एम्बाप्पेको उत्कृष्ट प्रदर्शन- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
विश्वकप २०२२

एम्बाप्पेको उत्कृष्ट प्रदर्शन

राजु घिसिङ

दोहा — सुपरस्टार किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनसँगै डिफेन्डिङ च्याम्पियन फ्रान्स अल थुमामा रंगशालामा आइतबार पोल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ ।

फ्रान्सलाई २० मिनेटसम्म बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डले चुनौती दिनेजस्तो देखिएको थियो । सन् १९८६ यता पहिलोपल्ट नकआउटमा खेलेको पोलिस टिमले सुरुआती लयलाई निरन्तरता दिन सकेन । प्लेमेकर एन्टोइन ग्रिजमन र २३ वर्षीय फरवार्ड एम्बाप्पेको लयमा खेल चल्न थाल्यो । त्यसैले फ्रान्सले पोल्यान्डविरुद्ध स्पेन (१९८२) मा भएको विश्वकपमा तेस्रो स्थानको प्रतिस्पर्धामा बेहोरेको ३–२ को हारको बदला कतारमा आएर लियो ।

पोल्यान्डले ३८ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, पियोतर जेलेन्स्कीले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल फ्रान्सेली कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले रोकिदिए । त्यसैमा पाएको बलमा जेलेन्स्कीले फेरि प्रहार गरेका थिए, जसमा डिफेन्डर थियो हर्नान्डेज बाधक बने । फेरि त्यसमा ज्याकुब कामिन्स्कीले अवसर पाए । उनको प्रहारलाई रोक्दै लोरिसले फ्रान्सको संकट टारिदिए । पूरा खेलमा पोल्यान्डले पाएको यही तीन अवसर हो, जसलाई उसले उपयोग गर्न सकेन । त्यसपछि खेल पूरै फ्रान्सको पक्षमा मोडियो । लोरिसले फ्रान्सबाट सबैभन्दा बढी खेल खेलेका लिलियम थुरामको १ सय ४२ खेलको कीर्तिमान पनि बराबरी गरे ।

करिम बेन्जेमा घाइते भएप्छि पहिलो रोजाइमा अवसर पाएका ओलिभर जिरुडले ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अगाडि बढाए । एम्बाप्पेको पासमा राम्रो फिनिसिङ गर्दै उनी थिएरी हेनरीको ५१ गोलको कीर्तिमानलाई उछिन्दै फ्रान्सको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो विश्वकपमा अस्ट्रेलियाविरुद्ध ४–१ को जितमा दुई गोल गर्दै हेनरीको रेकर्ड बराबरी गरेका थिए । चार वर्षअघि रुसमा विश्वकप विजेता फ्रान्सेली टोलीमा रहेका जिरुडले प्रत्येक खेलमा पहिलो रोजाइमा खेले पनि गोल गर्न सकेका थिएनन् ।

ओसमन डेम्बेलले दिएको पासमा एमबाप्पेले उत्कृष्ट गोल गरी ७४ औं मिनेटमा फ्रान्सको अग्रता दोब्बर बनाए । दुईपल्ट पेनाल्टी रोकेका गोलकिपर वोज्सिएक स्कज्निीले बल रोक्ने कुनै अवसर पाएनन् । २४ वर्ष नछुँदै विश्वकपमा आठौं गोल गर्दै एम्बाप्पेले पेले (७ गोल) को कीर्तिमानलाई उछिनेपछि प्रशिक्षक डिडियर डेसच्याम्प पनि उपाधि रक्षाको अभियानमा ढुक्क देखिए । एम्बाप्पेले सबभन्दा कम उमेरमा विश्वकपमा आठ गोल गरेका युसेबियोको कीर्तिमान पनि तोडे । उनले २३ वर्ष ३ सय ४९ दिनमा आठौं गोल गरेका हुन् । युसेबियोले २४ वर्ष १ सय ८२ दिनमा त्यो रेकर्ड बनाएका थिए । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाविरुद्ध २–० ले हारे पनि भाग्यको साथले अन्तिम १६ मा पुगेको पोल्यान्डले एम्बाप्पेको गतिलाई रोक्नै सकेन, पछ्याएजस्तो मात्रै देखियो । यसक्रममा एम्बाप्पेले मार्कुस थुरामको पासमा इन्ज्युरी समयको पहिलो मिनेटमा सेकेन्डबार च्याप्दै उत्कृष्ट गोल गरेर फ्रान्सलाई ३–० ले अघि बढाए । विश्वकपमा यो उनको नवौं गोल हो । उनले रुसमा उपाधि जित्ने क्रममा चार गोल गरेर प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए । एम्बाप्पे यो विश्वकपमा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा पुगेका छन् । इन्ज्युरी समयको अन्तिम क्षणमा कामिल ग्रोसिस्कीले प्रहार गरेको बल दायोट उपमेकानोको हातमा लागेपछि पोल्यान्डले पेनाल्टी पायो । त्यसमा लेवान्डोस्कीले हानेको प्रहार गोलकिपर लोरिसले सजिलै समाते । लेवान्डोस्कीले बल प्रहार गर्नुअघि नै फ्रान्सेली खेलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेकाले फेरि पेनाल्टी प्रहारमा गोल गरे ।

अर्जेन्टिना २–१ अस्ट्रेलिया

शनिबार मध्यरात पहिलो हाफमा अर्जेन्टिनाले पास खेलिरह्यो, अस्ट्रेलियन खेलाडी हेरिरहे । अर्जेन्टिना गोलपोस्टमा आक्रमण गर्ने अवसरको प्रतीक्षामै रह्यो । दोस्रो हाफमा दुवै टिमले बढी मिहिनेत गर्दै आक्रामक खेल्यो । फेरि एकपल्ट लियोनल मेसी खेल परिवर्तनकारी निस्किए । उनले निकोलस ओटोमन्डीको पासमा पाएको बल नियन्त्रण गर्दै तीन डिफेन्सको बीचबाट प्रहार गर्दै ३५ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाए । उनको विश्वकपमा तेस्रो गोल हो यो । उनको क्लब र अन्तर्राष्ट्रिय फुटबलमा एक हजारौं खेल पनि हो । यसमा उनले ७ सय ८९ औं गोल गरेका हुन् । त्यसमध्ये ९४ गोल अर्जेन्टिनाका लागि हो ।

म्याट रायनको गल्तीमा जुलियन अलभारजले ५७ औं मिनेटमा गोल गर्दै दुईपल्टको विश्वकप विजेताको अग्रता दोब्बर पारे । क्रेग गुडविनले प्रहार गरेको बल ७७ औं मिनेटमा एन्जो फर्नान्डेजमा डिफ्लेक्ट हुँदै गोल भएपछि अस्ट्रेलियाले गोलको अन्तर छोट्यायो । अजिज बेहिचले तीव्र गतिमा चार खेलाडीलाई छक्याउँदै पेनाल्टी क्षेत्रमा लगेको बल गोलमा परिणत गर्न सकेको भए अर्जेन्टिनालाई गाह्रो पर्न सक्थ्यो । उनको प्रहारलाई लिसान्द्रो मार्टिनेजले असफल पारिदिए । अस्ट्रेलियाले ९७ औं मिनेटमा पनि बराबरीको अवसर पाएको थियो । तर, गाराङ कोलले प्रहार गरेको बलमा एमिलानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई क्वाटरफाइनलमा पुर्‍याए । अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सविरुद्ध शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : मंसिर १९, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्

भारतले महाकाली धकेल्दा सरकार मूकदर्शक

एक वर्षमा तेस्रो पटक वारिपारि ढुंगा हानाहान, ४ नेपाली बालक घाइते
कूटनीतिक पहलबाट समाधानको सट्टा सरकार रमिते बन्दा अप्रिय घटनाको जोखिम
मनोज बडू, मातृका दाहाल

दार्चुला, काठमाडौं — महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मूकदर्शक छ । पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुंगा हानाहान भएका छन् । वार्ताबाट समस्या समाधान गर्न कूटनीतिक पहल नगरी सरकार रमिते बनेकाले अप्रिय घटनाको जोखिम बढेको छ ।

दार्चुला सदरमुकाम खलंगा र भारतीय भूमि धार्चुला जोड्ने पुलमुनि महाकालीको बगर मिचेर भारतले बनाएको तटबन्ध । तस्बिर : मनोज बडू/कान्तिपुर

महाकालीमा आएको बाढीले २०७० असार २ मा दार्चुला सदरमुकाम खलंगा बजार डुबाएको थियो । बाढीले महाकालीको धार नेपालतर्फ धकेल्दा नेपाली भूभाग नदीपारि पुगेको थियो । बाढी आएको सात वर्षपछि दुवै देशका नापी, परराष्ट्र र गृह मन्त्रालयका अधिकारी सम्मिलित संयन्त्रले महाकालीको धारबारे नापनक्सा परीक्षण गरेको थियो । त्यस क्रममा नेपालको करिब २ सय रोपनी भूभाग भारततर्फ परेको पुष्टि भएपछि प्रतिवेदन पूरा नहुँदै भारत पन्छिएको थियो । यो विषयमा कोसिस गर्दा भारतीय पक्ष प्रतिक्रियाविहीन रहेको नापी विभागका अधिकारीहरूको भनाइ छ ।

नदीको स्वाभाविक बहावले बनाएको बगरमा तटबन्ध उठाएर भारतले सडक बनाउन लागेको छ । यसले नदीको सिमाना मात्र मिचिएको छैन, महाकाली अब नेपालतर्फको भूभागबाट मात्र बग्ने अवस्था आएको छ । खलंगा बजार र आसपासका क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ, त्यसैको विरोधमा खलंगा क्षेत्रका बासिन्दा आन्दोलित हुँदै आएका छन् ।

भारतले बनाइरहेको संरचना अन्तर्राष्ट्रिय सन्धिविपरीत छ । ‘हेलसिन्की सन्धि १९६२’ ले एकअर्कालाई प्रतिकूल असर पर्ने र नदी तथा खोलाको प्राकृतिक धार परिवर्तन हुने गरी सीमा क्षेत्रमा संरचना बनाउन नपाउने’ भनेको छ । सन्धिमा नेपाल र भारत दुवै पक्षराष्ट्र हुन् । प्राकृतिक प्रकोप तथा विपत्ति रोकथाम तथा नियन्त्रणका लागि कुनै संरचना बनाउनैपरे एकअर्को मुलुकसँग समन्वय र सहमति लिनुपर्ने हुन्छ । तर, भारतले महाकाली क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनविपरीत बलमिच्याइँ गरेको छ ।

दुई देशका स्थानीय बासिन्दाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढ प्रशासनलाई एक वर्षअघि पठाएको पत्रको जवाफ अझै आएको छैन । उल्टै भारतीय पक्षले संरचना निर्माणलाई द्रुत गतिमा अघि बढाएको छ । यसप्रति परराष्ट्र मन्त्रालयले चासो नै दिएको छैन ।

तटबन्ध बनाउन भारतकै अरुण कन्स्ट्रक्सन कम्पनीले ८० करोड भारुमा ठेक्का पाएको छ । सोही कम्पनीले भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पहरामा निर्माण अघि बढाइरहेको छ । नदीको पल्लो किनारबाट ७ देखि १० मिटर यता आएर बनाइएको संरचना झोलुङ्गे पुलको एक तिहाइभन्दा बढी क्षेत्रमा आएको छ ।

२०७८ फागुन २४ मा भारतीय निर्माण कम्पनीले नदीभित्रै एक्स्काभेटर लगेर खन्न थालेपछि नेपालतर्फबाट विरोध सुरु भएको थियो । त्यतिबेला पनि दुवैतर्फ ढुंगा हानाहान भएको थियो । त्यसअघि पुसमा पनि यस्तै घटना भएको थियो । एक वर्ष नपुग्दै आइतबार पुनः दुईतर्फी ढुंगा हानाहान भएको छ ।

आइतबार अपराह्न ४ बजे ढुंगा हानाहान भएको थियो । पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका छन् ।

‘हामी खेलिरहेका थियौं । पारिबाट आएको ढुंगा अन्तै बज्रियो, टुक्राले हामी चारै जनालाई लाग्यो,’ १३ वर्षीय प्रेमसिंह कुँवरले भने, ‘ढुंगाले सिधै लागेको भए ज्यानै जाने थियो ।’ प्रेमको निधारमा चोट लागेको छ ।

नेपाली बालकहरू घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । प्रशासनले बल प्रयोग गरेर केही घण्टामै गेट खुलाएको छ ।

भारतीयले बनाएको अनधिकृत संरचना रोक्न माग गर्दै आइतबार दार्चुला सदरमुकाम खलंगामा विरोधमा उत्रिएका नेपालीमाथि पारिबाट हानिएको ढुंगा लागेर घाइते बालक । तस्बिर : मनोज बडू/कान्तिपुर

आइतबारको घटनापछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको टोली भारततर्फ गएर उताको प्रशासनसँग छलफल गरेको थियो । फर्केपछि प्रजिअ उपाध्यायले कान्तिपुरसँग भने, ‘रिङनेतालपारि थुप्रिएको ढुंगामाटो एवं ग्याबिन जाली हटाउने र नदीलाई बीचमा पार्ने मौखिक सहमति भएको छ ।’ तर भारतले संरचना बनाइसकेकाले नदी अब बीचबाट बग्न कसरी सम्भव छ ? यो प्रश्नको जवाफ प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयसँग छैन । परराष्ट्र मन्त्रालय भने यो विषयमा प्रतिक्रिया दिन चाहँदैन ।

अब माथिल्लो भागमा संरचना बनाउँदा परामर्श गर्ने समझदारी भएको पनि प्रजिअ उपाध्यायले बताए । ‘माथिल्लो क्षेत्रमा संरचना निर्माण गर्दा दुवै देशबीच समझदारीमा गर्ने, थप समस्या सिर्जना हुन नदिन समन्वय गरी निर्माण कार्य अगाडि बढाउने कुरा भएको छ,’ प्रजिअ उपाध्यायले भने । २०७८ मंसिर ११ मा पनि दुई देशका प्रशासनबीच एकतर्फी संरचना नबनाउने प्रतिबद्धता भारतीयबाट आएको थियो । त्यसको पनि पालना हुन सकेन ।

गृह मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले दार्चुलाको पछिल्लो घटनाबारे जिल्ला प्रशासनबाट मन्त्रालयलाई जानकारी आएको र यसबारे परराष्ट्रलाई अवगत गराइने बताए । ‘आइतबार साँझतिर दार्चुला प्रशासनबाट मौखिक जानकारी आएको छ, थप विषय समेटेर सोमबार पत्र आउला, त्यसपछि परराष्ट्रलाई पत्राचार गर्छौं,’ उनले भने, ‘कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने विषय भएकाले आवश्यक प्रक्रिया परराष्ट्रबाट अघि बढ्छ ।’

सीमामा भारतले बलमिच्याइँपूर्वक पक्की संरचना निर्माण गरेको विरोधमा वारिबाट नाराबाजी गर्दा पारिबाट ढुंगा प्रहार भएको स्थानीय जमन बडालले बताए । यो समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि नेपाल सरकारबाट कुनै पहल नभएको गुनासो गरे । भने, ‘भारतको ज्यादती रोक्न नेपाली प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराएका छौं । तर, हाम्रो विरोध न भारतले टेर्छ, न नेपाल सरकारले सुन्छ । हामी आफैं अग्रसर हुनुपरेको हो ।’

महाकालीपारि भारतले बनाइरहेको संरचनाले खलंगा बजार बाढी र डुबानको उच्च जोखिममा परेको स्थानीय रमेशसिंह कुँवरले बताए । ‘सीमा अतिक्रमण त छँदै छ, खलंगा बजार पनि बाढी, डुबान र कटानको जोखिममा परेको छ, भारतर्फ बनिरहेको तटबन्धले हामीले क्षति व्यहोर्नुपर्छ,’ उनले भने ।

दार्चुलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणको विषय त छँदै छ । त्यसबाहेक सीमावर्ती छाङरुदेखि दार्चुला सदरमुकाम खलंगासम्म २ वर्षमा मात्र भारतीय ज्यादतीका दर्जन घटना दोहोरिएका छन् । महाकालीको घाँटीबगर क्षेत्रको मौरीभीर हुँदै टिंकरतर्फ जाने घोडेटो बाटो खन्दा नेपाली सेनाले भारतीयको व्यवधान खेप्नुपरेको थियो । नेपालतर्फका चट्टानले भारतीय क्षेत्रमा असर पर्छ भन्ने उनीहरूको तर्क थियो ।

तर, २०७८ जेठ २५ मा भारतले गर्वाधार क्षेत्रमा सडक खन्दा गराइएको विस्फोटले नेपालतर्फ व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु गाउँ जोड्ने घोडेटो बाटो तहसनहस भएको थियो । त्यसबाट बाटो मात्रै भत्किएन, नदीको धार पनि नेपालतर्फ थप धकेलियो । यसको क्षतिपूर्तिको विषयमा भारतले कुनै चासो दिएन ।

नेपाल–भारत सीमामा खुला आवागमन हुनुपर्ने हो । तर, महाकालीको हकमा भारतले आफ्नो खुसीमा मात्रै नेपालीलाई पुल तर्न र बाटो प्रयोग गर्न दिने गरेको छ । २०७८ मंसिरमा व्यास गाउँपालिका–१ छाङरु र टिंकरको जनगणनाका लागि खलंगाबाट महाकालीपारि हुँदै छाङरु जान खोज्ने नेपाली कर्मचारीलाई भारतले बाटो दिएन । कात्तिक २५ र २६ मा दार्चुला प्रशासनले बाटो प्रयोगका लागि पिथौरागढ प्रशासनलाई पत्र पठाएकामा जवाफ अहिलेसम्म आएको छैन ।

२०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि व्यास–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भए । नदीको तल्लो तटीय क्षेत्रमा ड्रोनबाट खोजतलास गर्न नेपालले आग्रह गर्दा भारतले ड्रोन उडाउन अनुमति नै दिएन ।

कात्तिक ११ मा महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भयो । जनस्तरबाट भएको विरोधपछि भारतीय निर्माण कम्पनीले मृतकका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिएको छ । तर नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ भने भारतले दिएको छैन ।

प्रकाशित : मंसिर १९, २०७९ ०६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×