१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
विश्वकप २०२२

कीर्तिमानी खेलाडी बन्दै लोरिस

एएफपी

दोहा — गोलरक्षक हुगो लोरिसले फ्रान्सबाट सर्वाधिक खेल खेल्ने खेलाडी बनेमा आफूलाई गर्व महसुस हुने बताएका छन् । पोल्यान्डविरुद्ध आइतबार दोहामा खेलेपछि लोरिसले फ्रान्सबाट सर्वाधिक खेल खेलेको लिलियन थुरामको कीर्तिमान बराबरी गर्नेछन् ।

कीर्तिमानी खेलाडी बन्दै लोरिस

‘यो कुनै सानो उपलब्धि होइन, यो तथ्यांकलाई लिएर म निकै सम्मानित छु र गर्व गर्दछु, विश्वकपमा अन्तिम १६ को खेल खेल्नुपर्ने भएकाले अहिलेलाई यो उपलब्धि दोस्रो प्राथमिकतामा छ,’ फ्रान्सका कप्तान लोरिसले शनिबार भने ।

पोल्यान्डसँगको खेल लोरिसको फ्रान्सेली राष्ट्रिय टोलीबाट १ सय ४२ औं खेल हुनेछ । फ्रान्सलाई सन् १९९८ को विश्वकप दिलाएका राइट ब्याक थुरामले यो उपलब्धि आफ्नो १४ वर्षको खेलजीवनमा बनाएका थिए । यसै महिनाको अन्त्यमा ३६ वर्ष लाग्ने टोटेनहमका गोलरक्षक लोरिसले थुरामले संन्यास लिएको केही समयपछि २००८ को नोभेम्बरमा फ्रान्सबाट ‘डेब्यु’ गरेका थिए ।

‘मेरो नजरमा अहिले विश्वकपमात्र छ, अन्य चिज दोस्रो प्राथमिकताका विषय हुन्,’ पोल्यान्डसँग अल थुमामा रंगशालामा खेल्न आफ्नो टोली तयार रहेको जनाउँदै लोरिसले भने, ‘म आफ्नो सबै शक्ति आइतबारको खेलमा लगाउने छु, किनभने यो अर्को महत्त्वपूर्ण खेल हो । विश्वकप सकिएपछि मात्र व्यक्तिगत सफलता र कीर्तिमानमा ध्यान लगाउने छु । मैले उत्कृष्ट ढंगमा प्रतियोगिता टुंग्याउने विश्वास लिएको छु ।’ लोरिसकै कप्तानीमा फ्रान्सले २०१८ को विश्वकप जितेको थियो । ट्युनिसियाविरुद्ध बुधबार समूह चरणको अन्तिम खेलमा आराम गर्न दिइएका लोरिसले पोल्यान्डविरुद्ध सुरुदेखि नै खेल्ने निश्चित छ । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि लोरिसको तारिफ गर्दै आएका छन् । राष्ट्रिय टोलीबाट १ सय ३ खेल खेलिसकेका डेसच्याम्पले फ्रान्सलाई विश्वकप जिताउने लोरिसपछिका अर्का कप्तान हुन् ।

‘कीर्तिमान तोडिनकै लागि बनेका हुन्छन्, निश्चय पनि केही कीर्तिमान अन्यभन्दा विशेष हुन्छ । त्यसैले यसको महत्त्व दर्शाउछ । वर्षौंसम्म लगाएर यतिका खेल खेल्न उच्चस्तरमा खेलेको हुनुपर्छ,’ लोरिसले भने । पोल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनल पुग्नेमा फ्रान्स दाबेदार देखिएको छ । तर विश्वका उत्कृष्ट स्ट्राइकर रोबर्ट लेवान्डोस्कीका कारण उनी पोल्यान्डलाई लिएर सचेत छन् ।

‘उनी वर्षौंदेखि उत्कृष्ट ९ नम्बरका खेलाडी हुन्, सामूहिक हिसाबमा पोल्यान्ड पनि राम्रो टोली हो, तर रक्षात्मक खेल्दा टोली दबाबमा आउने गरेको छ,’ लोरिसले विपक्षीबारे भने । यता प्रशिक्षक डेसच्याम्पले पछिल्लो महत्त्वपूर्ण प्रतियोगिताको नकआउट चरणमा फ्रान्सले के गरेको थियो भनेर पछाडि फर्कनुको कुनै अर्थ नभएको जनाए । गत वर्ष फ्रान्स युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । ‘मलाई यसबारे केही कुरा गर्न चासो छैन, त्यो खेल खेलेका खेलाडीलाई पनि यसबारेमा कुरा गर्न खासै इच्छा छैन,’ डेसच्याम्पले भने, ‘एउटा कुरामा के समानता थियो भने त्यो पनि अन्तिम १६ कै खेल थियो ।’

प्रकाशित : मंसिर १८, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?