म गोल्डेन बुट होइन, विश्वकप जित्न आएको हुँ : एम्बाप्पे

काठमाडौँ — सुपरस्टार किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनसँगै डिफेन्डिङ च्याम्पियन फ्रान्स अल थुमामा रंगशालामा आइतबार पोल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । एम्बाप्पेले कतारमा जारी विश्वकपमा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा रहँदै गोल्डेन बुटको दाबेदारी प्रस्तुतसमेत गरेका छन् ।

म गोल्डेन बुट होइन, विश्वकप जित्न आएको हुँ : एम्बाप्पे

एम्बाप्पेलाई पछ्याउँदै ३ गोल गर्नेमा अर्जेन्टिनी कप्तान लियोनल मेसी, फ्रान्सकै ओलिभर जिरुड, इंग्ल्यान्डका बुकायो साका र मार्कस रसफोर्ड, नेदरल्यान्ड्सका कोडी गाक्पो रहेका छन् । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यदि इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले फाइनलसम्मको यात्रा तय गर्न सकेमा एम्बाप्पेको गोल्डेन बुट पाउने दाबेदारी बलियो हुनेछ । तर एम्बाप्पे आफै भने आफू गोल्डेन बुटका लागि भन्दा पनि फ्रान्सलाई विश्वकप उपाधि जिताउन कतार आएको बताउँछन् ।

आइतबार पोल्यान्डविरुद्ध २ गोल गरेका एम्बाप्पेले पोस्टम्याच कन्फरेन्समा भने, 'मेरो पहिलो उद्देश्य भनेकै विश्वकपको उपाधि जिताउनु हो । क्वार्टरफाइनलको अर्को खेल जित्नु हो । म यहाँ यो विश्वकपको उपाधि जित्न आएको हुँ । म यहाँ गोल्डेन बल र गोल्डेन बुट जित्नका लागि आएको होइन, यदि जितिहालेँ भने अवश्य खुसी हुनेछु तर म फ्रेन्च राष्ट्रिय टिमका लागि आएको हुँ ।'

२४ वर्ष नछुँदै विश्वकपमा आठौं गोल गर्दै एम्बाप्पेले पेले (७ गोल) को कीर्तिमानलाई उछिनेका छन् । एम्बाप्पेले सबभन्दा कम उमेरमा विश्वकपमा आठ गोल गरेका इटालीका युसेबियो डी फ्रान्सेस्को कीर्तिमान पनि तोडे । उनले २३ वर्ष ३ सय ४९ दिनमा आठौं गोल गरेका हुन् । युसेबियोले २४ वर्ष १ सय ८२ दिनमा त्यो रेकर्ड बनाएका थिए । एम्बाप्पेले रुसमा उपाधि जित्ने क्रममा चार गोल गरेर प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए ।

प्रकाशित : मंसिर १९, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?