१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
विश्वकप २०२२

मोड्रिच कप्तानी खेल खेल्दै

एएफपी

दोहा — क्रोएसियाली टिममा अहिले त्यस्ता खेलाडी कमै मात्र छन्, जसले सन् २०१८ को विश्वकप फाइनल खेले । फ्रान्ससँग उपाधि भिडन्तमा पराजित क्रोएसियाका लुका मोड्रिच भने एक अपवाद हुन्, अझै आफ्नो देशका लागि नेतृत्वकारी भूमिकामा खेलिरहेका छन् ।

मोड्रिच कप्तानी खेल खेल्दै

रियल म्याड्रिडका ३७ वर्षीय मिडफिल्डरले बेल्जियमविरुद्ध बिहीबारको गोलरहित बराबरीको खेलमा पूरा ९० मिनेट खेले । त्यसै नतिजाको मद्दतले क्रोएसिया अन्तिम १६ पुगेको थियो ।

यही क्रोएसियाले सोमबार जापानको सामना गर्दै छ । कप्तानी खेल खेल्ने क्रममा मोड्रिचले आफ्नो युवा र नयाँ खेलाडीलाई देखाएका छन्, उनलाई यति धेरै उम्दा खेलाडी मानिन्छ भनेर । २०१८ को बेलन डे’अर तथा पाँच युरोपेली च्याम्पियन्स लिग उपाधिका विजेता मोड्रिच मध्यपंक्तिमा अझै उत्तिकै खटेर खेलिरहेका हुन्छन् । यस्तोमा टिमका अन्य कोही पनि सदस्यलाई छुट रहने गरेको छैन, मोड्रिचले भन्दा कम मिहिनेत गर्ने ।

डिफेन्डर जोसिप जुरानोभिच मान्छन्, मोड्रिचले उदाहरण तयार पारेका छन्, आफ्ना भाइ खेलाडीसामु । सेल्टिकका खेलाडी रहेका जुरानोभिचले आइतबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘म पूर्णतः तयार छु, अबको खेलका लागि । यो विश्वकप हो, आफ्नो खेल जीवनमा यस्तो मौका फेरि दोहोरिएर आउने गर्दैन । म खेल कहिले सुरु हुन्छ भनेर पर्खिरहेको छु । जति बेला मोड्रिच जस्ता खेलाडीले कडा मिहिनेत गरिरहेका हुन्छन्, नयाँ खेलाडीलाई अझ मिहिनेत गर्न कर लाग्छ ।’

उनी आफ्नो टिमबारे भन्छन्, ‘अहिले हाम्रो टिममा युवा र अनुभवी खेलाडीबीच राम्रो तालमेल छ ।’ क्रोएसिया आफ्नो समूह ‘एफ’ को दोस्रो स्थानमा रहेको थियो । त्यसमध्ये २७ वर्षीय जुरानोभिचले तीन खेलमा पूरा ९० मिनेट खेले । मोड्रिचले मोरक्कोविरुद्ध पनि ९० मिनेट खेले, तर क्यानडाविरुद्धको सहज जितमा भने उनी ८६ मिनेट मात्र मैदानमा रहे । बेल्जियम र मोरक्कोविरुद्धको दुवै खेलमा मोड्रिच नै ‘प्लेयर अफ द म्याच’ भएका थिए ।

कुनै–कुनै बेला मोड्रिचको मिहिनेत नदेखिन सक्छ, अथवा उनको काम नै जस नपाउने पनि हुन्छ, तर यसपल्ट कतारमा भने उनी खुबै छाएका छन् । क्रोएसियाली टिमको मानसिक स्थितिबारे मिडफिल्डर लोभरो माजेर भन्छन्, ‘हाम्रो रगतमै जितका लागि खेल्ने गुण छ । अहिले पुराना र नयाँ खेलाडीबीच बेजोड तालमेत बसेको छ । यो टिमका लागि निकै महत्त्वपूर्ण छ । पुराना खेलाडीको प्रोत्साहनका कारण नयाँमा जोस र उमंग नै बेग्लै छ ।’

मोड्रिच आफैं भने चार वर्ष अगाडिको प्रदर्शनलाई लिएर मात्र बढी जोड दिन नहुने मान्छन् । उनी भन्छन्, ‘२०१८ को प्रदर्शनलाई लिएर हामी अझै पनि गर्वित छौं । तर अहिले त्यसलाई बिर्सेर अबको चुनौतीमा केन्द्रित हुन आवश्यक छ । रुसमा खेलेका अधिकांश खेलाडी अहिले हामीसँग छैनन् । त्यसैले हामी नयाँ खेलाडीमा पनि भर पर्नुपर्ने हुन्छ । हाम्रो उद्देश्य अनुभवी र नयाँ खेलाडीबीच सही तालमेल बनाउनु नै हो, हामीले यसका लागि काम गर्नैपर्छ ।’

१९९१ मा स्वतन्त्र देश बनेको क्रोएसियाले २०१० को दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थिएन । १९९८ मा आश्चर्यजनक रूपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको क्रोएसिया त्यति बेला पनि फ्रान्सको हातबाटै रोकिएको थियो । फ्रान्सले २०१८ मा पनि क्रोएसियालाई रोक्ने काम गरेको थियो । मोड्रिच अहिले तत्कालका लागि आफ्नो सबै ध्यान जापानविरुद्धको खेलमा लगाइरहेका छन्, एकचित्त भएर ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?