विश्वकप २०२२

सिमोनमा टिकेको स्पेनी सम्भावना

एएफपी

दोहा — स्पेनको दोस्रोपल्ट विश्वकप जित्ने सम्भावना सम्भवत: एक खेलाडीमा टिकेको छ । ती हुन् गोलरक्षक उनाइ सिमोन । लुइस एनरिकेको टिमको रणनीति हो, बलमाथि अत्यधिक नियन्त्रण । यसका लागि गोलरक्षक बहादुर हुनुपर्छ, आफ्ना नजिकका साथी खेलाडीलाई बल हस्तान्तरण गर्न । विपक्षी टिमबाट अत्यधिक दबाबमा पनि गोलरक्षकले यही काम गर्नुपर्छ । अझ कहिलेकाहीं त यो काम नराम्रोसँग बिग्रन पनि सक्छ ।

सिमोनमा टिकेको स्पेनी सम्भावना

तर प्रशिक्षकलाई यो काममा गोलरक्षक सिमोनमाथि अत्यधिक विश्वास छ । भलै, केही खेल पण्डितले तिनै गोलरक्षकको खुबै आलोचना गर्ने गर्छन् । समूह चरणमा जर्मनीसँग १–१ को बराबरीमा पनि सिमोनले यस्तै डरलाग्दो स्थिति सामना गरे । त्यतिमात्र होइन, जापानसँग २–१ को हारमा पनि पहिलो गोल उनकै गल्तीमा भएको थियो । अझ एक समय त स्पेनमाथि प्रतियोगिताबाट बाहिरिने र घर फर्कनुपर्ने डर उत्पन्न भएको थियो ।

यसैबीच समूह ‘ई’ मा जर्मनी दोस्रो स्थानमा रह्यो । अब मोरक्कोको सामना गर्दै छ । जापानले भने स्पेनविरुद्धको रणनीतिलाई पूर्णत: फिक्का साबित गरिदिएको थियो । प्रशिक्षका एनरिकेले खेलपछि स्वीकार्दै भने, ‘जापानले पक्कै पनि हामीलाई चिन्तित तुल्याएको थियो । यही जापानले बढी गोल गर्न आवश्यक रहेको भए उसले गोल पनि गर्न सक्ने थियो ।’ जापानसँगको उक्त खेलमा स्पेन १–० ले अगाडि थियो । त्यही स्थितिमा सिमोनले एलेजान्ड्रो बाल्डेलाई बल दिएका थिए । त्यसैमा जापानले फाइदा उठाएको थियो ।

कुरा कहाँसम्म पुगेको छ भने अब त्यही खेलमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डी जियालाई खेलाएको भए गोल नहुने तर्क पनि उठेको छ । तर यो सम्भव नै थिएन, किनभने एनरिकेले सिमोनका सहयोगीका रूपमा डेविड राया र रोबर्ट सान्चेजलाई टिममा राखेका छन् । एनरिके थप्छन्, ‘यदि सिमोनले खुट्टाबाट राम्रोसँग बल पास दिन सक्दैनन् भने उनी स्पेनी राष्ट्रिय टिममा पर्न हकदार छैनन् ।’

सिमोनले गर्नसक्ने सम्भावित भुलमा एनरिकेलाई कुनै किसिमको चिन्ता छैन । उनलाई त मतलब रहेको छ, यी गोलरक्षकले आफ्नो रणनीतिअनुसार खेलोस् । सन् २०१९ मा सिमोनले आफूलाई स्पेनका नम्बर एक गोलरक्षक साबित गरेका थिए । त्यसको एक वर्षमै युरो २०२० लाई छनोट भए । त्यस प्रतियोगितामा पेड्रीको ब्याकपासमा सिमोनले आत्मघाती गोल गरे । तर, उनैले स्विट्जरल्यान्डसँगको खेलमा पेनाल्टी प्रहार उत्कृष्ट बचाउ गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?