३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
विश्वकप २०२२

‘फ्रान्सलाई हराए विश्वकप जित्छौं’

दोहा — पोल्यान्डका प्रशिक्षक चेस्लाभ मिच्निविजले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेमा विश्वकप नै जित्ने विश्वास लिएका छन् । पोल्यान्ड सन् १९८६ यता पहिलो पटक नकआउट चरणमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० ले पराजित भए पनि राम्रो गोल भिन्नताका कारण पोल्यान्ड अन्तिम १६ मा पुगेको थियो ।

‘फ्रान्सलाई हराए विश्वकप जित्छौं’

‘हामी घर फर्कन तयार छैनौं,’ पाउलो सौसाको स्थानमा गत जनवरीमा मात्र पोल्यान्डको प्रशिक्षण जिम्मेवारी लिएका मिच्निविजले भने, ‘फ्रान्समाथि विजय हात पारेमा हामी नयाँ विश्व च्याम्पियन बन्न सक्छौं । विश्व च्याम्पियनसँग खेल्न पाउँदा हामी खुसी छौं । फ्रान्स अघिल्लो चरणमा पुग्ने केही निश्चित भएको छैन । मैदानमा खेल हुन बाँकी छ । खेल जित वा घर फर्कनुबाहेक अन्य विकल्प छैन ।’

फ्रान्स उत्कृष्ट टोली भएकाले उसको कमजोरी आफूले पत्ता लगाउन नसकेको मिच्निविजले जनाए । ‘हामी राम्रो खेल्ने छौं भन्नेमा हामी विश्वस्त छौं, तर हाम्रा अगाडि कठिन चुनौती रहेको हामीलाई थाहा छ,’ उनले भने, ‘हामी पनि विश्वलाई फुटबल खेल्न सक्ने छौं भनेर देखाउने छौं ।’

आफ्नो उत्कृष्ट खेलजीवनमा लेवान्डोस्कीले विश्वकपमा पहिलो गोल गरिसकेका छन् । साउदी अरेबियामाथि समूह चरणमा २–० को विजय हात पार्दा उनले गोल गरेका थिए । तर मेक्सिकोविरुद्ध पेनाल्टी चुकाउँदा पोल्यान्डले त्यो खेल बराबरीमै चित्त बुझाउनुपरेको थियो ।

मिच्निविजले बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्कीलाई अझै धेरै पास पुग्नुपर्ने जनाउँछन् । कतार विश्वकपका अहिलेसम्मका तीन खेलमा पोल्यान्डले ४ पटकमात्र पोस्टमा लक्षित प्रहार गर्न सकेको छ । ‘उनका लागि हामीले त्यति अवसर नै बनाउन सकेका छैनौं,’ मिच्निविजले लेवान्डोस्कीका बारेमा भने, ‘उनलाई पेनाल्टी बक्सअगाडि बल चाहिएको छ । अर्जेन्टिनासँगको खेलमा प्रतिद्वन्द्वीले हामीलाई त्यस्तो गर्न दिएनन् । हामीले यसमा सुधार गर्नु जरुरी छ, तर फ्रान्सले हामीलाई त्यस्तो गर्न दिँदैन भन्ने पनि बुझ्नुपर्छ ।’

केलियन एमबाप्पेको नेतृत्वमा रहेको फ्रान्सको अग्रपंक्ति रोक्नु पोल्यान्डलाई ठूलो चुनौती हुनेछ । एमबाप्पेसहित ९ खेलाडीलाई विश्राम दिँदा फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।

एमबाप्पेलाई कसरी रोक्नु हुन्छ भन्ने प्रश्नमा पोल्यान्डका स्ट्राइकर अर्काडुस्ज मिलिचले भने, ‘उनी निकै तेज छन् । त्यसैले उनलाई रोक्न हामीलाई स्कुटर चाहिन्छ । विश्वका उत्कृष्ट खेलाडीसँग खेल्न निकै कठिन हुन्छ, हामीले सामूहिक हिसाबमा खेल्नुपर्छ । उनलाई कुनै एक खेलाडी लगाएर रोक्न सकिन्न ।’

प्रकाशित : मंसिर १८, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?