खेलेका थिए । उनले पोर्चुगलकै बेन्फिकाबाट करिअर सुरु गरेको दुई वर्षमात्रै हुँदै छ । त्यसैले रोनाल्डोसामु ‘गुमनाम वा नामै नसुनिएका’ रामोसलाई विश्वकपको अन्तिम १६ को खेलमा छनोट गरेपछि ठूलै हलचल भएको हो ।

८९ हजार दर्शक क्षमताको रंगशालामा जर्सी नम्बर ७ लगाएर रोनाल्डोकै खेल हेर्नकै लागि लागि हजारौं दर्शक महँगो टिकट किनेर आएका थिए । कतारमा विश्वकप सुरु हुँदै गर्दा नमीठो अनुभवसहित म्यानचेस्टर युनाइटेडसँगको सम्झौता टुंग्याएका सुपरस्टार पहिलो रोजाइमा नरहेपछि दर्शक ‘रोनाल्डो रोनाल्डो’ भन्दै हुटिङ गर्न थाले । खेलपूर्व मात्रै होइन, प्रतिस्पर्धा भइरहँदा र रोनाल्डोलाई वार्मअपमा पठाइएका बेला पनि उनको पक्षमा चर्को आवाजले रंगशाला गुञ्जायमान बनाइरह्यो । रामोस खेलमै केन्द्रित भए । रोनाल्डो भने जर्सीमाथि फिफाको बिब लगाएर बेन्चबाट टुलुटुलु खेल हेर्न बाध्य भए ।

रामोसले स्विस टिमविरुद्ध ६–१ को जितमा तीन गोल गर्दै प्रशिक्षक सान्तोसको निर्णयप्रति न्याय गरे । उनले १७, ५१ र ६७ औं मिनेटमा गोल गर्दै यो विश्वकपकै पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाएका हुन् । उनले शक्तिशाली प्रहारमा गोलको खाता खोले । हल्का प्रहारमै दोस्रो गोल गरे । तेस्रो गोलमा उनको फिनिसिङ उत्कृष्ट रह्यो । उनी पहिलोपल्ट सुरुआती टिममा खेल्दै विश्वकपमा ह्याट्रिक गर्ने मिरोस्लाभ क्लोज (सन् २००२) यता पहिलो खेलाडी पनि भए ।

‘विश्वकपको नकआउट चरणमा पहिलो रोजाइमा खेल्ने र तीन गोल गर्ने कुरा मैले सबैभन्दा ठूलो सपनामा पनि सोचेको थिइनँ,’ रामोसले भने, ‘तर, हामीलाई एक खेलपछि अर्को खेलको तयारी (क्वाटरफाइनलमा मोरक्कोविरुद्ध) गर्नेबारे सोच्नुपर्छ । अब यो नतिजा (स्विट्जरल्यान्डविरुद्धको जित) ले केही मतलब राख्दैन । हामी सबै हिसाबले अर्को खेलमा जानुपर्छ ।’

रोनाल्डोले पोर्चुगिज टिममा डेब्यु गर्दा रामोस मात्र दुई वर्षका थिए । ह्याट्रिकसँगै अब उनको मूल्यमा दसौं लाख डलर भाउ बढ्ने निश्चित छ ।

उनी रोनाल्डोका बारेमा पनि बोले, ‘इमान्दारीपूर्वक भन्नुपर्दा यसबारे (रोनाल्डोको स्थानमा खेल्न पाउने) कसैले कुरा गरेका थिएनन् । कप्तानको रूपमा क्रिस्टियानोले गर्ने काम गरिरहेका थिए । हामीलाई सहयोग गरिरहेका थिए । कुरा गरिरहेका थिए । मसँग मात्रै होइन, मेरा टिमका सहकर्मीसँग पनि ।’ उनले थपे, ‘क्रिस्टियानो सधैं जस्तै रोलमोडल हुन् । धेरैका लागि आदर्श हुन् । मलाई लेवान्डोस्की (रोबर्ट) र इब्राहिमोभिच (जाल्टन) पनि मनपर्छ ।’

उनले रोनाल्डोको स्थानमात्रै लिएनन्, विश्वकपको पाँच संस्करणमा गोल गरे पनि नकआउट चरणमा गोलको खाता खोल्नै असफल रोनाल्डोलाई एउटै खेलमा तीन गोल गरेर उछिने । १३ वर्षको छँदै बेन्फिकाको एकेडेमी पुगेका उनी खासमा यू–१९ युरोपियन च्याम्पियनसिप २०१९ मा सर्वाधिक गोलकर्ता हुँदै उदाएका थिए । डार्बिन नुनेजले प्रिमियर लिग क्लब लिभरपुल रोजेपछि रामोसले पोर्चुगिज प्रिमेरा लिगामा नियमित अवसर पाउन थाले । यो सिजन ११ खेलमा ९ गोल तथा समग्रमा २१ खेलमा १४ गोल गरेपछि उनी विश्वकपको २६ सदस्यीय टिममा अटाएका हुन् । विश्वकपको तयारीमा गत नोभेम्बर १७ मा नाइजेरियाविरुद्ध ४–० ले जितेको मैत्रीपूर्ण खेलमा ६७ औं मिनेटमा मैदानमा प्रवेश गर्दै रामोसले पोर्चुगलको सिनियर टिममा डेब्यु गरेका थिए । मैदान छिरेको १५ मिनेटमै गोल गर्न पनि भ्याए । उनको विशेष कौशल पनि गोल गर्ने खुबी नै हो । उनले पोर्चुगिज टिममा चौथो खेलमै ह्याट्रिक गरेका हुन् । उनले समूह चरणमा सब्स्टिच्युटका रूपमा दुई खेलमा जम्मा १० मिनेट मैदानमा उत्रने अवसर पाएका थिए । स्विस टिमविरुद्ध ब्रुनो फर्नान्डेज र जाओ फेलिक्सको बीचमा रहेर सेन्टर फरवार्डको भूमिकामा खेलेका उनी भर्सटायल खेलाडी हुन् ।

स्विट्जरल्यान्डविरुद्ध रामोस र रोनाल्डो एक मिनेट सहकर्मी पनि रहे । उनको स्थान ७४ औं मिनेटमा रिकार्डो होर्ताले लिएका थिए भने रोनाल्डोले ७३ औं मिनेटमा फेलिक्सलाई स्थानान्तरण गरेका थिए । म्यान अफ द म्याच पनि चुनिएका रामोसको प्रदर्शनसँगै अब सेमिफाइनल प्रवेशका लागि शनिबार मोरक्कोविरुद्ध हुने खेलमा पहिलो रोजाइमा रोनाल्डोको भविष्य अन्योलमा परेको छ । समूहको अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध २–१ ले हारेको खेलमा परिर्वतन गरेपछि रोनाल्डो प्रशिक्षक सान्तोससँग रिसाएका थिए । त्यसैले रोनाल्डोलाई अन्तिम १६ मा पहिलो रोजाइमा छनोट नगरिएको हो कि भन्ने हल्ला पनि चल्यो ।

‘हामी वर्षौंदेखिका साथी हौं । हामी खेलअघि कुरा गरेका थियौं र मेरो निर्णयप्रति उनलाई कुनै गुनासो थिएन । उनी उदाहरण हुन्,’ टिम छनोटबारे प्रशिक्षक सान्तोसले भने, ‘यो खेलको रणनीति हो । सबै खेलाडी फरक छन् । मेरो सोचमा स्विटजरल्यान्डविरुद्धको खेलमा आवश्यक टिम खेलाएको हो ।’ आठ वर्षयता पोर्चुगिज टिम सम्हाल्ने क्रममा युरोपियन च्याम्पियनसिप २०१६ को उपािध जितेका उनले थपे, ‘टिमले धेरै राम्रो खेल्यो । तर हामी अब धरातलमा ओर्लनुपर्छ । त्यो उत्कृष्ट थियो । निकै उत्कृष्ट थियो । अब चार दिनमा हामीसँग फेरि अर्को एउटा खेल छ ।’

खुसी छौं त ? एउटैमात्र प्रश्नको जवाफ रोनाल्डोले दिए, ‘पक्कै, पक्कै पनि । पोर्चुगलले जित्यो ।’ रोनाल्डो कतारमा पहिलो खेलमा घानाविरुद्ध ३–२ को जितमा पेनाल्टीमा गोल गर्दै विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । उरुग्वेविरुद्ध २–० को जितमा ब्रुनोको क्रसमा भएको गोलमा हेडर प्रयास गरेका रोनाल्डोले आफैले गोल गरेसरह खुसी मनाएका थिए । तर, प्रविधिको उपयोगपछि त्यो गोल ब्रुनोले गरेको ठहरियो । रोनाल्डोलाई बेन्चमा राखिएको स्विटजरल्यान्डसँग नै पोर्चुगलले अहिलेसम्मको सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । रोनाल्डोकै स्थानमा ल्याइएका रामोसले ह्याट्रिक गरे । त्यसैले प्रशिक्षक सान्तोसले सनसनी टोली मोरक्कोविरुद्ध पनि रामोसलाई सुरुमै अवसर दिने सम्भावना बढेको छ ।

प्रकाशित : मंसिर २२, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?