नेदरल्यान्ड्स हराउन अमेरिकी योजना

एपी

दोहा — ग्रेग बेरहाल्टरलाई डच फुटबलबारे सबथोक थाहा छ । आजभन्दा २८ वर्षअघि उनले नेदरल्यान्ड्समा व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यहाँ रहेका बेला उनले फुटबलबारे जे जति सिके, त्यो सबै अमेरिकी टिमका लागि पोखेका छन् ।

नेदरल्यान्ड्स हराउन अमेरिकी योजना

त्यही अमेरिकाले विश्वकप २०२२ मा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । यो हुनेछ प्रतियोगिताको क्वाटरफाइनल प्रवेशका लागि भिडन्त । सन् २००२ यता अमेरिका क्वाटरफाइनल पुग्न सकेको छैन ।

सन् २०१० मा अमेरिका घानासँग अतिरिक्त समयमा पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो । सन् २०१४ मा यही चरणमा अमेरिकी टिम बेल्जियमसँग पराजित भयो । सन् २०१८ मा त अमेरिकाले त्यति पनि गर्न सकेन । बेरहाल्टर भन्छन्, ‘हामी त्यहीं छौं, जहाँका लागि हामी योग्य छौं । त्यसैले अगाडि बढ्न चाहन्छौं । अब हाम्रो लक्ष्य डच टिम जत्तिको बलियो प्रतिद्वन्द्वीको सामना गर्ने हो र त्यसका लागि योजना बुनिरहेका छौं ।’

त्यतिमात्र होइन, उनी नेदरल्यान्ड्सलाई हराउने उपाय निकालिरहेका छन् । अमेरिकाले अहिलेसम्म नेदरल्यान्ड्सको पाँचपल्ट सामना गरेको छ । ती सबै मैत्रीपूर्ण खेल रहेका छन् । त्यसमध्ये सन् १९९८ मा घरमै पराजित रह्यो भने सन् २००४ र २०१० मा एमस्ट्रर्डममा पनि हारको सामना गरेको थियो । सन् २०१५ मा एमस्ट्रर्डममा एरिना भएको खेलमा भने नेदरल्यान्ड्समाथि ४–३ को प्रसिद्ध जित निकालेको थियो, जसमा ८८ औं मिनेटमा डानी विलियम्सले बराबरी गोल गरेका थिए ।

त्यसको ९६ सेकेन्डपछि बबी उडले विजयी गोल गरे । त्यसो त बेरहाल्टर मात्र होइनन्, अमेरिकी टिममा डच फुटबलको अनुभव बटुलेका अन्य छन् । जस्तो, राइट ब्याक सर्जिनो डेस्ट । उनी नेदरल्यान्ड्समै हुर्केका हुन् । उनकी आमा डच हुन् भने बुवा अमेरिकी । अयाक्समा फुटबल सिकेका डेस्टले पछि अमेरिकाका लागि खेल्ने निर्णय गरे । उनी भन्छन्, ‘म त्यस्तो देशविरुद्ध खेल्न गइरहेको छु, जहाँ म जन्मेका थिएँ, त्यसैले यो निकै रोमाञ्चक हुनेछ ।’

उनी थप्छन्, ‘म नेदरल्यान्ड्स टिममा भएका सबैलाई राम्रैसँग चिन्छु ।’ अमेरिकाले यसपल्टको विश्वकपमा वेल्स र इंग्ल्यान्डविरुद्ध बराबरी खेल्दै विश्वकप यात्रा सुरु गरेको थिए । त्यसपछि इरानलाई १–० ले पराजित गरेको थियो क्रिस्टियन पुलिसिचको गोलले । सन् १९७४, १९७८ र २०१० को विश्वकपको फाइनल खेलेको डच टिम सन् २०१८ मा रुसमा भएको प्रतियोगितामा भने छनोट पनि हुन सकेन् । उसले यसपल्ट सेनेगललाई सुरुमा २–० ले हराएको थियो ।

त्यसपछि इक्वेडरसँग १–१ को बराबरी खेलेको नेदरल्यान्ड्सले समूह ‘ए’ को आफ्नो अन्तिम लिग खेलमा आयोजक कतारलाई २–० ले पन्छाइएको थियो । डच टिम प्रशिक्षक लुइस भान गालको नेतृत्वमा खेलिरहेको छ । उनी ७१ वर्षका भए । त्यस अर्थमा उनी प्रतियोगिताकै सर्वाधिक पाका प्रशिक्षक । उनको नेतृत्वमा डच टिमले तेस्रोपल्ट विश्वकप खेलिरहेको छ । त्यसमध्ये सन् २०१४ मा नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको थियो । अहिले यो टिम लयमा छ । नेदरल्यान्ड्स १८ खेलको अपराजित यात्रामा छ ।

भान गाल भन्छन्, ‘कसैले अन्तिम १६ वा क्वाटरफाइनल पुग्नु नै ठूलो भन्न सक्छ । तर यो ठीक होइन, यो ठीक ढंगले विश्वकप खेल्ने शैली पनि होइन । ठीक शैली त आफू विश्वकप जित्न सक्ने, विश्व च्याम्पियन हुनसक्ने हुनुपर्छ ।’ मुख्य खेलाडी तथा मिडफिल्डर फ्रान्क डे जोङ भन्छन्, ‘अहिले हाम्रो टिम निकै राम्रो छ । हामी वास्तवमै कति बलियो छौं भनेर यसअगाडि पनि प्रमाणित गरिसकेका छौं ।’

प्रकाशित : मंसिर १७, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?