कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचेत अर्जेन्टिना

३६ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा अगाडि बढेको अर्जेन्टिना क्वाटरफाइनल पुग्न शनिबार अस्ट्रेलियाविरुद्ध भिड्दै
राजु घिसिङ

दोहा — विश्वकपको कतार संस्करणमा अर्जेन्टिना र अस्ट्रेलियाको टिममा एउटा समानता छ– पहिलो खेलमै हारेपछि प्रदर्शनमा सुधार गर्दै नकआउट चरणमा स्थान बनाउनु । अर्जेन्टिना कप्तान लियोनल मेसीको पेनाल्टीमा अग्रता लिएर पनि साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको थियो ।

सचेत अर्जेन्टिना

अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग ४–१ ले हारेको थियो । त्यसपछि संकटमा परेको अर्जेन्टिना र अस्ट्रेलियाले निर्णायक खेल जितेर अन्तिम १६ को भेट पक्का गरेका थिए । यी दुई शनिबार भिड्दै छन् ।

फुटबलले पाएको एक महान् खेलाडी मेसीको विश्वकपबाट बिदाइ कस्तो किसिमले हुने हो भन्ने यात्राको बाटो पनि हो अस्ट्रेलियासँगको प्रतिस्पर्धा । किनभने ३५ वर्षीय मेसीले आफ्नो करिअरको अन्तिम विश्वकप यही भएको बताइसकेका छन् । उनले जित्न बाँकी रहेको फुटबलको एउटै मात्र प्रतियोगिता विश्वकप नै हो । उनको टिमलाई आठ वर्षअघि फाइनलमा जर्मनीले विश्वविजेता बन्नबाट रोकेको थियो । त्यसैले विश्वकप जित्ने पाँचौंपल्टको प्रयासमा उनी अस्ट्रेलियालाई पराजित गर्दै अगाडि बढ्न चाहन्छन् ।

जर्मनीमा सन् २००६ मा अन्तिम १६ मा पुगेयता पहिलोपल्ट समूह चरण पार गरेको अस्ट्रेलियाले म्याथ्यु लेस्कीको गोलमा युरोपेली टिम डेनमार्कलाई १–० ले पन्छाउँदै समूह ‘डी’ उपविजेता रूपमा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनालाई चुनौती दिने स्थितिमा आइपुगेको हो । पहिलाजस्तै उत्कृष्ट खेलाडीको समूह नभए पनि अस्ट्रेलियाले दिएको त्यस खालको नतिजाबाट अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी सचेत छन् ।

‘यसपालिको विश्वकपमा कुनै पनि टिमलाई सानो वा ठूलो भन्ने अवस्था छैन,’ स्कालोनीले भने, ‘सबै टिमले राम्रो तयारी गरेर विश्वकप खेल्न आएका छन् । तयारीले खेलमा धेरै फरक पार्ने गर्छ । यो विश्वकपमा त्यस्तो नतिजा आइरहेकै छ । ठूला भनिएका टिम नै अगाडि बढ्नुपर्छ भन्ने हुन्न ।’ उनले एसियाली प्रतिस्पर्धीबारे भने, ‘अस्ट्रेलिया राम्रो टिम हो । त्यसैले प्रतिस्पर्धा कठिन हुन्छ जस्तो लाग्छ । उसका खेलाडीहरू राम्रा छन्, अनुभवी छन् । छनोटमा पनि राम्रो खेलेको टिम हो । त्यसैले हामीलाई सजिलो हुने छैन ।’

साउदीविरुद्ध हारेपछि मेक्सिको र पोल्यान्डलाई समान २–० ले पराजित गरेर समूह ‘सी’ विजेता बन्नेक्रममा अर्जेन्टिनाले एउटा टिमको रूपमा सुधारिएको र संगठित खेल प्रदर्शन गरेको थियो । मेक्सिकोविरुद्ध गोलको खाता खोल्दै अर्को गोलको अवसर सिर्जना गरेका मेसी नै दक्षिण अमेरिकी महारथीका मुख्य हतियार हुन् । पूरा खेलमा छाउन नसकेको अवस्थामा पनि उनी कुनै बेला ५–१० सेकेन्डमै खेलको पासा पल्टाउन सक्ने खुबी भएका खेलाडी हुन् । त्यसैले उनलाई रोक्न प्रशिक्षक ग्राहम आर्नोल्डको टिमलाई टाउको दुखाइ हुनसक्छ ।

अन्तरमहादेशीय छनोटमा अस्ट्रेलियाले दक्षिण अमेरिकी टिम पेरुलाई पेनाल्टी शुटआउटमा हराएर विश्वकपमा स्थान बनाएको थियो । उक्त प्लेअफ गत जुन महिनामा कतारकै अहमद बिन अली रंगशालामा जितेको थियो ।

अस्ट्रेलियाले अर्जेन्टिनाविरुद्ध पनि उही रंगशालामा प्रतिस्पर्धा गर्दै छ । विश्वकपमा पहिलोपल्ट यी दुई भिड्न लागेको हो । कन्फेडेरेन्स कप र मैत्रीपूर्णसहितमा यी दुईले ७ खेल खेलेका छन्, जसमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने अस्ट्रेलियाले एक खेलमा सफलता पाएको छ । एक खेल बराबरी भएको थियो । पछिल्लोपल्ट मेलबर्नमा भएको मैत्रीपूर्ण खेल (सन् २००७) मा पनि अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० ले पराजित गरेको थियो ।

विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले पछिल्ला आठमध्ये ६ खेल जितेको छ । चार वर्षअघि रुसमा उसलाई यही चरणमा फ्रान्सले ४–३ ले पराजित गरेको थियो । अर्जेन्टिना एसियाली टिमविरुद्ध हारेको पनि यसैपाली साउदीविरुद्ध मात्रै हो । अस्ट्रेलिया त्यसैलाई दोहोर्‍याउने एसियन टिम बन्न चाहन्छ भने अर्जेन्टिना त्यो घाउ चिर्दै उपाधिको बाटोतर्फ अग्रसर बन्ने योजनामा छ ।

५ तथ्य

  • अर्जेन्टिना र अस्ट्रेलिया विश्वकप फुटबलमा पहिलोपल्ट आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूले अमेरिका (सन् १९९४) भएको विश्वकपका लागि छनोटमा दुई लेगको प्ले–अफ खेलेका थिए, जसमा अर्जेन्टिना २–१ को जित निकाल्दै विश्वकपमा पुगेको थियो ।
  • विश्वकपकको नकआउट चरणमा अर्जेन्टिनाले खेलेका १५ मध्ये ८ खेल अतिरिक्त समयमा पुगेको थियो ।
  • लियोनल मेसीले पोल्यान्डसँगको खेलसँगै विश्वकपमा अर्जेन्टिनाबाट सबैभन्दा बढी २२ खेल खेल्ने खेलाडीको कीर्तिमान बनाए । उनले डिएगो म्याराडोनाको २१ खेलको रेकर्ड सुधार गरेका हुन् । मेसी अस्ट्रेलियाविरुद्ध खेल्दै इटालीका पाउलो माल्दिनी (२३ खेल) सँग बराबरी गर्दै विश्वकप इतिहासमै बढी खेल खेल्नेमा तेस्रो स्थानमा पुग्न सक्छन् । माल्दिनी अगाडि मिरोस्लाभ क्लोज (२४ खेल) र लोथर म्याथ्युज (२५ खेल) छन् । यी दुवै जर्मन हुन् ।
  • अस्ट्रेलियाले विश्वकपमा पहिलोपल्ट लगातार दुई खेल जितेको हो । उसले लगातार दुई खेलमा क्लिन सिट राखेको पनि पहिलोपल्ट नै हो ।
  • अर्जेन्टिनाविरुद्ध मैदानमा उत्रँदै म्याथ्यु लेकी र म्याथ्यु रायन विश्वकपमा १० खेल खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी हुन सक्छन् ।


प्रकाशित : मंसिर १७, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?