३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मोरक्कोले रच्यो इतिहास

राजु घिसिङ

दोहा — गोलकपिर बोनोउ यासिनले दुई पेनाल्टी रोकेपछि मोरक्को टाइब्रेकरमा स्पेनलाई ३–० ले पराजित गर्दै मंगलबार विश्वकप फुटबलमा पहिलोपल्ट क्वाटरफाइनल पुगेको छ । सन् २०१० को च्याम्पियनलाई हराएर १२ वर्षयता विश्वकपको अन्तिम आठमा पुग्ने पहिलो टिम अफ्रिकी टिम बन्यो मोरक्को ।

मोरक्कोले रच्यो इतिहास

एजुकेसन सिटी स्टेडियममा अतिरिक्त र इन्ज्युरी समयसहित दुई घन्टा १० मिनेटको चर्को प्रतिस्पर्धा गोलरहित टुंगिएपछि टाइब्रकेरमा पुगेको थियो । स्पेनी क्लब सेभियाबाट ला लिगा खेल्दै आएका गोलकिपर बोनोउको उत्कृष्ट प्रदर्शनसँगै मोरक्कोले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पाब्लो साराबियाले बल पोलमा प्रहार गरेपछि बानोउले कार्लोस सोरेस र कप्तान सर्जियो बुस्केट्सलाई पनि असफल पार्दै स्पेनलाई फेरि एकपल्ट पेनाल्टी शटआउटमा अन्तिम १६ बाटै बिदाइ गरिदिए । उनले बुस्केट्सको पेनाल्टी रोकेपछि पीएसजी (पेरिस सेन्ट जर्मेन) का डिफेन्डर असरफ हकिमीले गोल गर्दै मोरक्कोलई टाइब्रकेरमा ३–० को जित दिलाए ।

स्पेनी किपर सिमोन उनाइले बेदर बेनोनको प्रहार रोके पनि अब्देल हामिद साबिरी, हकिम जिएच र असरफ हकिमीले सटिक रह्यो । पेनाल्टी प्रहार गर्नकै लागि अतिरिक्त समयको अन्त्यतिर ल्याइएका मोरक्कोका बेदर र स्पेनी साराबिया १२ यार्डबाट बललाई पोस्टको दिशा दिन चुके । स्पेनलाई चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा पनि आयोजक टिमले टाइब्रेकरमै पराजित गरेको थियो ।

मोरक्को विश्वकपको क्वाटरफाइनल पुग्ने चौथो अफ्रिकी टिम हो । यसअघि अफ्रिकी टिम क्यामरुनले सन् १९९०, सेनेगलले २००२ र घानाले २०१० मा अन्तिम आठको यात्रा गरेका थिए । त्यसैले पोर्चुगल र स्विट्जरल्यान्डको विजेताविरुद्ध शनिबार अल थुमामा रंगशालामा उत्रिँदा मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बन्ने अभियानमा हुनेछ ।

निर्धारित र अतिरिक्त समय निकै रोमान्चक रह्यो । दुवै टिमले एकपछि अर्को अवसर बनाइरहे । तर, दुवै टिम एट्याकिङ थर्डमा पुगेर फिनिसिङमा चुके । स्पेनी फरवार्ड साराबियाले अन्तिम क्षणमा सिक्स यार्ड बक्समा पाएको अवसरमा गोल गरेको भए खेल पेनाल्टी शुटआउसम्म लम्बिने थिएन । तर, उनको भलीमार्फत बल पोस्टबाहिर हानेपछि स्पेनको संघर्ष पेनाल्टी शुटआउटसम्मै लम्बियो ।

इटालियन सिरी ए क्लब फिओरेन्टिनाका मिडफिल्डर सोफयन अमरबातको प्रदर्शन निकै उत्कृष्ट रह्यो । उनी विपक्षीलाई रोक्ने, आफ्नै टिमका लागि अवसर सिर्जना गर्नेलगायतमा पूरा खेल सक्रिय हुँदै मैदानको चारैतिर छाए । बल पोजेसनमा फेरि एकपल्ट स्पेनको वर्चस्व रह्यो । स्पेनले १ हजार १९ पास खेल्यो । तर, चाहिएको गोल गर्न सकेन । जापानसँग २–१ ले हारेको खेलमा पनि स्पेनले १ हजार ५८ पास खेलेको थियो ।

पहिलो खेलमा क्रोएसियासँग गोलरहित नतिजा निकालेको मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानको बेल्जियमलाई २–० र चार वर्षपछिको सहआयोजक क्यानडालाई २–१ ले पराजित गर्दै समूह ‘एफ’ मा शीर्षस्थान हासिल गर्दै ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो ।

पहिलो खेलमा कोस्टारिकाविरुद्ध गोलको वर्षा गर्दै ७–० को जित हात पारेको स्पेन चारपल्टको विजेता जर्मनीविरुद्ध १–१ को बराबरी र जापानसँग २–१ को हार खेप्दै समूह ‘ई’ को उपविजेता भएर क्वाटरफाइनल प्रवेशका लागि मोरक्कोसँग भिड्न आएको थियो । स्पेन र मोरक्को सन् २०१८ को विश्वकपमा पनि भिडेका थिए । समूह चरणको अन्तिम खेल २–२ मा टुंगिएको थियो । रुसमा मोरक्को समूह चरणबाटै बाहिरियो ।

प्रकाशित : मंसिर २१, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?